जिल्लाको बतासे गाउँ विकास समिति वडा नं ४ मा वि.स. २०४१ सालमा बुबा खड्गबहादुर थापामगर र आमा रत्नकुमारी थापामगरको कोखबाट साँइलो सन्तानको रुपमा जन्मिएका युवा लोक गायक तथा संकलक राम थापा 'शिशिर' नेपाली लोक संगीत क्षेत्रमा परिचित नाम हो । बाल्यकाल देखि नै लोक गीत संगीतमा रुचि राख्ने थापाका थुप्रै गीतहरु श्रोताहरुका बीचमा लोकप्रिय भइसकेका छन् । श्रोताको माया र काम गर्दा गर्दै प्राप्त भएका उपलब्धी तथा सफलताले नै आफूलाई यस स्थानसम्म ल्याइ पुर्याएको तथा आफु निरन्तर लोक संगीतमा नै लागिरहने उहाँ बताउनु हुन्छ । ठेट नेपाली भाषाका शब्दहरु संकलन गरेर गीत गाउने उनै सिन्धुका गर्व गर्न लायक प्रतिभासँग मेरो सिन्धुका केदार न्यौपानेले गरेका कुराकानीको केही अंश ।
आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
भर्खरै मात्र मेरो नयाँ एल्बम 'बनको घाँस खुर्केको' बजारमा आएको छ म त्यसैको बजार ब्यवस्थापनमा व्यस्त छु । साथै दशैंको लागि अर्को एल्बमको तयारीमा छु ।
बजारमा तपाईको खुबै चर्चा र प्रशंसा सुनिन्छ तपाईका अधिकांश गीत यसरी चर्चामा आउनुको कारण चाँहि के हो नि ?
मैले गीत संगीतको क्षेत्रमा धेरै पसिना बगाइ सकेको छु । मैले गाउने गीतमा नेपाली जनजीवनमा हुने सुख-दुखको समिश्रण हुन्छ । अझ भनौ भने वास्तविक जीवनमा आधारित रहने र ठेट नेपाली शब्दहरुको चयन नै सफलताको कारण हो साथै मिडिया कर्मी साथीभाइ तथा मलाइ र मेरो गीत संगीतलाइ माया गर्नुहुने तमाम श्रोता-दर्शक नै सफलताको कारण हुनुहुन्छ ।
भर्खरै बजारमा तपाईको नयाँ एल्बम 'बनको घाँस खुर्केको' आएको छ, के छ यसको बजार प्रतिक्रिया ?
हाल नेपाली संगीत बजार आर्थिक दृष्टिकोणले त्यति राम्रो छैन । समग्र संगीत बजार नै धराशयी भएको बेलामा लोक दोहोरीको पनि हालत उस्तै छ । मोबाइल सिडी डिभीडी तथा अन्य माध्यमले गर्दा अनधिकृत हिसाबले गीतहरु बजारमा जाने गरेका छन् । यसरी प्रतिलिपी निकाली गैरकानुनी ढंगले गीत संगीतको आदानप्रदान हुनाले कलाकारले त्यसको मार खेप्नु परेको छ । ब्यवसायीक हिसाबले सन्तुष्ट नभए पनि चर्चाको हिसाबले भने म अत्यन्तै सन्तुष्ट छु । छोटो अवधिमा नै यो एल्बम श्रोताहरुको प्रिय बनिरहेको छ ।
यो एल्बमको लयको विषयमा तपाई र नवराज घोरासैनीको बीचमा विवाद छ भन्ने हल्ला चलेको थियो के यो विवाद सत्य हो त ?
यो कुरा बजारमा चर्चाको विषय बनेको छ । शुरुमा मात्र हैन अहिलेसम्म पनि यो विवाद कायमै छ । मेरो एल्बम बजारमा गएको एक डेढ महिनापछि उहाँको एल्बम बजारमा गएको छ । यसबाट पनि थाहा हुन्छ कि यसको सत्य कुरा के हो भनेर । विवाद उहाँहरुबाटै सिर्जना भएको हो । एउटै क्षेत्रमा समर्पित र खासगरी एउटै भेगका सहकर्मीका बीचमा यसरी विवाद हुनु शुभ संकेत अवश्य होइन । यसप्रति म असाध्यै दुखी छु । विवाद समाधान गर्नको र आफ्नो गल्ती स्विकार्नुको सट्टामा उल्टै मेरो ६ वर्ष अघिनै रेकर्ड भएको गित एल्वम ' मोटर साइकल आजै किनेको ' उहाँले आफ्नो एल्बमको पछाडी विज्ञापनको रुपमा राखेर झनै विवाद चुल्याउनु भएको छ । यो उहाँले जुन नियतले गरिरहनु भएको छ यसमा मेरो घोर आपत्ति छ ।
तपाईका सिर्जना मायाप्रेममा खासगरी दशैं तिहारमा आधारित भएका देखिन्छन् आफ्नो भौगोलिक क्षेत्र जिल्ला सामाजिक अवस्थालाई प्रतिविम्वीत गर्ने कुनै त्यस्तो एल्वमको बारेमा सोच्नुभएको छ कि ?
मैले आफ्नो विगतका सिर्जनामा पनि आफ्ना जिल्लालाई समेट्ने शब्दहरु त प्रस्तुत गरिरहेकै छु । हाल यो एल्बममा पनि अरनिको रुट जुन हाम्रो जिल्ला सिन्धुपाल्चोकको एउटा प्रमुख राजमार्ग हो मैले यसैलाई समेटेर भर्खरै मात्र पनि यो गीत प्रस्तुत गरेको छु । कुनै ठाउँ विशेष र क्षेत्र विशेषलाई समेट्दा अन्य भेग र क्षेत्रको स्रोता दर्शकले मन नपराउने यो हो कि भन्ने एक किसिमको शंका र अर्कोतर्फ पुँजीको अभावले गर्दा पनि इच्छा हुँदा-हुँदै पनि सफल हुनेछु । मेरो पहिलो एल्वममा ' सासु नमस्कार ' मा पनि जलविरे सम्बन्धि शब्द प्रस्तुत गरेको छु ।
खासगरी तपाई एउटा काँठेक्षेत्रको गायकको रुपमा चिनिनुभएको छ । के तपाई पूर्वेली-पश्चिमेली भाका पनि गाउनु हुन्छ, कि आफ्नो पुरै समय यस काँठे संगीतमै बिताउने शुरमा हुनुहुन्छ ?
त्यस्तो होइन एउटा गायक एउटा क्षेत्र विशेषको मात्र नभएर हरेक क्षेत्रको गीत गाउन सक्नुपर्छ । मैले पुर्वेली-पश्चिमेली भाकामा पनि आफ्नो स्वर दिएको छु । र मौका मिलेसम्म एउटा पश्चिमेली गीतको संकलन गर्ने सोचमा पनि छु । यदि त्यस्ता एल्बममा कतैबाट गीत गाउने मौका आयो भने त्यसमा आफु सक्षम छु जस्तो लाग्छ ।
तपाईका श्रोता दर्शक एवम शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ?
उहाँहरुकै माया प्रेम र सद्भावको कारणले यो अवस्थामा आइपुगेको छु । त्यसैले उहाँहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।
मैले सोध्न भुलेका र तपाईका मनमा बाँकी रहेका त्यस्ता कुनै कुरा छन् ?
खासै भन्न बाँकी त केहिपनि छैन तर आजसम्म त्यस्तो भएको थिएन तर अहिले यो एल्वमका विषयमा नवराज घोरासैनी सँग एउटा विवाद देखिएको छ । यो विवाद छुट्याउने जिम्मेवारी म श्रोता र दर्शकलाई दिन चाहन्छु । राम थापा ' शिशिर ' लाई कसैको एल्वमको शब्द नक्कल गर्नुपर्ने जरुरत छैन र म आफु शब्दको लागी पर्याप्त छु जस्तो लाग्छ र मलाई यसरी आफ्नो मनका कुरा राख्ने पुन मौका दिनुभयो यसका लागी तपाई र तपाईको सम्पुर्ण मिडिया परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ॥