कुलोभरी कलकल गर्दै बगेको पानी ठाडो गरी
राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा
मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै
बाटुलो ढुँगा फनफनि घुम्न थाल्छ तब शुरु हुन्छ नेपाली जीवनशैलीमा आदिम
कालदेखि स्थान पाएको घट्टको पिसानी कार्य।
फनन घुमिरहेको घट्ट माथी ट्वाङ ट्वाङ गर्दै उफ्रिने कलात्मक चराको उफ्राईको
बलले बाँसबाट बुनिएको सोलीमा राखिएको अन्न क्रमशः खस्दै जान्छ । बेस्सरी
घुमिरहेको घट्टको बीचमा रहेको प्वालबाट पसेको अन्न मिहिन भएर घट्टको वरीपरी
घेरो लाग्न थाल्दछ ।
खोलाको छेउमा हुने घट्ट प्रायजसो बस्तीहरु भन्दा टाढा हुने गर्दछ । पानीको
प्रवाहको बलले पिध्नुपर्ने अन्न आधुनिक फ्लोर मिलले झै छिटो पिस्न सक्दैन ।
त्यसैले घट्टमा पालो पर्खन कठिन हुन्छ । गाँउघरमा हुने कामको चटारोले
दिनमा फूर्सद नहुने हुँदा प्रायः मानिसहरु रात बस्ने गरी घट्ट जाने गर्दछन्
। घटेरोसँग मिलेर ढिंडो पकायो वा आगोको भुंग्रामा भुङ्ग्रे रोटी हाल्यो
खायो । घट्टमा हुने खानपिन प्राय यस्तै हुन्छ । घट्टमा थोरै अन्न पिध्न पनि
धेरै समय लाग्ने हुँदा युवाहरु साथीभाई मिलेर रातभरी भए तास नभए बाघचाल
जस्ता खेल खेलेर रात काट्ने र बिहान पिठोको भारी बोकेर घर फर्कने गर्छन् ।
घट्टमा पिसेको पिठो आधुनिक फ्लोर मिलमा पिँधेको पिठोभन्दा खानमा स्वादिष्ट
हुने हुँदा मानिसहरु ढिलै भएपनि घट्टमा नै पिस्न मन पराउँछन् । पौष्टिक
तत्व पनि नष्ट नहुने हुँदा बुढाबुढीहरु घट्टको पिठो नै बढी रुचाउछन् ।
समयको प्रवाहसँगै नेपाली जनजीवनमा पनि आधुनिक प्रविधिले बेस्सरी प्रभाव
पारेको छ । नेपाली मौलिक प्रविधिहरु दिनानुदिन लोप हुँदैछन् । पिठो पिस्ने
घट्टलाई आधुनिक फ्लोर मिलले, धानकुट्ने ढिकीलाई राइस मिलले, तोरी पेल्ने
कोललाई आधुनिक आयल मिलले विस्तापित गरिरहेको छ । डोरी, दाम्ला बुन्ने
स्थानीय सीप र साधनको प्रयोग घट्दो छ । केतुके र सनपाटका डोरी र दाम्लालाई
नाइलन र प्लाष्टिकले विस्तापित गरीसकेको छ । डोरी बाट्ने तोस्रा, जाँतोमा
हुने मानी, हातो, ढिकी जस्ता मौलिक प्रविधिमा प्रयोग हुने वस्तुको नाम त
इतिहासका बारेमा विद्धान नै हुँ भन्नेहरुले पनि बिर्सदै गएको तथ्य पाइन्छ ।
मानिसले समयअनुसार आफूलाई बदल्नु पर्दछ । मौलिकता जोगाउने नाममा खर्चिलो,
कठिन प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने होइन । तैपनि विदेशी प्रविधिको
अन्धाधुन्ध उपयोग गर्ने हाम्रो समाजले मौलिक प्रविधिलाई पनि समयअनुसार
परिमार्जन गर्दै स्वावलम्वी बन्न सके स्थानीय श्रोत र साधनको प्रयोगले
आत्मनिर्भर बन्न सकिनेमा कसैमा दुईमत नहोला ।