लेख रचना

गजलको लहरमा पौडन्छ्यौ त साँईली

2010-07-16 09:20:55 | मेरो सिन्धु

-कला अनुरागी

kalaanuragi@artlover.com

प्यारी बहिनी साइली

मायाको असीम लहरले छोपेको सम्झना ।

तिम्रो पत्रले मेरो मन खुशीको सगरमाथामा चढेर सिगै संसारलाई उज्यालो देख्छु भनिरहेछ । साँच्चै तिम्रा पत्रहरुमा के जादू हुन्छ हौ त्यस्तो । अर्को पत्रमा सुटुक्क लेखेर पठाउ न है ।

अँ ! तिमीले मलाई पनि गजल लेख्न सिकाईदिनु न है भनेर लेखेकी रहेछौ । आज म पत्रमा तिमीसँग त्यसैको बारेमा कुरा गर्छु नि है । खुशी हुन्छ्यौ नि है !

गजल ! आजभोलि तिमीजस्तै युवाहरुले बढी नै लेख्ने र मन पराउने साहित्यिक विधा । कुनै पनि साहित्यिक गोष्ठीहरुमा तिमी पुगेकी छ्यौ भने तिमीले पक्कै पनि यो कुराको महसुस गरेकी छ्यौ होला । शायद त्यही कुराले प्रभावित भएर नै तिमीले गजल लेख्न सिक्ने मन गरेकी हौ कि जस्तो लागिरहेछ । यसले मलाई खुशी बनााएको छ । त्यो यस कारणले पनि हो कि आजकाल जति गजल लेख्न रहर गरिन्छ ति सबै सचेत ढंगले लेखिएका छैनन् । तर तिमीले गजल लेख्न थाल्नु भन्दा पहिले नै गजलको बारेमा बुझ्ने जुन उत्सुकता देखाएकी छ्यौ त्यसले तिमीले भविष्यमा लेख्न खोजेको राम्रा गजलको आकार कल्पिरहेछु म ।

ओहो ! मैले त भाषण पो गर्न थालें कि क्या हो । तिमीलाई दिक्क त लागेको छैन नि है ।

अँ गजलको अर्थ पनि तिमीले पत्रमा खोजेकी रहिछ्यौ । तर हेर न कस्तो गाह्रो गजलको ठ्याक्कै यही नै अर्थ हो भन्ने बिषयमा यसका विज्ञहरुबीचमा नै विवाद पो छ त । तर पनि यो शब्द अरबी हो र जसको अर्थ प्रेमिकासँगको वार्तालाप वा प्रेमले भरिएको कुराकानी हो भनिन्छ । अरवी भाषमा 'ग' को अर्थ वाणी 'ज' को अर्थ नारी र 'अल' को अर्थ सँग हुन्छ । यसको संयोजन गर्दा 'नारीसँगको बोलचालु भन्ने हुन्छ । त्यस्तै अरवी भाषामा 'गजला' भन्नाले हरिणको बच्चाई बुझिन्छ । सिकारीले तीर हानेको हरिणको चित्कार जस्तै संवेदनशील अर्थ हुने कारण यस विधालाई गजल भनिएको हो भन्ने राय पनि पाईन्छ ।

साइली कुरा बुझ्दै त छ्यौ नि हैन

यसको उत्पत्तिको अर्को कथा पनि छ नि त । प्राचिनकालमा अरबमा रक्सी र प्रेममा मात्र जीवन डुवाएर विलास गर्ने एकजना सायर थिए । तिनको नाम 'गजल' नै थियो र उनकै नामबट श्रृङ्गारिक रुपमा लेखिने यो विधालाई 'गजल ' भनिएको हो पनि भन्ने गरिन्छ । यसको उत्पत्तिको कथा लेख्दै जाने हो भने निकै ओटा कथा पो हुन्छ जस्तो मलाई लाग्यो । फेरि तिमी गजल लेख्न सिकाईदिनु भनेको त कथा पो लेखेर पठाउनु भएछ भनेर रिसाउने पो हो कि !

यसका उत्पत्तिका कथाहरु अनेकौं भएपनि हामीजस्तै युवाहरुबीच यो विधा लोकपि्रय हुँदै गईरहेको कुरा भने धु्रवसत्य नै हो । त्यस्तै यो विधाले आफ्नो उत्पत्तिकालको भन्दा निकै नै फरक प्रस्तुती गर्न थालेको छ । यसले केवल प्रेमको बिषयभन्दा अन्य समसामयिकतालाई निकै नै समेट्न थालेको छ । तिमीलाई पनि त्यस्तै कविता मन पथ्र्यो नि हैन त

गजलको अक्षर-अक्षरबाट पनि अर्थ निकाल्न सकिन्छ । 'ग' गम्भिर 'ज' जादूमय 'ल' लयात्मक । यसरी गम्भिर भावहरुको संयोजन जादूमय तरिकाबाट गरिएको लयात्मक सिर्जना नै गजल हो भन्न सकिन्छ । यसको अन्य विधाको भन्दा फरक खालको संरचना हुन्छ । त्यसैले यो कवितात्मक विधाजस्तो भएपनि यसको आफ्नो छुट्टै पहिचान छ । यसको संरचनाहरुमा मूख्य तत्वहरुसँग म तिमीलाई परिचय गराईदिन्छु है । परिचय गराउदा लाज त मान्दिनौ नि है ।

ल त्यसो भए म तिमीलाई तलको गजलमा प्रयोग भएका गजलका तत्वहरुसहित परिचय गराईदिन्छु है त ।

नफुली फूल कोपिलामा नै नहाँसौं साथी हो
नपुगी शिखर विजयमाला नगाँसौं साथी हो ।

छ नँया रंग कला र ढंग भन्दैमा यो चित्र
नखुली भाव सुन्दर भनी नटाँसौं साथी हो ।

बिजुली जस्तो चम्कन सक्छ एकैछिन उज्यालो
झुक्केलान् धेरै बिहान नभई नबासौं साथी हो ।

गुलाफ त हो नि भनेर टिप्दा काँडाले चिथोर्ला
काँडा छ भनी गुलाफलाई नछासौं साथी हो ।

गुलाफ बिच उम्रन सक्छ सिस्नुको विरुवा
सिस्नु चैं मासौं गुलाफलाई नमासौं साथी हो ।

कस्तो लाग्यो यो गजल । यो तिम्रै कलादाईले लेखेको गजल हो नि त । यसमा जुन दुई-दूई हरफ छुट्याईएको छ नि ती दुई हरफको जोडिलाई गजलको भाषमा 'शेर' भनिन्छ । यो गजलका कति शेर छन् त पाँच । शेरहरुमध्येको पहिलो शेरलाई 'मतला'र अन्तिम शेरलाई 'मकता' भनिन्छ । शेरको दुई हारमध्येको पहिलो हारलाई मिसरा-ए-उला र दोस्रो हरफलाई मिसरा-ए-सानी भनिन्छ ।

अनि छ नि गजलको मतलाको दुवै हरफको अन्त्यमा र अरु शेरको मिसरा-ए-सानीको अन्त्यमा दोहोरिएको उही शब्दहरुलाई 'रदिप' भनिन्छ । यस गजलमा साथी हो भन्ने शब्द रदिपको रुपमा आएको छ । रदिप एउटै शब्दको हुन्छ । शब्द फरक भएमा त्यसलाइ रदिप मान्न सकिदैन ।

अनि गजलको सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व भनेको 'काफिया' हो । यो चािहं रदिप भन्दाअगाडि प्रयोग हुन्छ र यसको अन्त्यानुप्रास मिलेको हुन्छ । तर यो एउटै शब्द दोहोरिएको हुनु भने हुँदैन ।

अँ बुझ्दै छ्यौ नि हैन । माथिको गजलमा प्रयोग भएका नहाँसौं नगासौंनटाँसौं नबासौं नछासौं भन्ने अन्त्यानुप्रास मिलेका शब्दहरु काफिया हुन् । गजलमा यसको प्रयोग अनिवार्य छ । यदि यसको प्रयोग भएन भने त्यो गजल हुन सक्दैन ।

त्यस्तै गजलमा प्रयोग हुने अर्को तत्व भनेको 'तखल्लुस' पनि हो । तर यो सबै गजलमा प्रयोग भएको पाईदैन । गजलको अन्तिम शेर अर्थात मकतामा प्रयोग हुने गजलकारको नामलाई नै तखल्लुस भनिन्छ । यसको प्रयोग विभिन्न हिसाबले गरिन्छ । कसैले गजलको अर्थसँग मेल खानेगरी यसको प्रयोग गर्छन् । जस्तै ः

'म भन्दै थिएँ हे हरि ! होस राखे

नजरबाट मोति पनि झर्न लागे

-मोतिराम भट्ट'

उनले यसमा अर्थ मिलाएर आफ्नो नामको प्रयोग गरेका छन् । यसले 'एक पन्थ दो काजु भएको छ । तर कोहीले नाम प्रयोग गर्छन तर अर्थ नमिलाइकन ।

' पछ्याउनसम्म तिमीलाई पछ्याएपछि

अब यो ज्ञानुलाई रिझाउने पालो तिम्रो

-ज्ञानुवाकर पौडेलु

यसको उद्देश्य भनेको लेखकलाई चिनाउने मात्र हुन्छ । तर यसको प्रयोग गर्नै पर्छ भन्ने छैन । र गरेपनि नाम मात्रको लागि भन्दा अर्थ मिल्ने गरी प्रयोग गर्नु बुद्धिमानी ठानिन्छ ।

साइली निकै कुरा पो गरेछु जस्तो लाग्यो गजलको बारेमा । अनि कत्तिको बुझ्यौ कुन्नि । पत्रमा त दोहोरो कुरा गर्न पनि नपाईने अनि राम्रो सँग नबुझकोमा रिस पोख्न पनि नपाईने है । नत्र त म तिमीले ध्यान नदिएर नबुझेको भए कस्तरी पिट्थें । अँ सम्झना छ नि है मैले पिटेको । कस्तरी रोएकी थियौ तिमी त्यतिखेर । सम्झँदा पनि अहिले चसक्क हुन्छ मन । तर तिमी रिसाइनौ । कत्ति ज्ञानी तिमी । अब त गजल पनि लेख्छ्यौ होला । एउटा राम्रो गजलकार बन्ने तिम्रो सपना पूरा होस् ।

ल अहिलेलाई बिदा देऊ र पत्र लेख्दै गर है । पत्रमा मेरो प्रश्नको उत्तर पनि देऊ है । म सोध्दैछु -' अब गजलको लहरमा पौडन्छ्यौ त साँईली?'

उही तिम्रो दाई
कला


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box