- पुरूषोत्तम गौतम
म बिहानै उठ्दा ऊ चौखटमा बसेर बासी भातको डल्लो कोपर्दै हुन्छ निस्तै । आँखाभरि कचेरा भरिएको छ उसको । मलाई बाटो छोडिदिएर ऊ चौखटको छेउमा सर्छ हातमा बासीभातको बटुको लिएरै।
कि खाच्छोक नुनु ?
म सोध्छु उसलाई ।
मतिर पुलुक्क हेर्छ कचेरे आँखाले अनि जवाफमा मुस्कुराउँछ अनौठो पाराले । म नित्यकर्म सकेर फर्किँदा उसले पनि बटुको रित्याइसकेको हुन्छ । चौखटभरि भातका सिताहरु छरपष्ट हुन्छन्। ऊ अघाएर एकचोटि डकार्छ बिस्तारै अनि चौखटबाट आँगनमा झर्छ । उसले हिजोको साटो पनि आजै खाएको छ अघाउँजी । आमा कामबाट फर्किँदा ऊ निदाइसकेको थियो । आमाले खाना पकाइसक्दा शायद अघाउँजी भात खाएको सपना देख्दैहुन्थ्यो होला । नजानेरै पनि उसको दैनिकी यसैगरी बित्छ ।
शहरका ऊ जस्तै साना सानाहरू मात्तिएर घुक्र्यारहँदा ऊ खान नपाएर तड्पिरहेको थियो । गद्दामा सुतेर मात्तिएकाहरूकै वरिपरि भएर पनि काठको बिछ्यौनामा मस्त सुतिरहेको हुन्थ्यो । उसकी आमा हरेक दिन ईश्वरको पूजा गर्छे । सानो केटो टुलुटुलु हेर्छ पूजा गरेको । अगरबत्ती जलाएको अनि घण्टी बजाएको । अनगिनत सवालहरू होलान् उसको त्यो सानो मष्तिष्कमा ।
आज पनि ऊ मतिर हेरेर ङिसिक्क हाँस्यो । घरि घरि बिहान उठ्ने बित्तिकै रुँदै हुन्थ्यो ऊ हातमा बासी भातको डल्लै भएपनि । मलाई लाग्छ ऊ सपना देख्दा पनि मिठो खाना खाएर सुतेको कल्पना गर्दो हो ।
उसकी आमाले गरेको नित्य पूजा र ऊ हरेक रात भोकै सुत्नुको सम्बन्ध के होला उसलाई थाहा पनि छैन शायद । आमा हरेक दिन पूजा गर्छे तर के का लागि, कसका लागि थाहा छैन उसलाई । हरेक दिन उसका जिज्ञासु आँखाहरू पूजा हेर्छन् अनि केही सोध्न खोज्छन्, बुझ्न खोज्छन आमासँग । आज पनि आमा आइन अबेरसम्म । उसको बाउको पनि ठेगान थिएन । ऊ भोकै सुत्यो आज पनि । बिहान बिउँझेर लिस्नामा निस्तो भातका डल्लो कोपर्ने उसलाई देखिन मैले लिस्नोमा । अचम्म लाग्यो मलाई । मेरा आँखाहरू उसलाई हेर्न अनि उसको मुस्कुराहट हेर्न बानी परिसकेका छन् । त्यसैले मलाई अलि बढी चासो लाग्छ । उसको खोजी गर्छु म । कतै म ढिलो उठेँ कि भनेर यता उता हेर्छु म उसलाई । तर सम्भावना न्यून छ । नित्य कर्म सकेर माथि उक्लँदा कतै घुँक्क घुँक्क गरेको आवाज ठोक्किन्छ मेरो कानमा । म उसको कोठामा चिहाउँछु । उसकी आमा पूजा गर्ने ठाउँमै छे । आमा छोरालाई अँगालो हालेर रुँदैरहिछ ऊ ।
के भो? किन रोएकी?
सोध्छु म उसँग ।
भक्कानिँदै भनी उसले— "उसको छोराले सोध्यो रे उसले पूजा किन गरेकी भनेर? "
उसले भनी रे–"ईश्वरलाई खुशी राख्न । मनले मागेको कुरा पूरा गरिदिन्छन् ईश्वरले । जे माग्यो त्यो पूरा गरिददिन्छन् ईश्वरले । "
त्यसपछि फुच्चेले एक टकले हेर्यो रे उसलाई अनि भन्यो रे । "आमा त्यसो भए मलाई तिम्रो भगवान्सँग अघाउँजी भात मागिदेऊ है । "
कथाजस्तो लाग्ने दृश्य मेरो अघि छ अहिले । मुलुक राजतन्त्र, सम्बैधानिक राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र अनि संघिय गणराज्य के के हो के के बाट धेरै अघि बढिसकेको छ । तर मेरो अघि त्यो फुच्चे हरेक दिन बिहान बासी भातको डल्लो कोपर्दै हुन्छ निस्तै किनकि उसलाई जुनसुकै तन्त्र आएपनि फरक परेको छैन, उसको आङ्ग ढाक्ने साइत जुरेको छैन, उसको लागि २ छाक खान पाउने साइत जुरेको छैन , उसको लागि २ छाक खान पाउने र एकधरो लाउन पाउने तन्त्र आएकै छैन अझै पनि ।
मितिः २०६६ साल कात्तिक २६ गते
पुरूषोत्तम गौतम
गणित शिक्षक पाठशाला नेपाल फाउन्डेसन