ध्रुव दंगाल, सिन्धुपाल्चोक, फागुन १-
चिनियाँ सामग्री बोकेका दर्जनौँ कन्टेनर सडकमा रोकिएका छन्। यात्रुबस, पर्यटक बस लगायत सवारी साधन चल्न पाएका छैनन्।
स्थानीय बासिन्दा सीमा प्रहरी कार्यालयविरुद्ध उत्रेका हुन्। प्रहरीले 'अनावश्यक कडाई' गरेको उनीहरुको तर्क छ। प्रहरीले तीन महिनायता चोरी, तस्करी नियन्त्रण, सवारी चेकजाँच र ट्राफिक नियम कार्यान्वयनमा कडाइ गर्दै आएको छ। चौकी प्रमुखको रुपमा इन्स्पेक्टर विश्व कार्की सीमामा आएपछि कडाइ गर्न थालिएको हो।
यसअघिका इन्स्पेक्टर भक्तबहादुर विष्ट अमेरिकी डलर काण्ड लगायत अवैध धन्दामा मुछिएपछि महानिरीक्षक रविन्द्रप्रताप शाहले नै चोरी रोक्न कार्कीलाई यहाँ पठाएका थिए। भन्सार छलेर आउने चिनियाँ सामग्री, मदिरा लगायत सामानको चोरी रोक्ने कदम उनले चाल्दै आएका छन्। ट्राफिक नियम पालना नगर्नेलाई विशेष कार्वाही थालेका उनले निर्यातमा पनि उत्तिकै कडाई गर्दै आएका छन्।शनिबार मात्र सीमा प्रहरी चौकीले अवैध रुपमा खासा लैजादै गरेको ३५ बोरा चिनी बरामद गरेको थियो। यस लगत्तै स्थानीय बासिन्दा प्रहरीविरुद्ध सडकमा आएका हुन्। ना३ख ४९६९ र ना३ख २४० नम्बरको कन्टेनरमा १७ सय १० केजी चिनी भेटिएको थियो। बरामद चिनी तातोपानी भन्सारमा बुझाएको छ। 'राम्रो गर्न प्रयास गर्दा प्रहरी विरुद्ध उत्रिन्छ भने यो चोरी गर्न पाउनु पर्छ भन्ने माग सिवाय केही होइन,' जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्तकुमार लामाले नागरिकन्यूजलाई बताए। अवैध क्रियाकलाप रोक्न प्रहरीले कसैसँग सम्झौता नगर्ने बताउँदै उनले अवरुद्ध नाका खुलाउने प्रयास भने भइरहेको बताए।रक्तचन्दन, सुनाखरी, सालक अंग र अमेरिकी डलर कारोवारले नाका बदनामित छ। स्थानीयले कढाइ गर्ने इन्स्पेक्टर कार्कीको सरुवा माग गरेका छन्। 'हामीसँग समन्वय गरेर काम गर्नुपर्नेमा प्रहरीबाट उल्टै पेल्ने काम भयो,' स्थानीयको जिकिर छ।