kalaanuragi@artlover.com
कला अनुरागी
तुलनात्मक हिसाबले सिन्धुपाल्चोक जिल्लाको पत्रकारिताको इतिहास धेरै
पुरानो होइन तथापि यसले झण्डै शताब्दी समय गुजरिसकेको छ । यो अवधिमा यसले
थुप्रै पत्रकारहरु जन्माएको छ हुर्काएको छ र राष्ट्रिय स्तरसम्म पुर् याएको
छ । इश्वरीमान श्रेष्ठदेखि अहिलेको नयाँ पुस्तासम्म आइपुग्दा दर्जनौं
पत्रकारहरुको सूची यो जिल्लासँग छ । यो खुशीको कुरा हो ।
पछिल्लो समयमा विशेष गरी गणतन्त्र नेपालको घोषणा पछिका बर्षहरुमा जिल्लामा साचारमाध्यमहरु मध्ये विशेष गरी छापा साचार माध्यमको विकास केही मात्रामा बढेको छ । हप्ताको सातै दिन साप्ताहिक पत्रिकाहरु प्रकाशन हुनु निरन्तरताको प्रश्न कायमै छ लाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । यस सँगसँगै जिल्लाको पत्रकारिता क्षेत्रमा केही नयाँ पत्रकारहरुको पनि जन्म भएको छ । यसले िसंगो पत्रकारिता क्षेत्रमा नयाँ प्रवाह कायम गरेको छ भने यो चासो र चिन्ताको विषय पनि बनेको छ ।
पत्रकारिता गर्नु पक्कै पनि फूलहरुको विछ्यौनामा सुत्नु होइन । नेपालको सन्दर्भमा यो काँडाघारीमा बाटो बनाउँदै हिड्नु हो । बाटाका काँडाहरु पन्छाउनु कम जटिल छैन । त्यसैले यो यात्रामा आएकाहरु दिगन्त यो क्षेत्रमा टिक्न सक्छन सक्दैनन् भन्ने कुरा महत्वपूर्ण छ । यसको लागि संकल्प र उत्तरदायित्ववोध सवैभन्दा महत्वपूर्ण प्रश्न हो । यो दुइवटा हतियार बोकेर आएकाहरु यो काँडेघारीको यात्रामा अघि बढ्छन् नत्र गाह्रो हुन्छ नै ।
त्यस्तै यो क्षेत्रमा आएको नयाँ प्रवाहको बारेमा चिन्ता पनि बढेको देखिन्छ । विशेष गरी यो क्षेत्रमा लागेका पुराना अग्रजहरुबाट यस्तो चिन्ता व्यक्त गर्ने गरेको पाइएको छ । नयाँ आउनेहरुले हामीलाई सिकाए भन्नेजस्ता अभिव्यक्तिहरु पुराना अग्रजहरुबाट आएको पाइन्छ । त्यस्तै पत्रकार बन्नकै लागि पत्रिका निकाल्ने प्रवृत्ति बढेको निश्चित मापदण्ड पूरा नगरी पत्रिका प्रकाशन गर्ने गरिएको पत्रिका निस्कने र बन्द हुने प्रवृत्ति बढेको विज्ञापन छाप्नकै लागि र अवसरहरुमा मात्र पत्रिकाहरु प्रकाशन हुने गरेको जस्ता कुराहरुमा अग्रजहरुको चिन्ता देखिन्छ । त्यसै गरी विज्ञापनको लागि गरिने जोर जवर्जस्ती पनि अर्को चिन्ताको विषय बनेको देखिन्छ । यो स्वाभाविक र आवश्यक पनि हो ।
पछिल्लो समयमा प्रकाशनहरुको मात्रा बढ्दै जाँदा यस्ता समस्याहरुको बढोत्तरी भएकै हो । यसले पक्कै पनि पत्रकारितालाई मात्राबाट गुणतिर फड्को मार्न अवरोध सिर्जना भइरहेको छ । तर समस्यालाई अंशमा सोलोडोलो ढंगले र एउटा कोणबाट मात्र हेरियो भने अर्को समस्या पैदा हुन्छ । यहाँ समस्या नयाँ आउने पत्रकारहरुबाट मात्र पैदा भएको भने होइन । समस्याको दोषको अंश कुनै न कुनै रुपले सम्बन्धित सबैले लिनुपर्ने देखिन्छ । यसो भनेर स्थापित नामहरुको अवमूल्यन गर्न खोजिएको भने होइन । तर यहाँ केही आफूलाई मात्र योग्य सम्झन्छन् र आफ्नो कर्तव्यप्रति पूरै आँखा चिम्लन्छ । दोषको अंश त्यतातिर अर्थात त्यो प्रवृत्तिवालाहरुतिर पनि जान्छ भन्न खोजिएको हो ।
पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई मैत्रीपूर्ण हल गर्न र आफूले हल गर्न नसक्ने समस्याहरुको विषयमा एकतावद्ध भई आवाज उठाउन जिल्लामा पनि अग्रज पत्रकारहरुकै नेतृत्वमा पत्रकार महासंघ पनि छ । त्यसै गरी राजनीतिक दलहरु निकट पत्रकारहरुको मोर्चा पनि छ । तर ति संख्या र संगठनहरु केही सिमित पत्रकारहरुको नै हालीमुहाली र हितका लागि मात्र बनिरहेको देखिन्छ । पत्रकारिताको क्षेत्रमा देखिएको विकृतिहरु रोक्न विशेष पहल लिने यस क्षेत्रमा आउन चाहनेहरुलाई मार्ग निर्देशन गर्ने जिम्मेवारी अग्रजहरु र त्यस्ता संस्थाहरुको हुन्छ नै । तर जिल्लाको हकमा त्यस्तो भएको पाइँदैन । पत्रकारहरुको साझा संस्था पत्रकार महासंघले पनि प्रभावकारी ढंगले त्यस्तो कार्यको नेतृत्व लिन सकेको पाइँदैन ।
महासंघमा चुनावको बेला भोट सुनिश्चित गर्न निस्कृय पत्रकारहरुको सदस्यता थमौति गर्ने र सकि्रय नै भएपनि आफ्नो गुटभन्दा बाहिरको कोही आए अनेक मापदण्डको सुनजोखाई गर्ने गुटहरुको सकि्रयता पनि कम छैन । त्यस्तै जिल्लाका पत्रपत्रिकालाई आफूमार्फत आएको विज्ञापन आफूले चाहेको जसरी चाहेको पक्षलाई मात्र दिन नमिले पछि लुकाइएको तथ्यहरु पनि यदा कदा भेटिने गरेको पाइन्छ ।
जिल्लाका लागि सरकारी÷गैरसरकारी कार्यालय र संघसंस्थाहरु एक हिसावले लोककल्याणकारी विज्ञापन स्रोतजस्तै हुन् । तिनले दिने विज्ञापनको जिल्लाका साचारमाध्यममा समान वितरणको अवधारणा ल्याउने विषयमा पनि कसैले आवाज उठाएको पाइदैंन । जिल्लाको पत्रिकाहरु अनियमित हुनुको कारण यो पनि हो । यस्ता कुरामा अग्रज पत्रकारहरु र त्यस्ता संघसंस्थाहरुबाट यस क्षेत्रका नयाँहरुले खासै सहयोग प्राप्त गरेको देखिदैंन । त्यसैले समस्या यहाँदेखि नै सुरु भएको छ ।
यसले नयाँले पुराना र अग्रजलाई सम्मान गर्न र अग्रजले नयाँलाई माया गर्ने संस्कारको विकास हुन सकेको देखिदैन । यो क्षेत्रमा पुराना र अग्रजहरुले नयाँलाई मेरो भाग खोस्न आयो भन्ठान्ने र नयाँले पुरानोसँग सरोकारै नराखी मै ठूलो भनेर आफू खुशी गर्ने प्रवृत्ति पनि देखा परेको छ ।
त्यसैले सही ढंगले पत्रकारिता गर्न नसकेर मात्र होइन सही व्यवहार पाउन र गर्न नसकेर पनि जिल्लाका पत्रकार र पत्रिकाहरु निरन्तर हुन सकेको छैन । अग्रज पत्रकारहरुले त्यस्तो व्यवहार सिकाउन नसकेर त त्यस्तो भएको होईन यो बिषयमा पनि सोच्नु जरुरी छ ।
यसको लागि नयाँ र पुराना अग्रज हुँदै पत्रकारहरुले गम्भीर भएर सोच्ने कि ?