Air Ticketing in Nepal Contact to Merosindhu.com

अन्तर्वार्ता

युद्ध रोक्न आर्थिक क्रान्ति जरुरी छ

2012-01-22 01:06:31 | कला अनुरागी


अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक नेपाल लिमिटेड

मेगा बैंकको पछिल्लो अवस्था के छ ?

अहिलेको अवस्थाभन्दा पनि म अलि अगाडिको सुरुवातको प्रसंगमा जान चाहन्छु । मेरो बैंक क्षेत्रमा करियर गि्रनलेज बैंकबाट सुरु भयो । त्यसपछि स्ट्यान्डर्ड चार्टडमा गयो त्यसपछि नविल बैंकमा । स्ट्यान्डर्ड चार्टडमा मैले बैंकिङ्ग सिकें । नबिल बैंकले मलाई बैंकर बनायो । नविल बैंकमा जाँदा मलाई यो बैंकलाई नम्बर एक बनाउँछु भन्ने थियो । किनभने विदेशी बैंकमा काम गरेको विदेशी सिइओहरुसँग काम गरेको हुनाले नेपालीले चलाएकको बैंक नेपाली टिम भएको बैंकले पनि गर्नसक्छौं भनेर देखाउन भित्रैबाट चाहना थियो । त्यहाँको टिम एकदम राम्रो थियो । टिम र बोर्ड सबै मिलेर पाँच बर्षको अवधीमा नबिल बैंकलाई नम्बर एक बनाइयो । त्यसपछि अर्को एउटा चाहना भित्रबाट आयो । यसलाई आर्थिक चाहना भन्दिन म आत्मिक चाहना भन्छु । बैंकर भएकोले मेरो काम नै पसिना बगाएर बुद्धि चलाएर धन उत्पादन गर्ने हो । तर उत्पादन भएको धन विदेशी पार्टनर र सिमित वर्गमा मात्रै जाने हो भने त कसरी परिवर्तन आउँछ । फेरि यो करोडौं अरबौं रुपैयाँको कुरा हो । त्यसैले नेपालमा अहिले क्रान्तिकारी परिवर्तन आएकॊ बेला आर्थिक क्षेत्रमा पनि त्यस्तै परिवर्तन ल्याउनुपर्छ भन्ने विचार गरिरहेको थिएँ । अहिले बैंक हाइड्रो होटलमा जुन सिमित वर्गमा पूँजी लगाएर त्यसको फल पाइरहेको थियो । आउने दिनहरुमा पनि त्यही आर्थिक मोडल हुने हो त भन्ने बहस चलिरहेको बेला मेघा बैंकका प्रमोटरहरुसँग कुरा भयो । उहाँहरुले भनेको कुरा निकै मीठो लाग्यो । त्यो कुरा के भने हामी अरु बैंकहरुजस्तो होइन हाम्रो बाह्र सय १९ जना प्रमोटरहरु हुनुहुन्छ मध्यम वर्गको परिवारहरुबाट । नेपालको ६३ जिल्लामा फैलिएका छौं हामी । गाउँ गाउँबाट आएर सर्वसाधारण नेपालीले दश लाख देखि १ करोडसम्मको पूँजी लगाएर प्रमोटर भएर नेपालको तल्लो वर्गको बैंक हामी खोलिरहेको छौं । भन्दा यो बैंकबाट जुन धन उत्पादन हुन्छ त्यो कुनै जोइन्ट भेन्चर पार्टनर र सिमित वर्गमा होइन ६३ वटा जिल्लामा बाह्र सय १९ नेपाली परिवारको घर दैलोमा पुग्ने भयो । अरु बैंकको हेर्ने हो भने बाह्र सय १९ सर्वसाधारण शेयरहोल्डर पनि नहोला । तर हाम्रो त प्रमोटर नै बाह्र सय १९ जना छन् । उहाँहरुको यो कुरा सुन्दा मलाई के लाग्यो भने यदि नविल बैंक छोडेर अन्त जाने हो भने एउटा नयाँ संस्थामा मात्रै होइन एउटा नयाँ सोच बोकेर अगाडि बढौं । त्यो आर्थिक सोच भनेको आउने दिनमा सर्वसाधारण नेपालीले नेपालको आर्थिक विकासमा योगदान गर्नसक्ने मोडल बनाऔं । यो मोडल पनि बन्न सक्थ्यो । म बैंकर भएको हुनाले बैकमा बनाइरहेको छु । अहिले पूँजी भनेको नेपालको १५ हजार मान्छेको हातमा होला । यी मानिसहरु राणाशासन पाचायतकाल बहुदलीय प्रजातन्त्र र यो हाम्रो आन्दोलनपछि पनि उही हुन् । बदलिएको छैन । अब आउने ५०/१०० बर्षसम्म उही हुने हो भने त के आर्थिक क्रान्ति भयो त यो त आर्थिक शान्तिमात्रै भयो । सुस्त शान्ति भयो । त्यसैले आउने दिनमा बैंकमात्रै होइन हाइड्रो होस् सिमेन्ट फ्याक्ट्री होस् होटल जुनसुकै क्षेत्रमा होस् त्यसमा सर्वसाधारण नेपालीको हात हुने यो नयाँ मोडलको आर्थिक सोचलाई अगाडि बढाउनुपर्छ । त्यो सोचका साथ मेघा बैंकमा हामीजस्तो टिम आएका छौं धन त उत्पादन हुन्छ नै । त्यो धनको वितरण जुन किसिमले हुन्छ त्यो नेपालको कुनाकाप्चासम्म पुग्छ । एउटा बैंकले गरेर देखाइदिएपछि अरु सबै नेपालीले पनि, हामी पनि प्रयोग गरौं न त आउने प्रजेक्टहरुमा भन्न सक्छन् भनेर यो एउटा नयाँ आर्थिक सोचको ढोका खोलिएको छ । यो नयाँ सोचको ढोका खोल्न जंगल फाँडेर बाटो बनाउने काम चाहिं हामीले गरेका छौं । मलाई लाग्छ हाम्रो जुन प्रमोटर बोर्ड व्यवस्थापन टिम जुन छ त्यो सँग जादूको छडि त छैन छुने वित्तिकै हुने । तर ३ देखि ५ बर्षमा हामी मोडल बनाएर देखाउँछौं । त्यो मोडल बनाएर देखाइसकेपछि आउने दिनहरुमा धेरै कम्पनीहरु यही मोडलबाट चल्छन् जस्तो लाग्छ मलाई ।

मेगा बैंक-मेरो बैंक भन्ने नारा छ मेघा बैंकको । कसरी यो बैंक मेरो बैंक हुन सक्छ ?

सबभन्दा पहिला त हाम्रो प्रयास हुनेछ तपाई जहाँ हुनुहुन्छ त्यहाँ पुग्नलाई । यो चाहिं गाउँ गाउँमा पनि हो र शहरमा पनि । ३० प्रतिशतले जनसंख्या मात्रै बैंकिङ्ग गर्छ ७० प्रतिशतले गर्दैन भनिन्छ नि । त्यो ७० प्रतिशत गाउँमा मात्रै होइन सहरमा पनि छ । अहिले बागबजार पुतलीसडकमा गएर दोकानदारलाई सोध्नुस्  बैंकबाट पैसा लिनुभएको छ भन्दा छैन साहुजीबाट या रिस्तेदारबाट लिएको छु भन्छन् । उनीहरुलाई पनि वित्तिय संस्थामा ल्याउनुपर् यो । हामी ढोका खोलेर मेरो बैंक बनाउनलाई कहिले आउँछ भनेर बस्दैनौं । हामी घर घरमा पुग्छौं । विजनेस विजनेसमा पुग्छौं । यो एउटा हो । अर्को हामी त्यो ठाउँको आर्थिक आवश्यकता र चाहना के हो स्याप्रुमा शाखा खोलेर अपार्टमेन्ट लोन दिन्छौं भनेर केही फाइदा छैन । त्यहाँ खोलेपछि त्यहाँ के को आवश्यकता छ भन्ने हेरेर लोन दिनुपर्छ । त्यसैले हाम्रो जरै फरक छ । बाह्र सय १९ वटा जरा भएको भएर जुन फल मेघाको रुखमा फल्छ । त्यो फल पनि फरकै हुन्छ जस्तो लाग्छ ।

नेपालमा निराशा बढिरहेको बेला यस्तो सपना कसरी देख्नुभयो ?

पहिला त नेपाली भएको भएर । विदेशी भए यहाँको वातावरण बुझ्नलाई नै उसलाई सात बर्ष लाग्थ्यो होला । अब नेपाली भएको भएर हामीलाई के चाहिन्छ भनेर एउटा परिवारमा परिवारको सदस्यलाई नै थाहा भएजस्तै यो देशमा पनि देशको जनतालाई नै थाहा हुन्छ । कतिले थाहा भएर पनि थाहा नपाएजस्तो गर्छन् । कतिले केही गर्ने प्रयत्न गर्छन् । कतिले थाहा पाएर यत्रो ठूलो समस्या रहेछ भनेर भाग्छन् । म के भन्छु भने यो जुन १५ बर्ष क्रान्ति भयो यसको स्रोत भनेको पेटको आगो हो । नेपालमा यो धार्मिक युद्ध होइन यो साँस्कृतिक युद्ध पनि होइन । यो आर्थिक युद्ध हो । नेपालीले के देखे भने हामीले केही गरेनौं भने हाम्रो पुर्खाहरु जसरी एकछाक खाएर तीस पैंतिस बर्षको उमेरमा मरे । हाम्रो सन्तानमा पनि यही हुन्छ है भनेर यो भएको हो । यो पेटको आगोलाई बुझाउने काम गरेनौं भने जति राम्रो संविधान लेखे पनि जति राम्रो मीठो भाषण दिएपनि यो युद्ध त के र यो त आउने युद्धका ट्रेलर भन्छु म आउने युद्धको । त्यो युद्ध नहुनलाई नेपालीले नेपालीको रगत नबगाउनको लागि आर्थिक क्रान्ति जरुरी छ । नेपालको गाउँ गाउँमा विकास पुर् याउनै पर्छ । हामी नेपालीले के खोजेको छ हामीले स्वर्ग खोजेका छैनौं । हामीले जुन उत्पादन गर्छौं सामान या सेवा । त्यसलाई हामीले राम्रो मूल्यमा बेच्न पाउँ । त्यसको राम्रो बजार होस् र अर्को हाम्रा बच्चाहरुले हामीभन्दा राम्रो जिन्दगी बनाउनलाई पढाई चाहिन्छ । पढ्नलाई राम्रा विद्यालयहरु होउन् । हामी झाडापखालाजस्ता रोगले मर्न नपरोस् । स्वास्थ्य संस्थाहरु होस् । तर त्यति पनि हामीले पूरा गर्न सकेका छैनौं । त्यो कसरी पूरा हुन्छ त भाषण गरेरमात्रै त हुँदैन । पहिला त काम गर्नुपर् यो । मेघाले मात्रै गरेरमात्रै नेपालको समस्या समाधान हुन्छ भन्ने लाग्दैन । तर आफ्नो घर अगाडि सबैले सफा गरे भने सहरै सफा हुन्छ नि । मेघाले जुन बाटो बनाएर िहंडिरहेको छ । मेघा गाउँगाउँ पुगेरमात्रै पुग्दैन मलाई । अरु वित्तिय संस्थाहरु पनि यस्तो बाटोमा म सँगसँगै अझ मभन्दा अगाडि जाओस् भन्छु म त । हामीले बाटो बनाउने हो । जस्तो नेपालमा दुई तीनवटा हाइवे बन्यो नि । त्यो चाइना र भारतबाट सामान ल्याउनको लागि बनेको हो । तर त्यसको साइडमा मूला खेती गर्छ नि मान्छेले । त्यो मूला पनि साइकलमा राखेर लिएर आउँछ नि बिकि्र गर्न । यसरी बाटो बनाएपछि त्यसको फाइदा आफ्नो तरिकाले लिन सकिन्छ । मेघाले जसरी बाटो बनाएको छ त्यसको पनि आ-आफ्नो तरिकाले उपयोग होस् भन्ने मलाइ लाग्छ । अनिमात्रै आर्थिक क्रान्ति हुन्छ । जतिले गर् यो त्यति खुशी लाग्छ मलाई । अब जुन सोचको कुरा गर्नुभयो । म नेपाली भएको हुनाले म यस्तो नेपाली हुँ कि मलाई विस्वास छ कि संसारको कुनै पनि कुनामा गएर मैले मेरो पेट र परिवार पाल्न सक्छु । भिजा नभएर म नेपालमा बसेको होइन । म नेपालमा इच्छाले बसेको हुँ । म नेपालमै बस्न चाहन्छु जिन्दगी बनाउन चाहन्छु र यहीं मेरो अन्त होस् भन्ने चाहन्छु । म यो चाहन्छु कि आउँदो दिनमा मेरो छोरी पनि यही चाहोस् । यो गर्नलाई चाहिं सानो प्रयास मेघाले गरिरहेको छ । त्यस्तै अरुले पनि यसमा हातेमालो गरेर अगाडि बढ्यौं भने नेपाल यस्तो बन्छ कि कोही पनि बाहिर जान चाहँदैन । र त्यो बाहिर जाने कुरामा आज म यहाँहरुमार्फत के भन्न चाहन्छु भने दुवईमा हेर्नुस संसारको सबैभन्दा ठूलो बिल्डिङ्ग बन्यो नेपाली नै कामदार थिए । नेपाली नै सुपरभाइजर इन्जिनियर थिए । मलेसिया लगायतका देशमा सबैभन्दा उत्पादक उद्योगहरुमा नेपाली नै कामदार हुन्छन् । सबभन्दा राम्रो बगैंचा हेर्नुस् या बाटो हेर्नुस् त्यहाँ नेपालीले नै बनाएर मेन्टेन गरिरहेको हुन्छ । त्यो नेपाली त्यहाँ गएर त्यस्तो राम्रो काम गर्न सक्छ भने उही नेपाली नेपालमा चाहिं किन काम गर्न सक्दैन त एउटा छ नि नेपाली अल्छि छ काम गर्दैन टायरमात्रै बाल्छ भनेर भनिन्छ । त्यो भएको भए त्यही नेपालीले बाहिर गएर कसरी गर्छ त किन संसारभर नेपालीहरुको माग हुन्छ त हामीजस्तो मेनेजरहरु लिडरहरुको त्रुटीले गरेर नेपालीले नेपालमा काम गर्न सक्दैन । नेपालीको अल्छिपनाले गरेर होइन । नेपाली त जहाँ गएर पनि पसिना बगाएर संसार बनाइरहेको छ । नेपाल किन नबनाउनु यहाँ हामीले वातावरण बनाउन सकिरहेका छैनौं । उहाँहरुले जसरी दुवई मलेसियामा काम गरिरहनुभएको छ । त्यस्तै नेपालमा काम गर्नको लागि वातावरण हामीजस्तो मेनेजर राजनीतिक नेता आर्थिक नेताहरुले बनाउने हो । र आउने दिनहरुमा नेपाललाई अहिलेकॊ ठाउँबाट अगाडि बढाउने हो भने त्यो बोझ हामीले बोक्नुपर्छ । त्यो वातावरण बनायो भने नेपाली दाजुभाईले यहाँ पसिना बगाएर स्वर्ग बनाइदिन्छन् । त्यो बनाउने काम च हाम्रो हो जस्तो लाग्छ मलाई ।

सबै मानिसहरु नेपालमा केही सम्भावना छैन भनेर निराश छन् नि ?

जो मानिस काम गरेर आफ्नो जिन्दगी बनाउन खोज्छ नि । त्यो पसिना बगाएर होस् या दिमाग चलाएर होस् । उसले के देख्यो भने यहाँ त्यो वातावरण छैन । हामीले त्यो वातावरण दिन सकेका छैनौं । त्यही भएर यहाँ काम नगरी सतीले सरापेको देश भनेर बस्ने कि आफ्नो जीन्दगी बनाउन विदेश जाने नेपाली कोहीलाई पनि विदेश जाने रहर छैन । अहिले लाखौं नेपाली बाहिर छन् । मेरो पनि बुबा मुमा पनि पहिले बाहिर होइबक्सिन्थ्यो । बुबा यूएनमा मुमा परराष्ट्रमा भएकोले । उहाँहरु आफ्नो करियर बनाउन बाहिर जानुभयो । तर त्यसको प्रभाव परिवारमा पर्छ नि त्यो चाहिं नेपालीले त्यति बुझेका छैनन् । गाउँ गाउँमा फलानोको छोरा श्रीमान बाहिर छ यस्तो पैसा पठाउँछ भन्छन् नि । तर त्यो बाहिर हुँदा यता परिवारमा नराम्रो प्रभाव परिरहेको हुन्छ । परिवार बाहिर हुँदा परिवारका बच्चाहरुमा पर्ने प्रभाव आँसु र पीडा म बुझ्छु । मानिसहरु पैसा मात्रै देख्छन् नि त्यो होइन ।

तर पनि म त बाहिर जानूस् भन्छु । यहाँ भएको मानिसलाई त काम छैन । बाहिर जान नदिएर यहाँ राखेर के गर्ने बाहिर गएर दुईवटा कुरा आउँछ । हामी रेमिट्यान्समात्रै भनिरहेका छौं तर सीप पनि त सिकिरहनुभएको छ । यहाँ संविधान लेखियो सरकार बनाउन सकियो र राम्रो वातावरण वनाउन सकियो भने नेपाली फर्किन्छन् । पूँजी र सीप दुवै चिज लिएर फर्कन्छन् र नयाँ नेपाल बनाउन योगदान गर्न सक्छन् । अहिले बाहिर जानुभएन भने िझंगा मारेर बस्ने भन्दा केही काम छैन । यो त म उहाँहरुको एउटा ठूलो बलिदान भन्छु म त । देश छॊडेर बाहिर गएर पनि गरिरहनुभएको छ । त्यो देशको लागि छोटो समयको लागि राम्रो नहोला । तर पछि राम्रो हुन्छ । भारतमै हेरौं । ७० ८० को दशकमा कति मानिस बाहिर जान्थे । अहिले फर्किरहेका छन् । पूँजी र सीप लिएर । नेपालमा पनि हामी वातावरण बनाउन सक्षम भयौं भने उहाँहरु फर्किनुहुन्छ जस्तो लाग्छ ।

नेपालमा लक्ष्यको लागि संघर्ष गर्ने जनशक्तिको चाहिं कमी भएको हो ?

मैले पनि जागिर सुरु गर्दा ३ हजार पाँच सयमा जागिर सुरु गरेको हुँ । अहिले यहाँसम्म आइपुगेको छु । म एक-एक खुट्किला गरेर माथि चढ्दै आएको छु र कहिले चिप्लेको पनि छु । चिप्लिदा एक दुई खुट्किलामात्र चिप्लेको छु । किनभने आफैं चढेर आएको खुट्किला हो । यदि बाबुले फोन गरेर या भनिदिएर आएको भए आफूमाथि नै विस्वास हुँदैनथ्यो । पहिले यत्रो सम्पर्क छ जनरल मेनेजर बन्नको लागि फोन लगाऔं भन्ने कुरा पनि नभएको होइन । तर मैले त्यो गर्न चाहिन । त्यो भएको भए म कुर्सी समातेको समातेकै हुने थिएँ । किनकि आफूमाथि विस्वास हुने थिएन । बाबुले फोन गरेर पाएको कुर्सी चिप्लियो भने त अर्को कुर्सी पाउने सम्भावनै हुन्न । भनेपछि कुर्सी समाउने बाहेक लक्ष्यको त कुरै हुँदैन । त्यसैले आफूमाथि जसको विस्वास हुन्छ त्यो मानिस लक्ष्यको पछाडि दौडिन सक्छ । तर जसले पहिले नै अरुको काँधमा बसेर काम गर्छ । ऊ त त्यही मानिसको लक्ष्यको पछाडि दौडिनुपर् यो । उसको आफ्नो लक्ष्य नै हुँदैन र हुन सक्दैन । जसको काँध हो उसैको लक्ष्य हुन्छ । अर्को अहिले महत्वकांक्षा र आशा पनि बढी भएर होला एक-एक खुट्किलाबाट माथि चढ्ने होइन कि एकैचोटी हेलिकप्टरबाट गएर सगरमाथाको शिखरमा झण्डा गाडौं न भन्ने प्रवृत्ति देखिएको छ । तर त्यो नेपालमा मात्रै हो । उही नेपाली बाहिर गयो भने एक एक खुट्किला हुँदै माथि उक्लेर कहाँ कहाँ पुगिरहेको हुन्छ ।

बैकिङ्ग क्षेत्रमै फर्कौं । यो क्षेत्रमा राज्यले के गर्नुपर्छजस्तो लाग्छ?

बित्तिय संस्था क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो । जसरी मुटुले रगत हाम्रो अंग अंगमा पठाउँछ । त्यसैगरी वित्तिय संस्थाहरुले पनि आर्थिक रगत अर्थतन्त्रको अंग अंगमा पठाउने हो । त्यो भएर जति सक्षम वित्तिय संस्थाहरु भए त्यति सक्षम अर्थतन्त्र हुने हो । अहिले नेपाल बैंक राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकलाई आधुनिकीकरण गरेर उत्पादनशील बनाउन नसकेसम्म अनिल शाहले मेघा बैंकलाई जति राम्रो बनाए पनि अर्थतन्त्र राम्रो हुन सक्दैन । जुन दिन यी बैंकहरु सक्षम भएर अगाडि बढ्छन् त्यो दिनदेखि नेपालको वित्तिय क्षेत्रमा क्रान्ति आउँछ । त्यसैले सरकारको ध्यान यसतर्फ जानु आवश्यक छ । अर्को वित्तिय क्षेत्रमा जुन व्यवसायिकता र पारदर्शिता छ त्यो अरु क्षेत्रमा छजस्तो लाग्दैन । अरुले पनि पैसा बनाउँछन् र कर तिर्छन् । त्यहाँ यो पारदर्शिता कसरी लाने भनेर सरकारले प्रयत्न गर्नुपर्छ । किनभने पछिल्लो दशबर्षमा धेरै ठूलो आर्थिक विकास भएको छ नेपालमा । विभिन्न समस्याहरुको बाबजुद पनि नेपालको नीजि क्षेत्र व्यापारीवर्गहरु धेरै अगाडि बढेका छन् । तर वित्तिय क्षेत्रजस्तो व्यवसायिक र पारदर्शी नभएकोले अगाडि बढेको देखिएको छैन । त्यो प्रयास सरकारले गर्नुपर्छ ।

यहाँ वित्तिय संस्थाहरु खुल्ने क्रम जारी छ तर नयाँ कन्सेप्ट खासै आएको पाइदैन नियहाँहरुले चाहिं कसरी ल्याउनुभयो ?

खुवा खाइरहेको मानिसलाई मही खान गाह्रो हुन्छ । हामी त नयाँ आयौं । खुवा देख्न पनि पाएनौं । महीतिर नै लाग्नुपर् यो । सोच पनि नयाँ हो र बाध्यता पनि । अरु बैंकले गरेको कामजस्तै गछौं भन्यौं भने हामी सफल हुन सक्दैनौं । हामीले स्याफ्रुबेसीमा शाखा खोलेको छौं । चिलिमे हाइड्रोपावरको शेयर रसुवाको बासिन्दालाई दिने भन्यो तर त्यहाँको बासिन्दाले २७ करोड उठाएर शेयर किन्ने अवस्था थिएन । त्यसो भएपछि के हुन्थ्यो भने उही मान्छेहरु गएर उनीहरुलाई केही दिएर शेयर यहीं काठमाडौ फर्किने सम्भावना भयो । त्यो देखेर हामीले त्यहाँ शाखा पनि खौल्यौं । लोन पनि दियौं । हामीले १०/१५ हजार ग्राहक पनि बनाएका छौं । अहिले लोन लिएर उहाँहरुले त्यो शेयर लिनुभएको छ । त्यसैगरी हरिवनमा पनि शाखा खोलेका छौं उखु किसानहरुका लागि । हामीले बाटो बनाउने हो । बाटो बनाएर देखाएपछि अरु पनि पछि पछि आउँछन् । तर यो बाटो बनाउनको लागि हामीजस्तै बैंक चाहिन्छ । किनभने ३÷४ जना पहिलकै सोच भएको मानिसले गरेको बैंक भएको भए सिइओलाई पनि यसो के गर्नुभएको जे पहिला चलेको छ त्यतै लाग्नुस् । अरु बैंकको ग्राहक तान्नेतिर लाग्नुस् । कहाँ हरिवनतिर लाग्नुभएको भन्थे होला । तर हाम्रो सोच नै नयाँ भएकॊले यसो हुन सकिरहेको छ । म त यो एउटा आर्थिक मोडल नै हो भन्छु । अर्थतन्त्रको पिरामिड हुन्छ नि । सबैभन्दा माथि पूँजीपतिहरु त्यसभन्दा तल मध्यम वर्ग र तल निम्न वर्गका मानिसहरु रहेको । त्यसका रहने माथिल्लोदेखि तल्लो वर्गसम्मलाई हामी सेवा दिन सक्छौं । कुनैले माथिमात्रै कुनैले तलमात्रै र कुनैले बीचमा मात्रै गर्छौं भन्छन् नि । तर हामीले चाहिं सबैलाई सेवा दिन सक्छौं ।

 

नेपालमा भएको पूँजी पनि सिर्जनशील ढंगले प्रयोग गर्ने जनशक्ति छैन भन्छन् निके लाग्छ यहाँलाई ?

त्यस्तै त होइन । नेपालमा क्षमता भएको मानिस पनि छन् । तर जहाँ बढी रिटर्न आउँछ पूँजी त्यही जान्छ । नेपालमा त्यस्तो रिटर्न आउने सम्भावना कम भयो भने पूँजी बाहिर जान्छ । मानिसहरु बाहिरको लगानी कसरी नेपालमा भित्राउने भनेर सोचिरहेका छन् । तर म त भन्छु कि त्यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने नेपालबाट बाहिर गइरहेकोको पूँजी कसरी यहीं रोक्ने र नेपालबाहिर रहेको नेपालीको पूँजी नेपालमा कसरी ल्याउने भन्ने बिषयमा सोच्नुपर्छ । अनिमात्रै विदेशीले यहाँ पूँजी राख्छ । म त हाम्रो निजी क्षेत्रमाथि निकै विस्वास राख्छु । किनकि उहाँहरुले यस्तो स्थितिमा पनि आफ्नो बुद्धि चलाएर जे गरेर भएपनि अगाडि बढिरहनुभएको छ । अरु देशमा भएको भए प्याकअप गरेर भागिसक्नुहुन्थ्यो होला । तर जो वित्तिय संस्थाहरुमा छ नि पारदर्शिता कर तिरेर पनि पैसा बनाउन सक्ने रहेछ भन्ने वातावरण बनाउनुपर्छ । त्यो विस्तारै हुन्छ जस्तो लाग्छ । अलि चाडै भइसक्थ्यो होला । संविधान नभएर पनि अलि ढिला भएइरहेको छ । हामी बैंकर डक्टर इन्जिनियर जोसुकै भएपनि जुन जरा समातेर अगाडि बढिरहेका छौं त्यो जरा राजनीति नै हो । त्यो जरा मजबुत नभएसम्म चाहिं जुन रºतारमा अगाडि बढ्न सक्थ्यौं । त्यो रफ्तारमा अगाडि बढ्न सक्दैनौं । संविधान बन्यो त्यसबाट संसद बन्यो र सरकारको निर्माण भएपछि त्यो बन्छ जस्तो लाग्छ मलाई ।

अहिले वित्तिय संस्थाहरु खुल्ने क्रम निकै तीव्र छ । प्रतिष्पर्धा कत्तिको छ ?

बैंकहरुको संख्या धेरै भएरमात्रै हुँदैन । वित्तिय संस्थाहरुको संख्या धेरै होइन संस्था ठूलो हुनुपर्छ र यसको स्थायित्व हुनुपर्छ । किनभने यो सर्वसाधारणकेा पूँजी लिएर अगाडि बढ्ने संस्था हो । यसमा प्रतिष्पर्धा राम्रो हो तर त्यो अस्वस्थ हुनु भएन । त्यस्तो भयो भने समस्या हुन्छ । त्यसैले सरकारले पनि मर्जर र अक्विसनतिर लाग्ने भनेर विचार गर्न सुरु गरिसकेको छ । बैंकहरुले पनि यताउता हेर्ने क्रम सुरु भइसकेको छ । मलाई लाग्छ अब यो क्रम सुरु हुन्छ होला । एकदुईवटा सक्षम भएपछि सबै त्यतैतिर लाग्छन् होला । र आउने दिनहरु कम संख्यामा तर ठूलो संस्था नेपाल बैंक बाणिज्य बैंक जस्तो संस्थाहरु आउलान् । यसको लागि समय लाग्छ । अहिले मानिसहरुले बुझिरहेका छन् कि यो बैंक भनेको कुनै ट्रेडिङ्गजस्तो होइन । त्यसैले अब यसको संख्याभन्दा पनि गुणस्तर बढ्दै जान्छ जस्तो लाग्छ ।

प्रस्तुती  : कला अनुरागी

प्रतिक्रियाहरु

कुरो त सहि हो तर यो कसरि सम्भब हुन सक्छ माथि पुग्ने माथि माथि तलकाले हेरेको हेरै ....................

- parbatee shrestha : dhading

अनिल शाह आर्थिक क्रान्ति को कुरा गर्छ तर उ आफु चाही एक महिनाको तलब १४ लाख भन्दा माथि खान्छ जुन मेगा बैंक को सम्पूर्ण साखा उप साखा कर्मचारी हरुको जम्मा तलब बराबर हुन्छ तेसैले जब सम्म नेपालमा सी यी ओ हरुको तलब अनन्य कर्मचारी हरु सरह हुँदैन नेपालमा आर्र्थिक क्रान्तिको सम्बप होइन बन्किंग सेक्टर ..मा पहिले क्रान्ति ल्याउनु पर्ने जरुरि देखिन्छ ..

- Ram Raj Raya : sindhupalchok, Ramche-3


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box