मुलुकमा ठूलाठूला जलविद्युत् अनि सुरुङ खनेर राजमार्ग बनाउने सम्भावना निकै रहेको भन्दै यहाँका एक किशोरले 'सुरुङ खन्ने रोबोट' बनाएका छन् ।
रत्नचोकस्थित रत्नज्योति स्कुलमा १० कक्षामा पढ्ने १५ वषर्ीय सनिश केसीले रोबोट बनाएका हुन् । रोबोटको उनले आइतबार विद्यालयमा प्रदर्शन गरे । झन्डै ७ महिना लगाएर केसीले मोटर, पुल्ली, पिस्टन, लिस्टी, आल्मुनियम पत्ता, ब्याट्री, स्विच, पाइप, रबर, फलाम, पंखा काठलगायतका सामान जोडेर सुरुङ खन्ने रोबोट बनाए । यसका लागि साढे ७ हजार रुपैयाँ खर्च लागेको उनले बताए ।
अघिल्लो भागमा रहेको फलामको पाता जडित पंखा घुमेर माटो तथा चट्टान काट्ने, काटेको माटो र चट्टानलाई रोलरमार्फत पछाडिपट्ट िरहेको ट्यांकमा पुर्याउने र हाइड्रोलिंक प्रेसरको सहायताले उचालेर बाहिर निकाल्न मिल्ने रोबोटको विशेषता हो । 'सुरुङ खनेको देखेको छैन,' केसीले भने, 'तर हाम्रो देशको भौगोलिक बनावटले सुरुङको महत्व निकै देखेर यस्तो बनाउन हौसला मिलेको हो ।' उनले राज्यका निकायले यसको विकास गरिदिए ठूला जलविद्युत् र सुरुङ मार्ग बनाउन सकिने र ठूलो उपलब्धि मिल्ने बताए ।
आमा लक्ष्मीका अनुसार सानैदेखि सनिशले खेलौना तथा रेडियो बिगार्दै बनाउँथे । त्यति बेला कुनै वास्ता नगर्ने भए पनि अहिले साँच्चिकै विभिन्न प्रविधि बनाएर प्रतिभा देखाउँदा आफूहरूलाई निकै खुसी लागेको उनले बताइन् । 'छोराले राम्रै गरेको छ,' विद्यालयमा रोबोट हेर्न आएकी उनले भनिन्, 'सबैले सहयोग गरिदिए भविष्यमा पनि यस्ता अन्य उपकरण पनि बनाउला ।'
सानै उमेरमा यति ठूलो प्रयासले इन्जिनियरिङ क्षेत्रमा क्रियाशील व्यक्तिका लागि चुनौती रहेको विद्यालयका पि्रन्सिपल हेमन्त अधिकारी बताउँछन् । 'विद्यालयले उनको सिर्जनालाई मर्न दिने छैन,' अधिकारीले भने, 'सरकारले पनि हेरिदिए यस्ता प्रतिभामा थप हौसाल मिल्ने थियो । उसले देशका लागि योगदान दिन सक्छ ।' अधिकारीले कक्षा ११ र १२ मा पनि केसीलाई छात्रवृत्ति दिएर पढाउने विद्यालयले निर्णय गरिसकेको बताए । छात्रावासमा बस्ने केसीलाई अहिले पनि विद्यालयले मासिक शुल्क सबै मिनाहा गरिदिएको छ भने छात्रावासमा ५० प्रतिशत शुल्कमात्रै लिने गर्छ ।
पछिल्लो यो उनको चौथो रोबोट हो । गत वर्ष उनले गह्रुँगो सामान उठाएर अग्ला भवनमा राख्ने र झार्ने रोबोट बनाइसकेका थिए । यस्तै ६ कक्षामा पढ्दा फोहोरमैला व्यवस्थापन गर्ने र ७ कक्षामा पानीमा डुबेको वस्तुलाई उतार्ने रोबोट बनाएका थिए । यसका साथै केवलकार र लिफ्टसमेत बनाइसकेका छन् । उनले दुईतर्फ बोल्न र सुन्न मिल्ने टेलिफोन र रिमोटबाट ढोका बन्द र खोल्न सकिने प्रविधिको पनि विकास गरिसकेका छन् । 'सबैतिरबाट सहयोग मिले नयाँनयाँ बस्तु बनाएर देश विकासमा टेवा पुर्याउने लक्ष्य छ,' उनले भने ।
विद्यालयको छात्रावासमा बस्दै आएका केसीले बिदा र फुर्सदको समयमा अरू साथीभाइजस्तो खेल्न र घुम्न नगई विज्ञानका विभिन्न गतिविधि गर्छन् । उनको घर लमजुङ हाँडेटार हो । बाबु नारायण पोखरा-बेसीसहर माइक्रो चलाउँछन् । उनको चाहनालाई अभिभावक र विद्यालयले आवश्यक सहयोग गर्दै आएका छन् । विद्यालयले त एउटा कोठामा प्रयोगशालाकै रूपमा प्रयोग गर्न उपलब्ध गराउँदै आएको छ ।