ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, माघ ७- साइटिस महासन्धिले ओसारपसारमा प्रतिबन्ध लगाएको वनस्पति रक्तचन्दन र सुनाखरीको तस्करी रोक्न प्रहरीलाई यससम्बन्धी वन तालिम दिन थालिएको छ। प्रहरीले ज्ञान अभावमा चन्दन र सुनाखरी पहिचान गर्न नसक्दा तस्करी नियन्त्रण गर्न नसकेको निष्कर्ष निकाल्दै यस्तो तालिम दिन थालिएको हो।
जिल्ला प्रहरीले वन कार्यालयको सहयोग लिएर तालिम उपलब्ध गराएको हो। वन विज्ञले प्रहरीलाई चन्दन र सुनाखरीबारे तालिम दिएका छन्। प्रहरीले पहिलो पटक तस्करी रोक्न वन कार्यालयको सहयोग लिएको हो। 'तस्करी रोक्ने अभियानकै रुपमा प्रहरीलाई तालिमको व्यवस्था गरेका हौं'- प्रहरी प्रमुख डिएसपी राजेन्द्रकुमार थापाले नागरिकसँग भने।
प्रहरीले रक्तचन्दन र सुनाखरी चिन्न नसक्दा तस्करीमा सघाउ पुगेकाले यससम्बन्धी तालिमको आवश्यकता देखेको उनले बताए। पहिलो चरणमा अरनिको राजमार्गमा खटिने अधिकृतसहित १५ प्रहरीलाई तालिम उपलब्ध गराइसकिएको छ। जिल्ला वन कार्यालयमै बोलाएर उनीहरुलाई विज्ञले तालिम दिएका थिए। रक्तचन्दन र सुनाखरी चिन्ने तरिका, साइटिस महासन्धि, यसको ओसारपसार रोक्नुपर्नाका कारणलगायत् विषयमा तालिम उपलब्ध गराइएको छ। विभिन्न चरणमा गरेर राजमार्गमा खटिने सबै प्रहरीलाई यस्तो तालिम दिने डिएसपी थापाले बताए। 'राजमार्गमा जाने प्रहरीलाई तालिमपछि मात्र पठाउने व्यवस्था गर्छौं'- उनले भने।
तालिम दिएको भोलिपल्टै सोमबार प्रहरी पहिचानका आधारमा नौ केजी सुनाखरी बरामद गर्न सफल भएको छ। ना २ ख १३९६ नम्बरको बसमा राखेर खासा लैजाँदै गर्दा सीमा प्रहरी कार्यालय लार्चाले सुनाखरी बरामद गरेको थियो। 'तालिमको उपलब्धि देखियो'- थापाले यस्ता तालिम तस्करी नियन्त्रण गर्न सघाउने विश्वास व्यक्त गरे। पछिल्ला एक सातामा मात्र प्रहरीले तीन पटक गरी २ सय १७ किलो सुनाखरी बरामद गरिसकेको छ।
प्रहरीसँग लाइन मिलाएर ठूलो परिमाणमा चन्दन चीन लैजाने प्रयास भइरहेको चर्चा चलिरहेका बेला जिल्लामा भने नियन्त्रण गर्ने सुरक्षा रणनीति अघि सारिएको छ। गत पुस १८ गते मात्र प्रहरीले रक्तचन्दन तस्करी रुट मानिएको सीमा नाका तातोपानीको बोक्चेन गाउँमा सुरक्षा पोष्ट स्थापना गरेको थियो। बुधबार मात्र काभ्रेको दोलालघाटमा स्थानीय बासिन्दाले १४ गिँड रक्तचन्दन बरामद गरेर प्रहरीलाई बुझाएका थिए। बरामद भएपछि पहिलो पटक २०५९ मा तातोपानी नाका भएर चन्दन तस्करी भइरहेको खुलेको थियो। तत्कालीन भन्सार प्रमुख केवलजङ्ग भण्डारीको पालामा 'रेडवुड' को नाममा रक्तचन्दन खासा जान्थ्यो। त्यसयता ठूलो परिमाणमा चन्दन चीन पुर्याइएको छ।
२०५९ यतामात्र चीन तस्करी गर्न लागिएको ३२ हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकबाट मात्र बरामद गरिएको छ। अहिले पनि चोरी बाटो भएर स–साना परिमाणमा चन्दन तस्करी हुँदै आएको स्रोतले बतायो। चन्दन तस्करी हुने रुटको रुपमा हेरिएको काभ्रे र सिन्धुपाल्चोकमा एकैपटक काजमा नयाँ डिएसपी पठाइनुलाई कतिपयले चन्दन खासा लैजाने रणनीतिका रुपमा चित्रण गर्दै आएका छन्। काभ्रेका डिएसपी सुरेन्द्रप्रसाद मैनाली र सिन्धुपाल्चोकका वसन्तकुमार लामालाई व्यवस्थापन तालिममा पठाइएको छ। उनीहरुको ठाउँमा काभ्रेमा चक्रबहादुरसिंह ठकुरी र सिन्धुपाल्चोकमा राजेन्द्रकुमार थापा काजमा छन्।
व्यापारिक स्रोतका
अनुसार चीन निकासी गर्न राजधानीमा ठूलो परिमाणमा रक्तचन्दन गोदाम गरेर
राखिएको छ। साना परिमाणमा लैजान निकै कठिन र खिर्चिलो भएकाले एकै पटक ठूलो
परिमाणमा लैजान गृह प्रशासनमा लाइन मिलाउने भरमग्दुर प्रयास भइरहेको छ। गत
जेठमा रक्तचन्दनमा लगानी गर्न भन्दै सिन्धुपाल्चोकको खाडीचौर, तातोपानीमा
करोडभन्दा बढी रकम सङ्कलन गरिएको थियो।
स्रोत : नागरिक न्युज डट कम