राष्ट्रिय समाचार

सशस्त्र प्रहरीमाथि गाउँलेको आक्रमण

2010-08-14 22:47:03 | मेरो सिन्धु

अमन कोइराला
सर्लाही, श्रावण ३०
भारतबाट मल ल्याउँदै गरेको समूहसँग विवाद हुँदा शनिबार मधुवनगोठ गाउँमा सशस्त्र प्रहरीलाई स्थानीयले कुटपिट गरेका छन् । गाउँलेले सशस्त्र प्रहरीको केही थान हतियारसमेत खोसेका छन् ।

मल अभावले पीडित किसान र मधुवनगोठ बसेको सशस्त्रको बोर्डर अब्जर्बेसन पोस्ट -बीओपी) का जवानबीच भारतबाट ओसारेको मलको विषयमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा सशस्त्रले तीन राउन्ड फायर गरेपछि गाउँले उल्टिएर जाइलागेका थिए । सशस्त्रले भने आफ्नोतर्फबाट फायर नभएको दाबी गरेको छ । जाइलाग्ने क्रममा सशस्त्रका तीनजनामाथि गाउँलेले कुटपिट गरेका छन् ।

कुटपिटसँगै सशस्त्रको दुईथान एसएमजी, एउटा सञ्चार सेट र दुई थान गोली भरिएको म्यागजिन गाउँलेले खोसेका थिए । कुटपिटबाट असई, हवल्दार र जवान घाइते भएका छन् । स्थिति असामान्य बनेपछि पुगेको नेपाल प्रहरीले तीनजना घाइतेलाई उद्धार गरी प्रहरी चौकीमा लगेको थियो । चौकीमा लगिएका तीनैजना सशस्त्र प्रहरी खोज्दै पुगेका गाउँलेले चौकी घेराउ गरेका थिए ।

प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले राजनीतिक दलको सहयोगमा खोसिएकामध्ये एसएमजी र सञ्चार सेट फिर्ता भएको बताए । गाउँलेको कुटपिटबाट घाइते भएका तीनैजना सशस्त्र प्रहरीलाई मलंगवा ल्याइएको उनले जानकारी दिए । 'म्यागजिन भने फेला परेको छैन,' जोशीले भने, 'खोजतलास हुँंदैछ ।'

जमिनदार साह र उसका दाइले मल ल्याउँदै गर्दा सशस्त्रले रोकेर बल प्रयोग गर्नथालेपछि स्थिति तनावग्रस्त बनेको हो । सशस्त्रको कुटाइबाट जमिनदार साह घाइते भएका छन् ।

सशस्त्रका प्रहरी उपरीक्षक पदमसिंह ऐरले घटनाको पुष्टि गर्दै हतियार नखोसिएको दाबी गरे । उनले अवैध रूपमा भित्रिएको भारतीय रासायनिक मल रोक्न खोज्दा गाउँले जाइलागेपछि भाग्ने क्रममा दई थान म्यागजिन मात्र खसेर हराएको बताए । 

- ekantipur


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box