- बिनुका बस्तेन, धुस्कुन २ जात्रथली

आँशुको भेला सागर बन्छ मुहान आँखाको
मिल्दछ सँधै दुनियाँ भन्छ साहारा आमाको
जन्म त दियौ हे मेरी आमा दुखको भेलमा
म परी गए हे मेरी आमा शत्रुको नेलमा
यो सानो हाम्रो समाज रैछ सामजिक परिवेश
कसले दिन्छ यो दुःखी माथि शक्तिको अभिषेक
आँशुको भेलमा दुखको डुङ्गा म तर्न सक्दिन
संघर्षशील जीवन भा छ म टार्न सक्दिन
जन्मायौ किन हे मेरी आमा सांसारिक जेलमा
संसारले पनि हुत्याइदियो मैदानको खेलमा
आकाश छुने आशामा उडे अल्झिए रुखमा
चुडिएको चङ्गा भएछ जीवन भासियो दुखमा
के रैछ दुख भन्देउ सङ्गी म त्यसलाई त्याग्दछु
संसारै दुख रहेछ भने त्यहीबाट भाग्दछु
पर्खाल रैछ त्यो दुख भने म त्यसलाई नाघ्दछु
होइन त्यो शत्रु रहेछ भने आगो झै जाग्दछु
छोरीलाई भनि जन्मायौ किन हारेको करम
घर भित्र देखि बाहिरसम्म मान्नु रे सरम
आजको संसार के रैछ भन्थे रहेछ पैसाको
पैसाको लागि बचियो इनजत विचरी नारीको
हिउँको शीत बस्रन्छ सारा पिठ्युँ थाप्दछु
खरको झुप्रो चुहिन्छ वर्षा म सधै काप्दछु
को रैछ वर को रैछ पर झुपडी भरको
सम्पति मात्र रहेछ प्यारो नेपाली नरको