दिनेश रेग्मी
कतार, श्रावण १
समुद्रको मायाले फर्किदै छ फेरि घाम
कहिले म फर्किनु दिन-रात कामै काम
अरबी सागरको तटीय देश कतारमा 'बिसे नगर्ची' स्रष्टाले यो गीत गाउँदा
दिन-रात पसिना चुहाएर काममा खटिने प्रवासी नेपालीले आफ्नै गीत गाएको
सम्भिmए । शुक्रबारे छुट्टीको दिन पारेर एउटा नेपाली साहित्यिक संस्था
'नवोदित साहित्यिक वाचनालय' ले आयोजना गरेको समारोहमा कवि/गीतकार श्रवण
मुकारुङले यो गीत सुनाएका हुन् ।
भोजपुरमा जन्मेर झन्डै तीन दशकदेखि साहित्यमा लागेका मुकारुङ दोस्रो जनजान्दोलनको उपज 'बिसे नगर्चीको बयान' कविताका स्रष्टा हुन् । उनको त्यो कविताले अहिले पनि यहाँका श्रोतालाई उत्तिकै तान्यो । साथैमा उनले ल्याएका 'बिसे नगर्चीको बयान' कविता-संग्रहको बिक्रीबाट पनि त्यो छनक मिल्थ्यो ।
दोहाको एउटा होटलको हल भाडामा लिएर आयोजित कार्यक्रममा मुकारुङले त्यही किताबका १० कविता वाचन गरे । त्यसबाहेक छुट्टै दुई गीत सुनाएर खाडीको प्रचण्ड गर्मीलाई छिचोलेर आएका करिब डेड सय परिश्रमी नेपालीलाई आनन्द दिए । उनले 'अनुहार खोजिरहेछ रामभरोस', 'भानुभक्त', 'गाउँ र आमा', 'आइमाई', 'हुलिया'लगायतका कविता सुनाएका थिए ।
वाचनालयले आफंैद्वारा स्थापित मोबाइल पुस्तकालयको दोस्रो वाषिर्कोत्सव र भानुजयन्तीको अवसर पारेर मुकारुङलाई एकल कविता वाचनका लागि आमन्त्रण गरिएको थियो । 'स्रष्टाकै स्वरमा सुन्न, सिकारु कविलाई कविताको भाव सिकाउन तथा प्रेरणा जगाउन कवि बोलाएका हौं,' वाचनालयका कार्यवाहक अध्यक्ष भोजराज दाहालले कान्तिपुरलाई भने, 'दोहामा पहिलोपटक सशुल्क साहित्यिक कार्यक्रम हुँदा पनि श्रोताको उत्साहजनक उपस्थिति देखेर खुसी भएका छौं ।'
पुस्तकालयका सल्लाहकार व्यवसायी टीबी कार्कीले स्रष्टा मुकारुङलाई २५ सय रियाल -५० हजार रुपैयाँ) पारिश्रमिक दिने बताए । आयोजकले १५ र ५०
रियालको टिकट बिक्रीबाट २८ सय रियाल -५६ हजार रुपैयाँ) उठाएको छ । 'मैले अहिलेसम्म जति ठाउँ एकल कविता वाचन गरें, दोहाको उपस्थिति सबैभन्दा भव्य र गौरवपूर्ण लाग्यो,' भने, 'यहाँ सबै तह,
क्षेत्र र पेसाका व्यक्ति भेट्दा मलाई नेपालै भेटिएजस्तो भयो ।'
अन्य पेसाजस्तै कविले पनि जीविकोपार्जनका लागि व्यावसायिक बन्न पारिश्रमिक लिनुपर्नेमा उनको जोड छ । भन्छन्, 'कविताको मूल्यबोध गराउन र कवि पनि कविता लेखेर बाँच्न पारिश्रमिक लिनैपर्छ ।'
आयोजकले मुकारुङको कविता वाचनसँगै नवोदित स्रष्टाहरूबीच खुला कविता प्रतियोगिता गरेका थिए ।
१० कवि सहभागी प्रतियोगितामा प्रथम झापाका चर्चित ढुंगेल, द्वितीय मोरङ उर्लाबारीका युग 'योगी' राई, तृतीय सिन्धुपाल्चोक भोटासिपाका इन्द्रमणि नेपाल र सान्त्वना मोरङ मधुमल्लाका दिलीप 'अविरल' भएका थिए । उत्कृष्ट वाचनकर्ताको २ हजार रुपैयाँ पुरस्कार सुन्सरी बलाहाका खेमराज 'भुक्तमालाली' लिन सफल
भए । विजयीमध्ये प्रथमले १० हजार, द्वितीयले ७ हजार र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
पहिलोपटक खाडीभूमि टेकेका मुकारुङ नवोदित स्रष्टाहरूको उत्साह देखेर नेपाल र नेपालीको पहँुच बढेको ठानेका छन् । भन्छन्, 'स्रष्टाले नेपालीलाई जोड्दो रहेछ, कविले नेपाली जातिलाई बाँध्दो रहेछ, राजनीतिले जस्तो विभाजित गर्दो रहेनछ ।' आफ्नै कविताको 'अनुहार खोजिरहेछ रामभरोस' मा मुकारुङले सुनाए-
एक्काईसौं शताब्दीको एक दिन
लोकतन्त्रको सादा ऐनाअगाडि उभिएको रामभरोस
अचानक मासिन भयो
लोकतन्त्रको सादा ऐनापछाडि उभिएको
नयाँ कवि म
अचानक सालिक भएँ ।
ekantipur