हामी दलित परिवार । आठजनाको ठूलो परिवार छ ।
खेतबारीको उब्जनीले खान पुग्दैन । लेबलानमा जागिर लगाइदिने भन्दै ३० पुस
०६४ मा सानीआमा काइँली घरमै आइन् । गाउँका अरू पनि जाने, पासपोर्ट बनाएको
पैसा नलाग्ने, विदेश जान लाग्ने पैसा कमाएर तिर्ने बताएपछि परिवार राजी भयो
। २ माघमा काइँला, काइँली र दावाले साथै लगाएर म, रिना, संगीता, मनु र
सरितालाई राहदानी बनाउन चौतारा ल्याए । पासपोर्ट बनाएको पैसा पनि उनीहरूले
नै तिरिदिए ।
काइँला, काइँली, दावा र माइलीको साथ लागेर विदेश जान
भनी हामी सबै ४ माघमा काठमाडौं हिड्यौँ । त्यो रात हामीलाई बच्चुको
कपनस्थित घरमा राखियो । भारत पुगेर प्लेन चढी लेबनाल पठाउने कुरा उनीहरूले
गरेका थिए । ५ माघ बेलुका भारत जान वीरगन्जको बस चढाइयो । हामीलाई
पुर्याउन दावा र काइँला सँगै गएका थिए । उनीहरूले सिकाएको कुरा बताउँदै
बोर्डर पार गरी भारतको सहिदनगर पुगियो । त्यहाँ बजिरको घर रहेछ । पाँच
दिनसम्म उनैको घरमा बस्यौँ । अब हवाईटिकट मिल्यो, दुई दिनमा लेबलान
पुगिन्छ, ल राम्रोसँग जानू भनेर बजिरको जिम्मा लगाई दावा र साइँला नेपाल
फर्के । सरिता काइँला-काइँलीका छोरी हुन् । छोरीलाई त नछोड्नेले अरूलाई के
बाँकी राख्थे र ?
१५ माघ बिहान पाँच बजे अब प्लेन चढ्नुपर्छ भनेर
हिँडाइयो । करिब २० मिनेट जति बस चढेपछि ओरालेर आग्रा सहरको कस्मिरी
बजारस्थित एउटा ठूलो घरमा पुर्याइयो । छुट्टाछुट्टै कोठामा राखेर हामीलाई
बाहिर निस्कन दिइएन । त्यसै रात म बसेको कोठामा एकजना नचिनेको पुरुष आएर
जबर्जस्ती गर्न खोजे । म रोएँ, कराएँ, चिच्चाएँ । घरवाली (कोठी मालिक्नी)
आएर तँलाई एक लाख तिरेर किनेको भन्दै कुटपिट गरिन् । त्यसपछि मात्र आफूहरू
बेचिएको थाहा भयो । म छाँगाबाट खसेकोजस्तै भएँ । हरेक दिन ३०/३५ जनासँग
यौनसम्पर्क राख्नुपथ्र्यो । म यौनसम्पर्कका क्रममा धेरैपटक बेहोस भएकी थिएँ
। म रुन्थेँ, चिच्चाउँथे तर कसले सुन्ने ? यौनसम्पर्क राख्न नमान्दा
घरवाली र ग्राहकले यातना दिन्थे । साथीहरूसँग भेट भए पनि सँगै बस्न
दिइँदैनथ्यो ।
कोठीमा एक वर्ष नारकीय जीवन बिताएपछि २२ माघ ०६५ मा
प्रहरीले छापा मार्यो । त्यो कोठीमा २३ जना नेपाली महिला थियौँ । मेरा चार
साथीसहित १४ जनालाई प्रहरीले पक्रेर लग्यो । मलाई लुक्न लगाइएकाले पक्राउ
परिन । छापा मारेपछिको १५ दिनपछिसम्म म त्यहाँ बस्दा उनीहरू फर्केर आएका
थिएनन् । घरमा आउँदा पनि साथीहरू अझै सम्पर्कमा नआएको थाहा पाएँ ।
छापा
मारेको १५ दिनपछि मेरो कोठीमा एक पुरुष ग्राहक यौनसम्पर्कका लागि आए । म
रोएँ, बिन्ती गरेँ अनि सबै कुरा उनलाई बताएँ । मेरो कुरा सुनेपछि उनले
नेपाल पठाइदिने भन्दै त्यहाँबाट भगाए । उनको घर आग्रा सहरमै रहेछ । नौ
महिनासम्म उनकै घरमा लुकेर बसेँ । घरमा उनलाई आरिपी मुसलमान नामले
बोलाइन्थ्यो । घरमा बस्दा उनले त्यस्तो नराम्रो गरेनन् । आफ्नै घर जा भनेर
उनैले एक हजार आइसी भाडा दिएपछि म ५ असोजमा नेपालका लागि बस चढेँ । ७ गते
काठमाडौं आइपुगेर आफन्तको सम्पर्कमा गएँ र घर आइपुगेँ ।