- राजन न्यौपाने
जीवनको ५६ बसन्त सिन्धुपाल्चोकको डाँडाकाँडामा बिताएर हिडेका बाबुराम महतको थाप्लोमा अझै पनि गर्हुङ्गो भारीले छाडेको छैन । ठोकर्पा वडा नं. ६ (तत्कालिन बेखसिम्ले काभ्रेपलाञ्चोक जिल्ला) मा जन्मिएर धर्तीमा पाइला टेकेका उनीसँग भोटदेखि नुन खेपेको अनुभव छ । १८ बर्षको उमेरमा घरबाट भागेर मुग्लान पसेका उनीसँग कोइलाखानीमा काम गर्दाको दु:खको अनुभव पनि ताजै छ । हिन्दुस्तानबाट फर्केर ठोकर्पामा नै बसी जीवन चलाईरहेका उनको आजभोलीको जीवन अलि सुखद नै छ ।
सिन्धुपाल्चोक ठोकर्पा, कालिका, सुनखानी, लिसंखु यमुनाडाँडा, साँगाचोक तथा काभ्रेपलाञ्चोकको चौबास, सिम्थली, बेखसिम्ले र आसपासका अन्य गाँउका बिरलै मानिस होलान जो बाबुराम महत्त चिन्दैनन् । जब कि उनको घर माथिको बस स्टेशनलाई बाबुराम स्टेशन भनेर सबैले चिन्ने गर्दछन् । २०५४ सालदेखि ठोकर्पामा मोटर गुड्न थाले पछि भने सुकुटे ठोकर्पाको नाकै छुने ठाडो उकालो हिड्ने कामबाट मुक्ति मिलेको छ । दैनिक घरबाट निस्केर ठोकर्पाको बस चढ्दै चेहेरेसम्म बसमा सबैलाई हसाउनु र दिनभरी चेहेरे बजारदेखि दशैमा खेलिने लिङ्गे पिङ झै हल्लिने पुलबाट सामान पारी बससम्म लैजानु उनको दैनिकी बनेको पनि झण्डै ९ वर्ष भइसकेको छ ।
४८ सालमा जीवनसंगिनीले धर्तीमा एक्लै छाडेर गएको बेला सम्झदा अझै पनि मुटुमा भक्कानो फूटेर आउछ, हसिलो मुहारमा उनले यसो भनिरहदा अनुहारमा पीडाको भाव सहजै झल्किन्थ्यो । ७० केजी सम्मको भारी बोकेर ३४ किमि सम्म हिडेको कुरा हामीसँगको भेटमा उनले गर्वका साथ बताए । काम लगाएर पैसा नपाउदा भने उनलाई अलि खल्लो लाग्छ । दैनिक १०० देखी ४५० सम्म कमाई गरेर उनले ठोकर्पामा घरव्यवहार राम्ररी चलाइरहेका छन् ।
लोकगीत सुन्न मनपर्ने उनलाई रामायणका श्लोकहरु कण्ठै छन् । उनी विवाह, वर्तवन्धमा पनि श्लोक भन्न अगाडि सर्दछन् । उनको अंग्रेजी बोलाई पनि सरकारी विद्यालयका त्यस्तै उस्तै विद्यार्थीलाइ त माथ खुवाइदिने छ । संविधानसभाको बारेमा रेडियो, टेलिभिजनबाट सुनको तर आफूलाई कुनै राजनीतिक दलका नेताले नबताएको कुरा संविधानसभा बारेको हाम्रो प्रश्नमा उनको गुनासो छ । देशमा शान्त्ति भइराखे हात गोडा चलुन्जेल पसिना बगाएरै जिउने उनको अठोट छ । उनको अठोटले पसिना बगाउनबाट पन्छने आजभोलीका सौखिन युवा पिँडीलाई ठाडै चुनौती दिन्छ ।