काभ्रे- , जेष्ठ १४
के तपाईं कुनै नयाँ बालीको खेती गर्न ज्ञानको अभावमा भौंतारिरहनु भएको छ ?
खेतीबाट उत्पादित वस्तु बिक्री गर्नका लागि बजारको खोजीमा हुनुहुन्छ ?
चिन्ता नलिनुहोस् । इन्टरनेटको प्रयोगबाट घरमै बसीबसी तपाईंले खेती गर्ने
तरिका र उत्पादित सामान बिक्री गर्न सक्नुहुन्छ । यहाँको नासिकास्थान- ७ का
कृषक प्रेम लामाले घरमै बसेर इन्टरनेटको माध्यमबाट विदेशमा माग बढी रहेका
तरकारी खेती गरी बिक्री गर्दै आएका छन् ।
'घरमै बसेर इन्टरनेटको प्रयोग गरी अर्गानिक तरकारी खेती गर्दै आएको ७ वर्ष भयो,' लामाले सुनाए, 'इन्टरनेटबाट विश्व बजारमा माग बढी रहेको तरकारीका प्रकार, खेती गर्ने तरिकालगायत सबै कुरा बुझेर हावापानी अनुकूलको खेती गरिरहेको छु ।' उनले गाउँकै आशापुरीमा १ सय ५० रोपनी जग्गामा व्यावसायिक रूपमा अगार्निक खेती गरिरहेका छन् । 'यहाँ खेती गरिएका केही उत्पादन मुलुकमा अन्यत्र छैन,' उनले भने, 'तिनीहरू स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण हुन्छन् ।' उनले अमेरिकामा व्यावसायिक रूपमा खेती हुने र विश्व बजारमा माग अत्यधिक रहेका याकुन एपल -जमिनमुनिको स्याउ) समेत लगाएका छन् । 'मैले इन्टरनेटमा हेरेरै यसको बारेमा जानकारी दिएको हुँ,' उनले भने, 'हाम्रो हावापानीमा यो खेती हुने थाहा पाएर यहाँ थालेको हुँ ।'
उनले सुरुमा १० रोपनीमा गरेको उक्त खेतीबाट राम्रो आम्दानी भएपछि अहिले १ सय रोपनी थपेका छन् । उनका अनुसार याकुनले मधुमेह, रक्तचाप, मोटोपना, ग्यास्टि्रक, पेटका रोगहरूमा फाइदा गर्छ । उनले इन्टरनेटको माध्यमबाटै सिताके च्याउ, १२ थरीका लेट्स, गाजर, प्याज, काउली, कुरिलो, रायोको साग, लसुनलगायत विश्व बजारमा माग रहेका ६० थरिका खेती गरिरहेका
छन् । उनको खेतीमा रासायनिक मलको प्रयोग गरिँदैन । बायो मल, पिना, प्रांगारिक मलको मात्रै प्रयोग भइरहेको छ । उनले उत्पादन गरेका सबै वस्तु अगार्निक भएको दाबी गर्दै त्यसको महत्त्व बुझेकाहरूले खरिद गर्ने गरेको बताए ।
'मैले गरेको खेती सबै इन्टरनेटबाटै सिकेको हुँ । बीउहरू पनि विदेशबाटै मगाउने गरेको छु,' उनले भने । अगार्निक उत्पादन स्वास्थ्यका लागि फाइदाजनक भएकाले विश्व बजारमा अत्यधिक माग रहेको बताए । उनले उत्पादन गरेका सबै तरकारीहरू घरमै बेच्ने गरेका छन् । 'उत्पादित तरकारीहरू इन्टरनेटबाटै बिक्री गर्दै आएको छु,' उनले भने, 'हामीसँग उत्पादन भएको तरकारीको परिमाण, मूल्यसूची, आउने उत्पादनबारे इन्टरनेटमा राख्ने गरेका छौं,' उनले भने, 'विदेशमा रहेका तरकारी एजेन्टहरूले माग गर्छन् । त्यसैअनुसार पठाइदिन्छौं ।' उनले सातामा ५ हजार केजी तरकारी सिंगापुर गइरहेको
बताए । उनले काठमाडौंमा समेत इन्टरनेटबाटै तरकारी बेच्दै आएका
छन् । उनले काठमाडौंमा इन्टरनेटबाट आफ्नो तरकारी खरिद गर्ने १ सय २५ जना उपझोक्ता रहेको दाबी गरे । ग्राहकले इन्टरनेटमा सूची हेरेर आफूलाई चाहिने तरकारी खरिद गर्दै आएका छन् । बिक्री भएको तरकारीको पैसा मासिक रूपमा उनको खातामा जम्मा गरिदिन्छन् । प्रायः सबैले अगि्रम भुक्तानी दिने गरेका छन् । 'मागअनुसारको तरकारी पठाउन सकिरहेको छैन,' उनले भने, 'दैनिक ५ सय केजी तरकारी उत्पादन हुन्छ । मासिक आम्दानी १५/२० लाख रुपैयाँ रहेको छ ।'