Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

राहदानी वितरण अब विहान ८ बजेदेखि नै गरिने

2014-07-06 05:53:51 | मेरो सिन्धु

२२ असार, काठमाडौँ ।
राहदानी वितरण प्रक्रियालाई सहज बनाउन सरकारले आइतवारबाट विहान ८ बजेदेखि काम सुरु गरेको छ । राहदानी लिन चाहने सेवाग्राहीले सास्ती झेल्नुपरेको गुनासो बढेपछि  कार्यालय समयभन्दा दुई घण्टा अघि देखि नै राहदानी वितरण सुरु गरिएको हो ।

राहदानी विभागले आइतवारदेखि नै ६ बटा काउन्टरबाट राहदानी वितरण थालेको हो । राहदानी वितरणको उद्घाटन गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जनतालाई सुविधा दिन सरकार क्रियाशील रहेको र निकट भविष्यमा आवेदन फाराम दर्ता गर्ने प्रक्रियालाई अझ सरल तुल्याइने जानकारी दिए । आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि प्रत्यक्ष दर्ता प्रणालीको व्यवस्था गरिएकाले राहदानी लिन चाहने सर्वसाधारणलाई समस्या नहुने उनले वताए ।

सेवाग्राहीसँग मर्यादित भएर व्यवहार गर्न कर्मचारीसँग आग्रह गर्दै उनले कामको चापका आधारमा सेवाग्राहीलाई कार्यालय समयअगावै पनि सेवा प्रवाह गर्न तत्पर हुन निर्देशन दिए । परराष्ट्रमन्त्रीले विभिन्न राजनीतिक दलका नेता, सभासद् एवम् सङ्गठित सङ्घसंस्थालाई पनि राहदानी प्राप्तिको प्रक्रियाबारे जानकारी दिन विभागलाई निर्देशन दिए ।

निमित्त परराष्ट्र सचिव शङ्करदास वैरागीले आम जनतालाई सरल र सहज ढङ्गले राहदानी उपलब्ध गराउन मन्त्रालय सधैँ क्रियाशील रहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । विभागका महानिर्देशक रमेशप्रसाद खनालले हालसम्म २१ लाख यन्त्रले पढ्ने राहदानी वितरण गरिसकेको जानकारी दिँदै भोलिदेखि थप दुईवटा वितरण काउन्टर विस्तार गरिने बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डययन सङ्गठनको प्रावधानअनुसार संसारभरिका सबै देशले सन् २०१५ को नोभेम्बर २४ भित्रमा एमआरपी जारी गरिसक्नुपर्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box