सिन्धुपाल्चोक, २ भदौ
घट्दो आयात व्यापारको सामना गरिरहेको
तातोपानी भन्सारले यस वर्ष साढे २ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलनको
महत्वकांक्षी लक्ष्य लिएको छ। गत वर्षभन्दा सात प्रतिशत वृद्धि गरी
भन्सारले वार्षिक लक्ष्य निर्धारण गरेको हो।
चालु आर्थिक वर्ष ०६७/६८ मा २ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको तातोपानी भन्सारका प्रमुख अधिकृत चूडामणि देवकोटाले बताए। गत वर्ष भन्सार राजस्व संकलनको लक्ष्य २ अर्ब ४५ करोड रुपैयाँ थियो।
'आयातमा सुधार नआइ महत्वकांक्षी लक्ष्य संकलन सम्भव छैन,' देवकोटाले नागरिकसँग भने। भौतिक पूर्वाधारको अभाव, महँगो ढुवानी भाडा, असुरक्षा, चन्दा दिनुपर्ने बाध्यतालगायत कारण देखाउँदै व्यापारी समुन्द्रमार्ग हुँदै कलकत्ता लागेपछि दुई वर्षदेखि तातोपानी नाकाको आयात व्यापारमा क्रमिक गिरावट आइरहेको छ।
भन्सारका अनुसार आव ०६५/६६ मा ८ अर्ब ९६ लाख रुपैयाँका सामग्री आयात गरिएकोमा ०६६/६७ मा ७ अर्ब ५६ करोड मुल्यका सामग्री नेपाल ल्याइएको थियो। आयात घटेकै कारण गत वर्ष भन्सार राजस्व संकलन लक्ष्यभन्दा २८ करोड रुपैयाँ कम भएको थियो।
हालसम्मकै बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार राजस्व संकलन आर्थिक वर्षको पहिलो महिनामै साढे १ करोड रुपैयाँ कम भएको छ। साउनमा १५ करोड उठाउने लक्ष्य थियो तर, करिब साढे १३ करोड रुपैयाँमात्र संकलन भएको भन्सारले जनाएको छ।
दसैंका सामग्री भित्रने सिजनमा पनि तातोपानी नाका सुनसान छ। अघिल्ला वर्ष सामग्री बोकेका कन्टेनरले भरिभारउ हुने तातोपानी भन्सार यार्ड रित्तो छ। खासास्थित सामग्री गोदाम रित्तिँदै गएका छन्। व्यापारीले अझै दसैंका सामग्री अर्डर गरेका छैनन्। दैनिक ३०-४० कन्टेनर सामग्री जाँचपास भई राजधानी भित्रने गरेकामा हाल सातामा ५० पुग्न पनि मुस्किल छ। 'असारदेखि यो अवस्था सिर्जना भएको हो,' प्रमुख अधिकृत चूडामणि देवकोटाले भने।
उनले खासास्थित गोदाम रित्तिँदै गएपछि सामान आउन छाडेको बताए। चिनियाँ भन्सारले २० कन्टेनर सामग्री नपुगेसम्म सिल नलगाइदिने भएकाले हप्तामा दुई दिन मात्रै कारोबार भइरहेको छ।
व्यापार घटेको अवस्थामा पनि दैनिक ३०-४० कन्टेनर सामग्री राजधानी भित्रन्थे। 'अहिलेसम्म सरकारकै टुंगो छैन,' सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने, 'यो अवस्थामा कसरी व्यापार सम्भव छ?' राजनीतिक अस्थिरताले आर्थिक क्षेत्र तहनहस बनेकाले व्यापारीको क्रय शक्ति घटेको उनले बताए। 'पहिला लगानी गर्ने वातावरण सुनिश्चित हुनु पर्यो,' उनले थपे।