चौतारा, भदौ १६ नेपाली काङ्ग्रेसका जिल्ला सभापति मोहनबहादुर बस्नेतले पत्रकारलाई 'ठेगान लगाइदिन्छु' भनी दिएको धम्कीप्रति
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले चासो
देखाएको छ।
उक्त कार्यालयको एक टोलीले बुधबार पीडित पत्रकारसँग भेटेर घटनाबारे जानकारी
लिएको हो।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको कार्यालयमा छलफल भएको थियो।
आइतबार
सम्पन्न कङ्ग्रेस अधिवेशनमा आफूलाई सहयोग नगरेको भन्दै बस्नेतले
पत्रकारहरुलाई धम्की दिएका थिए। चुनावपछि समाचारका लागि प्रतिक्रिया माग्न
बस्नेतसँग सोमबार टेलिफोन गरेका नागरिक दैनिकका संवाददाता ध्रुव
दङ्गालमार्फत् उनले धम्की दिएका दिएका हुन्। १५ मिनेटको टेलिफोन वार्तामा
उनले कुरै नसुनी अश्लिल शब्दले गालीगलौज गरेर 'असहयोग गर्ने सबै पत्रकारलाई
ठेगान लगाइदिने' बताएका थिए।
धम्कीको पत्रकार महासङ्घ जिल्ला
शाखाले प्रेस विज्ञप्तिमार्फत् भर्त्सना गरेको छ। शाखा अध्यक्ष पवित्रकुमार
खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा गल्तीप्रति आत्माआलोचना गर्दै
प्रेसको सम्मान गर्न आग्रह गरिएको छ।