काभ्रे/ सरकारको सन् २०११ लाई पर्यटन वर्ष मनाउने अभियानलाई सघाउने उद्देश्यले काभ्रेका विभिन्न गाविसले 'होम स्टे' कार्यक्रम सञ्चालन गरेका छन् ।
स्थानीय व्यक्तिको सक्रियता तथा लभगि्रन नेपालको संयोजनमा 'होम स्टे' व्यवस्थापन समिति गठन गरी कार्यक्रम सुरु गरिएको हो ।
स्थानीय कला, संस्कृति र सभ्यतासँग साक्षात्कार गराई पर्यटकलाई स्थानीयबासीका घरघरमै राखेर सत्कार गराइने पात्लेखेत 'होम स्टे'का अध्यक्ष केशव बडालले बताए । गाउँ भ्रमणमा आएका विदेशी पर्यटकका लागि व्यवस्थित ढंगले बसोबास र खानपानको व्यवस्था गरिनेछ । साथै पर्यटक लाई खेतबारीमा लगेर कृषि उत्पादन र रहनसहनबारे जानकारी गराइनेछ, यसले विदेशीलाई नेपाली जनजीवनबारे ज्ञान हुनेछ ।
पात्लेखेतबाट पर्यटकलाई हिमाली दृश्यको अवलोकन गराउनुका साथै नजिकै रहेको नमोबुद्ध, दाप्चालगायतका क्षेत्रमा समेत 'होम स्टे'का लागि लैजाने योजना छ । 'होम स्टे' कार्यक्रमको उद्घाटनमा आएका १६ जापानीलाई मंगलबार काभ्रे भञ्ज्याङमा र पात्लेखेतको डाँडागाउँमा बाजागाजासहित स्वागत गरियो । कार्यक्रम थालेकै दिन आएका उनीहरूलाई स्थानीयबासीले भव्य स्वागत गरे । जापानीहरूले पनि पर्यटकीय गाउँमा बस्न पाएकोमा खुसी लागेको भन्दै २ सय वर्षअघिको जापानी वातावरणसित मेल खाने ठाउँ घुम्दाको मजा बेग्लै भएको बताए । 'स्थानीय जीवनशैली मन लोभ्याउने खालको छ,' जापानिज टिमका लेरेन गाउजले नयाँ पत्रिकासित भने ।
तत्कालका लागि स्थानीय १६ घरधुरीलाई छनोट गरी आन्तरिक तथा बाह्य पर्यटकलाई राख्ने व्यवस्था मिलाइएको छ । त्यहाँ जाने पर्यटकले चाहेको अवधिसम्म बस्न सक्नेछन् ।
Naya Patrika