ध्रुव दंगाल, सिन्धुपाल्चोक
खासामा प्रतिलिटर पेट्रोलको १ सय १५ र डिजेलको १ सय ५ रुपैयाँ तिर्नुपर्ने व्यवसायी अर्जुन सापकोटाले बताए। तर तातोपानीमा उपभोक्ता पेट्रोललाई १ सय ५० र डिजेललाई १ सय ३० रुपैयाँ तिरिरहेका छन्। नेपालमा हाल पेट्रोल र डिजेलको प्रचलित दर क्रमशः १ सय पाँच र ७५ रुपैयाँ छ। उपभोक्ता चिनियाँ पेट्रोललाई यहाँको भन्दा ४५ र डिजेललाई ६५ रुपैयाँ बढी तिर्न बाध्य छन्। नेपाली बजारमा पेट्रोलियम पदार्थ अभाव भइरहेको बेला तातोपानीमा छ्याप्छ्याप्ती किन्न पाइन्छ। यहाँ अभाव हुँदा नाकामा चिनियाँ पेट्रोलियम पदार्थको कालोबजारी फस्टाउने गरेको छ।
चिनियाँ सामग्री लिन खासा पुग्ने कन्टेनर भ्यानले फर्कँदा ट्यांकीभरि ल्याउने डिजेल, पेट्रोल तातोपानीमा बेच्ने गरेका हुन्। २ सय ६० लिटर जाने ट्यांकीको सबै तेल खन्याएर कन्टेनरले भने यतैको सस्तो राख्ने गरेको व्यवसायीले बताए। यसबापत कन्टेनरलाई १० लिटर तेल वा सो बराबरको रकम दिने गरिएको छ। कतिपय कन्टेनरले व्यवसायीकै आग्रहमा ल्याइदिन्छन् भने केही कन्टेनर मजदुरको कामै यही बनेको छ। बाह्रबिसे, खाडीचौरसम्म पनि चिनियाँ पेट्रोलियम पदार्थ पाइन्छ।
अभावको बेलामा मात्र होइन नाकामा आयल निगमको आधिकारिक बिक्रेता नभएकाले अघिपछि पनि चिनियाँ पेट्रोलियम पदार्थको कालोबजारी भइरहेको छ। अरनिको राजमार्गको बाह्रबिसे र अँधेरीमा तीनवटा मात्र आधिकारिक विक्रेता छन्। नाका दिन दर्जनौं सवारी साधनमा चारसय बढी आन्तरिक पर्यटक आउँछन्। महंगोमा चिनियाँ पेट्रोलियम पदार्थ किन्नु उनीहरुको बाध्यता हो। संकटको बेलामा तातोपानीस्थित सरकारी कार्यालय तथा व्यवसायीका गाडीले समेत चिनियाँ पेट्रोलियम पदार्थ किन्छन्।
तातोपानी भन्सार प्रमुख निर्मलहरि अधिकारीले पनि नाकामा चिनियाँ पेट्रोलियम पदार्थको सहज बेचविखन भइरहेकोले उपभोक्ता ठगिइरहेको बताए। 'गाडीकै ट्यांकी ओसार्ने काम भइरहेको छ,' योबाहेक अन्य विकल्प नरहेको बताउँदै उनले भने। संकट टार्नुपर्ने बाध्यताले अभावको बेला कतिपय उपभोक्ता राजधानी र छिमेकी जिल्लाबाट समेत चिनियाँ पेट्रोलियम पदार्थको जोहो गर्न साधन लिएरै तातोपानी पुग्छन्।
Source : nagariknews.com