काठमाडौं उपत्यकाको नजिकै पर्ने
सिन्धुपाल्चोक जिल्ला तौथली गा.वि.स. जुन मौलिक कला, संस्कृति, स्थानिय
रितिरिवाज, नेवारी परम्पराले भरिपूर्ण रहेको स्वच्छ, सुन्दर र हरियाली भएको
ठाउँमा जन्मिनु भएको श्री बिमल श्रेष्ठ वास्तवमा आफुलाई भाग्यमानी ठान्नु
हुन्छ । तौथली गा.वि.स. मा समाजसेवीहरुको कमी छैन तर पनि बिमल श्रेष्ठ एक
गायक मात्र नभएर समाजसेवा तिर पनि उत्तिकै अग्रसर हुनुहुन्छ । आफ्नो
जन्मभुमी सिन्धुपाल्चोक जिल्ला र विशेष गरी तौथली गा वि स का प्रचीन कला,
संस्कृति, रितिरिवाज्, परम्परा, जातीय पहिचानको संरक्षण गर्न बिभिन्न
माध्यमबाट अझै बिभिन्न महानुभावहरु लागि पर्नु भएको छ । चाहे त्यो “नमस्ते
तौथली” रेडियो कार्यक्रमबाट सुरुवात गरिएको होस् चाहे त्यो बिभिन्न गीती
एल्बममा “तौथली” शब्द प्रयोग गरेर नै किन नहोस्, सबैले तौथलीको नाम
राष्ट्रिय स्तरमा पुर्याउन पहल गरेको पाइन्छ । अहिले चर्चाको शिखरमा भने
समाजसेवी बिमल श्रेष्ठको एल्बम “छें जन तौथली” छ । यस एल्बम “छें जन
तौथली”को नेपाली भाषामा उल्था गर्दा “घर मेरो तौथली” हुन्छ । यस एल्बममा
विशेष गरी तौथली क्षेत्रको आसपासको चर्चा परिचर्चा, भाषा, संस्कृति,
रितिरीवाज्, सुन्दरता र पर्यटकिय सम्भावनाको बारेमा पनि यस एल्बममा आवाज
उठाएको पाइन्छ ।
बिमल श्रेष्ठ पेशागत रुपमा ईन्जिनियर-अर्कीटेक्चर भएता पनि वहाँले समाजका हरेक पक्षको गहिराई सम्म अध्ययन गरेर यसलाई आम जनसमुदायमा बडो सरलताका साथ बाहिर उजागर गर्नु भएको छ । हिन्दू धार्मिक मुल्य र मान्यतामा आधारित बिभिन्न देवी देवताका परिचय र महत्व यस एल्बममा दर्शाइएको पाईन्छ । केबल तौथली गा.वि.स. को मात्र नभएर छिमेकी जिल्ला दोल्खाको बारेमा पनि यस एल्बममा चर्चा गरिएको पाइन्छ । भाषा, संस्कृति र अन्य विविध क्षेत्रमा लगभग समान रहेकोले नै होला दोल्खासँग तौथलिको तुलना पनि गरेको पाइन्छ । यस एल्बममा माया प्रितीको बारेमा मात्र होइन आमा प्रति छोराको कर्तव्य र सम्मानलाई दर्शाएको पाईन्छ । हरेक कुराले भरिपुर्ण एक सन्देश मुलक “छें जन तौथली” एउटा गीती एल्बम मात्र नभई सबै कुराको जानकारी दिने खुल्ला पुस्तक समेत मान्न सकिन्छ ।
आफ्नो मातृ भाषालाई माया गरौं भन्ने भावना समेत प्रकट गरिएको एल्बम “छें जन तौथली” लाई हाम्रो हृदय देखि नै मुरी मुरी सफलताको कामना छ । नाशिंदै गएको रितिरिवाज बारे खोज र अनुसन्धान गर्न यो एल्बमले उत्प्रेरणा जगाउने छ भन्ने आशा हामीले लिएका छौं । गायक विमल श्रेष्ठ ज्युलाई आफ्नो जन्मभुमी तौथली प्रति देखाउनु भएको असिम माया र श्रद्धालाई सबैले अनुकरण गर्न सके पक्कै पनि शिखरचुली बनमा फुलिरहेको लालिगुँरास जस्तै नेपाल भित्र तौथली गा.वि.स. छुट्टै पहिचान बोकी तौथलीलाई एक नमुना गा.वि.स. बनाउन सकिन्छ भन्ने भाव राखी आजै देखि हामी सबै लागि परौ भन्दै अन्त्यमा “छें जन तौथली” एल्बमलाई अकल्पनीय सफलताको कामना सहित आगामी दिनहरुमा पनि यस्तै सिर्जनशील काममा अगाडि बढ्दै जानुस् भन्दै पुन एकपटक धन्यवाद व्यक्त गर्दछौं ।