फिल्म बनाउनभन्दा चलाउन गाह्रो भएको महसुस गरेका छन् पहिलोपटक निर्माता बनेका नायक श्रीकृष्ण श्रेष्ठले । 'फिल्म बनाउन त्यत्तिकै गाह्रो । त्यसभन्दा पनि अझै गाह्रो रै'छ चलाउन ।' मंगलबार पुतलीसडकको एक स्टुडियोमा 'कहाँ भेटिएला' को प्रोमो बनाउन खटिइरहेका श्रीकृष्णले भने, 'निर्माता बन्न त निकै गाह्रो रहेछ ।
सबै काममा आफैँ कुद्नुपर्ने ।' ६ महिनाको कुराइपछि बल्ल पालो पाएको आफ्नो फिल्म लाग्ने दिन नजिकिँदै जाँदा तनाब अझ बढेको छ उनलाई । आफ्नो फिल्म जीवन-मृत्युपछि काठमाडौं र मोफसलमा एकैसाथ प्रदर्शन हुने भएपछि राहत महसुस गरे पनि कार्यव्यस्तता भने निकै बढेको छ उनको ।
२२ वर्षदेखिको अभिनय अनुभव खन्याएर फिल्म निर्माणमा लागेको बताउँदै श्रीकृष्णले बाँकी जीवन पनि यही क्षेत्रमै व्यतीत गर्ने सोचले निर्माता बनेको बताए । 'मसँग दुईटा अप्सन थिए,' उनले भने, 'कि फिल्म निर्देशनमा लाग्नुपर्यो कि त निर्माणमा । मलाई फिल्म निर्माणमा मन गयो ।' अभिनेताका रूपमा दर्शकले आफूलाई जति माया गरेका छन्, निर्माताका रूपमा अझ धेरै माया गर्ने अपेक्षा उनले राखेका छन् । फिल्म राम्रो बनाउन 'दिल खोलेर' लगानी गरेको बताउँदै उनले भने, 'मैले त कुनै कसर बाँकी राखेको छैन । निकै कोसिस गरेको छु । बाँकी दर्शकको हातमा छ ।'
श्रीकृष्णले अभिनय गरेका अधिकांश फिल्मले व्यावसायिक सफलता चुमेका छन् । अधिकांशका निर्देशक थिए, शिव रेग्मी । र, आफ्नो फिल्मको निर्देशक पनि उनैलाई लिए श्रीकृष्णले । किन त ? फिल्म हिट हुन्छ भन्ने 'अगि्रम आशा' हो ? 'होइन', श्रीकृष्णले भने, 'यस्तो कथामा फिल्म बनाऔँ भन्ने सल्लाह नै उहाँले दिनुभएको हो ।' सुटिङका क्रममा उपत्यकाबाहिर जाने/आउने क्रममा राजमार्गछेउ बग्रेल्ती देखिरहेका वास्तविक पात्रहरूको घटनालाई पर्दामा उतार्ने सोचले फिल्मको कथा बुनिएको उनले बताए ।
कहाँ भेटिएलामा दर्शकका लागि भनेर श्रीकृष्ण अर्ना राँगोसँग भिड्नुका साथै त्रिशूली नदीमा हामफाल्न पनि पछि परेका छैनन्
हाइवेमा होटल चलाएर बस्ने रूपवती युवतीलाई प्रमुख पात्र बनाइएको उनको फिल्ममा अन्य केके कमाल हेर्न पाउँछन् त दर्शकले ? 'फाइट पनि नेचुरल छ ।' श्रीकृष्णले भने, 'अर्ना राँगोसँग भिडेपछि तीन दिनसम्म मेरो दाहिने हर चलेन ।' फिल्ममा बक्सरको राष्ट्रिय खेलाडीको भूमिकामा रहेका श्रीकृष्ण प्रेमिका स्वेतालाई लिएर भाग्दै जंंगल पुगेका हुन्छन् । प्रेमी जोडीका बीचमा अर्ना 'भिलेन' बनेर देखापर्छ । आफ्नी प्रेमिकालाई 'भिलेन अर्ना' बाट बचाउन श्रीकृष्ण भिड्छन् । अर्नाको सिङको घोचाइले हर नचल्ने भएका उनले ९० फिट माथिबाट त्रिशूली नदीमा हामफालेका छन् । 'कसैले बाँच्छ भनेका थिएनन् । भाग्यले बाँचेँ ।' उनले भने, 'फिल्मको कथाले मागेकाले आफैँ हामफालेंँ । दर्शकको मनोरञ्जनका लागि जस्तो जोखिम पनि मोल्न तयार छ श्रीकृष्ण भन्ने एउटा उदाहरण यो हो ।'
Source: www.filmykhabar.com