नेपाली भाषा साहित्यका दरिलो खम्बाका रुपमा उभिएका कवि तथा साहित्यकार चन्द्रप्रसाद न्यौपानेको जन्म वि.सं. २०२४ साल कार्तिक २८ गते सिन्धुपाल्चोकको फूल्पिङकोट गाविस वडा नं. ३ स्थित कल्लेरी गाउँमा भएको हो । पिता हिरालाल न्यौपाने र माता अम्बिका न्यौपानेको कोखबाट जेठा सन्तानको रुपमा उनले यस धर्तिमा पाइला टकेका हुन्।
भारतीय सेनामा जागिरे उनका पिता हिरालाल न्यौपाने दोस्रो विश्वयुद्ध लडेका थिए । दोस्रो विश्वयुद्धमा बाँचेर फर्केका उनले महात्मा गान्धीसँग विताएका पलका बारेमा कुरा गर्दा चन्द्रप्रसाद न्यौपाने निकै चाख दिएर सुन्थे।
पिताजीले दोस्रो विश्युद्ध लडेपछि सेनको जागिरमा फेरी फर्कनु भएन । त्यसैले चन्द्रप्रसादको परिवारको आर्थिक अवस्था कमजोर नै थियो । विद्यालयमा अध्यन गर्ने अवधिमा उनलाई आर्थिक अवस्थाले सताइरहन्थ्यो।
आँटिला र दृढ स्वभावका उनलाई कठिनाईका साथ वितेका बाल्यकालका क्षण पनि रमाइला नै लाग्दथ्यो । मिहेनती जाँगरिला चाचल र जिज्ञासु स्वभावका उनले विद्यालय अध्ययन अवधिमा कहिल्यै पनि दोस्रो हुन परेन । घरैमा आफ्ना पितासँग कखरा सिकेका उनको औपचारिक पढाई गाउँकै फूल्पिङकोट प्राथामिक विद्यालयबाट सुरु भयो । आठ वर्षको उमेरमा विद्यालय भर्ना भएर माध्यमिक तहको पढाई जलविरे स्थित आनन्द माध्यमिक विद्यालयबाट पुरा गरे । २०४२ सालमा प्रवेशिका परीक्षा (एस.एल.सी.) उतीर्ण गरेपछि २०४३ सालमा नै शिक्षक भएर अध्यापन गराउन थाले । साहित्यप्रति सानै देखि ज्यादै नै रुचि राख्ने चन्द्रप्रसाद न्यौपाने महाभारत रामायण र देवकोटाका मुनामदन विद्यालयमा अध्ययन गर्दा देखि नै भाका हाली वाचन गरेर सबैलाई छक्क पार्दथे। धेरैजसो श्लोकहरु कण्ठस्थ उनलाई २०३३ साल देखि नै नेपाली भाषामा नै रामायण र महाभारत जस्तो कृति लेखेर नेपाली साहित्यलाई माथि उकास्ने ठूलो इच्छा थियो।
साहित्यमा रुचि र लेखन कार्य सानै देखि गरेपनि २०४७ सालमा प्रकाशित उनको "पालुवा" नामक खण्डकाव्य नै पहिलो औपचारिक प्रकाशित कृति हो । गद्य र पद्य दुवै विधामा कलम चलाउने उनले हाल सम्म तीन दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेका छन् । नेपाली साहित्यमा सम्भवत यति धेरै कृति प्रकाशित गर्ने उनी नै पहिला साहित्यकार हुन् । दशवटा खण्डकाव्य, आठवटा महाकाव्य, ६ वटा कविता संग्रह, निबन्ध संग्रह, कथा संग्रह, सोध ग्रन्थ गरेर झण्डै तीन दर्जन पुस्तक प्रकाशित गरिसकेका उनले चाँडै नै एउटा नाटक संग्रह पनि प्रकाशित गर्दैछन्।
आफ्नो पेशा र कार्यप्रति आत्मसन्तुष्टि व्यक्त गर्ने उनका धेरैजसो कृतिहरुले राम्रो चर्चा पाएका छन् । पहिलो प्रकाशित कृति "पालुवा"को चौथो संस्करणसम्म प्रकाशित भयो । "बेचिएको चेली", "सोल्मु" जस्ता उपन्यास कथा र खण्डकाव्यले पनि राम्रै चर्चा बटुल्यो । "छन्द पुन्ज" नामक उनको कृति विश्वविद्यालयको साहित्यका विद्यार्थीहरुले अध्ययन गर्ने पुस्तक हो।
लेख्दै जाँदा देख्दै जाने उनको सोचाई छ । मावनका जीवन भोगाई, विश्वपरिवेश, सामाजिक अवस्था आदिलाई आधार मानेर उनले कलम चलाइरहेका छन् । आफ्नो जन्मस्थल फूल्पिङकोट सम्बन्धी उनको प्रकाशित पुस्तक सिन्धुपाल्चोकको गाँउ विशेषको पहिलो पाश्र्वचित्र हो । सिन्धुपाल्चोक जिल्लामा साहित्य पत्रकारिता क्षेत्रमा लागेकाहरुको खोजी गरेर ३०० वर्ष अघि देखिएका साहित्यहरुका बारेमा सिन्धु-साहित्य नाम पुस्तक प्रकाशन गरेका छन् ।
आजभन्दा करिव ३००० वर्षदेखि ५००० वर्षसम्मको सामाजिक परिवेशका बारेमा लेखिएका रामायण र महाभारतको कथा झै आजको युग सुहाँउदो कृति प्रकाशन गर्ने उनको ठूलो लक्ष्य थियो । भोलीका पिँढीले आजको समयको चित्रण अध्ययन गर्न पाउन भन्ने हेतुले उनले "चन्द्रयुग" नामक महाकाव्य प्रकाशित गरेका छन् । मान्छेले चन्द्रमामा पाइला टेकेको समयमा दक्षिण एसियाको स्थिति कस्तो थियो त भन्ने कुराको जानकारी यो पुस्तकबाट लिन सकिन्छ। मिहेनत र पाठकका दृष्टिले उनलाई सबैभन्दा बढी मन पर्ने पुस्कत पनि हो । "विश्व साहित्यमा ठूला ठूला चार पुस्तक लेखिएका छन् । चन्द्रयुगको दोस्रो र तेस्रो खण्ड प्रकाशन भएपछि यो नै विश्वको सबैभन्दा ठूलो पुस्तक हुनेछ ", न्यौपानेको दावी छ ।
जागीरबाट प्राप्त कमाई साहित्यमा नै खर्च गरेका उनीसँग "चन्द्रयुग"को बाँकी खण्ड कसरी प्रकाशन गर्ने भन्नेमा उनको ध्यान छ । मोफसलमा बसेर पनि दृढ इच्छा र आँट भए केही गर्न सकिन्छ भन्ने उनी एक उदाहरण हुन् । पैसा र पहुँच भएकाहरुको हालीमुहाली भएको हाम्रो देशमा सच्चा स्रष्टाको कदर र सम्मान हुन नसकेकोमा दुःख व्यक्त पनि गर्दछन्।
उनलाई नेपाली साहित्यका अरनिको राजमार्ग २०६०, नेपाली साहित्यमा आश्चर्य २०६० जस्ता उपाधिले विभूषित गरिएको छ । न्यौपाने सुनकोशी प्रतिभा सम्मान २०५४, धौलागिरी साहित्य सम्मान २०५५, दीपशिखा प्रतिभा सम्मान २०६०, जनमत जनसेवा सम्मान २०६०, प्रगति साहित्य सम्मान २०६२, सिन्धु प्रतिभा सम्मान २०६३, लोकतान्त्रिक सम्मान २०६३, लोकतान्त्रिक स्रष्टा सम्मान २०६४, सिन्धु सुनकोशी प्रतिभा सम्मान २०६४, सम्मानित गरिएको छ । जिल्ला स्तरीय कविता प्रतियोगिता प्रथम २०५१, राष्ट्रिय शिक्षा पुरस्कार २०६०, AMBASSADOR FOR PEACE २०६३, राष्ट्रिय शिक्षा पुरस्कार २०६५ बाट न्यौपाने पुरस्कृत भएका छन् ।