स्थानिय समाचार

मांखाको वृद्धको अपहरण गरी हत्या

2012-01-19 08:06:38 | ध्रुव दंगाल

ध्रुव दंगाल, सिन्धुपाल्चोक, माघ ५- खाडीचौर बजारमा खसी बेचेर घर फर्कंदै गरेका मांखा-९ का एक वृद्धको अज्ञात समूहले हत्या गरेको छ। घर नजिकको देउराली जंगलमा बिहीबार सबेरै शव भेटिएका ५० वर्षीय यमप्रसाद तिमिल्सिनाको अपहरणपछि हत्या गरिएको अनुमान प्रहरीले गरेको छ।

घटनास्थल पुगेको प्रहरी टोलीको प्रारम्भिक अनुसन्धानले बुधबार राति नै उनको अपहरणपछि हत्या भएको देखाएको छ। बुधबार बिहान खाडीचौरमा खरी बेचेर फर्केका उनी घर नआएपछि परिवारले खोजी गर्दा बिहीबार मिर्मिरेमै घरबाट आधा घण्टा दूरीको जंगलमा शव फेला पारेको हो। घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय बाह्रविसेको टोली बिहान ६ बजेतिर देउराली जंगल पुगेको थियो।

बाह्रविसेका इन्स्पेक्टर बालाजी रायमाझीका अनुसार मृतकको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ भने जुत्ताको तुना काटिएको छ। 'घटनास्थलको प्रकृति हेर्दा कुटपिट गरेर भीरबाट खसाली दिए जस्तो देखिन्छ,' त्यहाँ पुगेको प्रहरी टोलीले बतायो। पोष्टमार्टमका लागि मृतकका शव प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा राखिएको छ।

प्रहरीका अनुसार यमप्रसादकै प्रत्यक्ष निगरानीमा खाडीचौरमा खसी काटिएको थियो। ११ धार्नी मासुको हिसाब टुंगो लगाएर उनी रकम पछि लिने शर्तमा घर फर्केका थिए। नौविसे बजारमा आफ्नी सानीआमाका छोरा (भाइ) शिव सापकोटासँग चिया र खाजा खाएर उनी साँझ चार बजेतिर घरजान उकाले लागेका थिए। पारिवारिक स्रोतका अनुसार राति आठ बजेपछि मात्र उनको हत्या भएको हो। राजधानीमा बस्ने मृतकका भाइले राति आठ बजे यमप्रसादको मोबाइलमा फोन गर्दा उनले आफूलाई दुई जना युवाले नियन्त्रणमा लिएको बताएका थिए।

भाइसँग भएको कुराकानीकै आधारमा खोज्दा शव भेटिएको हो। मृतकको साथबाट नगद ५ सय रुपैयाँ फेला परेपनि मोबाइल भने नभटिएको इन्स्पेक्टर रायमाझीले जानकारी दिए। मृतक यमप्रसादका अर्का भाई चन्द्रप्रसाद तिमिल्सिनाको दुई वर्षअघिको माघमै हत्या गरिएको थियो। घर नजिकै शव भेटिएका चन्द्रप्रसादका आफन्तले मुद्दा लडेपनि अभियुक्तले जितेका थिए। सोही समूहले नै अहिले दाजुको पनि हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

मृतकका छोरा ज्ञानेन्द्रले बिहीबारै बाह्रविसे प्रहरीमा जाहेरी दिएका छन्। जाहेरीमा कसैको नाम नलेखिएपनि हत्या नै भएको उल्लेख गरिएको छ। रायमाझीले अनुसन्धान थालिसकेकाले छिट्टै बास्तविकता पत्ता लाग्ने विश्वास गरे।

साभारःनागरिकन्यूज


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box