घाँसको गहुङ्गो भारी हतार हतार बिसाउर्दै डाँडा
घरकी कान्छीले हेलो हेलो भनेको सुन्दा धेरै पछि दशैमा घर गएको मलाई अचम्म
लागेर आयो । घाँसको भारी बोक्दै फोनमा कुरा गरेको देख्दा त झन भित्रै
देखीबाट खुशी लाग्यो । नेपालको ग्रामिण जीवनमा सूचना प्रविधिको समिश्रण के
र, अचम्मै छ ।
रित्तो बाल्टिन हातमा लिएर कराउदै आएका हर्के काकालाई के
भएछ भनेर मलाई पनि चासो बढेर आयो । बुझ्दा त सुरुवालमा लागेको हिलो देखाउदै
काकाले भने, भैसी दुधै थिए, मोबाइलमा फोन आयो । फोनको घण्टी बजेर भैसी
तर्सियो अनि त बाल्टीनसँगै भकारोमा मेरो यो गति भयो ए बाबु ।
'ए
रबिन गोरु आयो है नुन पिठो हालेर पानी ठिक पार, गोरु चराएर फर्कदै गरेको
कृष्णसरले छोरा रबिनलाई मोबाइलबाटै काम अह्राए ।'
'ए रामशरण तलाई
फुर्सद भए भोली हाम्रो धान काटीदेन है, फोनमा तिनै कृष्णसर खेताला खोज्दै
थिए ।'
कतारमा एक वर्षदेखी वैदेशिक रोजगारीमा गएका रामकुमारले भाइको
मोबाइल माफत दशैमा बुवा आमाको आर्शिवाद थापे । कुनै काम परेर कसैलाई धाएरै
भेट्न जाने लण्ठा टरेको छ हो गाँऊघरमा ।
मनमनै सम्झन्छु केही वर्ष
अघिको कुरा भरतपुर चितवनमा प्रहरी तालिममा रहेका दाइले फोन गर्नहुन्छ भनेर
असारको रोपाँई छोडेर २ घण्टा धाएर मिलडाँडामा फोन सुन्न आएको अनि फोन
बिग्रिएर सुकुटे झर्नुपरेको पिडा । हजुरबुवाको देहबसान हुदाँ ठूलोबुवालाई
फोन गर्न दोलालघाट पुग्नु परेको कुरा । सबै समयको खेल रहेछ । विगत सम्झदा
अचम्म लाग्छ ।
इमेल, इन्टरनेटको बारेमा अरुले गरेको कुरा सुन्दा
मैले पनि कम्प्यूटर चलाउन जाने कस्तो होला । तर समय सधै किन एउटै हुन्थ्यो र
ठोकर्पा बसी बसी इन्टरनेट चलाउन पाउदा अनि घरायसी काम काजमा सूचना
प्रविघिले पुर्याएको सहजतालार्इ मनन गर्दा नेपालको विकास पनि चाँडै नै
होला कि ?
नेपाल टेलिकमले सिडीएमए प्रविधिको फोन वितरण गरेपछि
सिन्धुपाल्चोकका पनि अधिकांश गाँउमा यो प्रविधिले स्थान पाएको छ ।
तपाई पनि यो पढ्दा भित्रभित्रै दंग पर्नुभयो होला है ?