किशमा किशोर
चौतारा ६ मंसीर
केटीः खा'का छौ की पर् या छौ झुम्म
कस्का लागि धा'का छौ यहाँसम्म
सिन्धुपाल्चोक समृद्धिको आधार- जलश्रोत पर्यटन कृषि र व्यापार भन्ने मूल नाराका साथ सदरमुकामको चौतारामा भईरहेको सिन्धुपाल्चोक महोत्सवको तेस्रो दिन प्रचण्ड घामको लप्कोका बाबजुद पनि उर्लिएका जनसागर सुस्ताईसकेका अवस्था थिए । प्रतियोगितात्मक दोहोरी गीतको सिलसिलामा जब व्याआस अभियानका केटी समूहद्धारा दोहोरी गीतको शुरुवात भयो । विस्तारै शितल घोप्टिन लागेको मौसम एक्कासी तातेर आयो । अनि जागे आउला र खाउँला झैं गरि बसेका दर्शकहरु । सेकेण्डभरमै टुडिखेल बद्लियो । चहलपहल भयो । र दर्शकहरु प्रतिद्धन्दी सिर्जनशील युवा समूहको जवाफीलाई कान थापेर सुन्न थाले ।
केटाः दोहोरी गाउन खा'को छु झ्वाम्म
तिम्रै लागि आुको छु यहाँसम्म
जस्तालाई तस्तै । पहिलो नजरमै झ्याप भएको देख्ने केटीको सोधाईलाई संयौ दर्शकहरुका बीच केटाले पिएको कुरालाई स्वीकारे । र गीत मार्फत तिम्रै लागि यहाँसम्म आएको भन्नेसम्मको अभिव्यक्ति सार्वजनिक गरे हिम्मत जुटाएर ।
केटीः आउन तिम्ले गरेछौ लौन धौ
बाउ भनौ की भनौ म हजुरबाउ
दर्शक दिर्घामा हाँसोको फोहोरा छुट्यो । निरन्तर तालीका पर्राहरु छुटे र छुटिरहे । दोहोरी गीत मार्फत भएको चोटिलो र घतलाग्दो भाव बुझेर दर्शकहरु दंग परे पनि । महोत्सव अवलोकन गर्न गाँउका कुनाकाप्चा कन्दरादेखि ओइरिएका दर्शकहरु प्रचण्ड रापको प्रवाह नगरी दोहोरी गीत सुनिरहे । एकले अर्कालाई गरेको रमाईलो गीति संवाद सुनिरहे । दर्शक बनेर उभिईरहेकाहरु अब केटाहरुले कस्तो प्रत्रिउत्तर दिन्छन् भनेर पर्खिरहेका जस्ता देखिन्थे । यो मानेमा सम्पूर्ण दर्शकहरु गीतलाई चाख मानेर सुनिरहेछन् । गीतमाथिको गीतले सबैुाई उत्साही बनाईरहेको थियो । समग्रमा सिङ्गो वाताबरण फरक बनेको थियो ।
केटाः राम्रैसँग हेर न यता
मायाजालमा पारौला बाध्यता
माथिल्लो गीतको फुकीमा केटी समूह फन्किएको संकेत पाएपछि आफ्नो चाहनालाई सन्तुलित बनाउने प्रयासमा भूमिका बाँधी बाँधी केटा समूहले फकाउने षडयन्त्र गरेको हरफले बताउँछ । तर गीत मार्फत भावलाई संयोजन गरेर झटारो हान्न सिपालु केटी समूहले केटा समूहलाई लाचारी बनाउँदै यस्तो जवाफ दिए ।
केटीः कुरा सुन्दै रैनुछ निको चाल
म त सुन अर्कैको जुठो थाल
केटी समूहको यस्तो अभिव्यक्तिले केटा समूहको होस हवासै उड्नुपर्ने हो । आफ्नी चाहनाकी सुन्दरीले आफू अर्कैको जुठो थाल भएको घोषणा गरे पश्चात् मन हलचल हुनुपर्ने हो । तर त्यहाँ त्यस्तो भएन । केटा समूहमा झन् उत्साह बढेर आफ्नो गीतलाई कलात्मक बनाएर कस्ले जित्ने होडवाजीमा गीति प्रेमको लडाईमा लडिरहे निरन्तर ।
मदिराबाट सुरु भएको गीतले प्रेमको चरमतामा पुग्दा वास्तवमै दर्शक हौसिएका थिए । भनिन्छ नि संगीत विनाको जीवन अधुरो र अपुरो हुन्छ । संगीतले मानिसलाई हसाउँछ रुवाउँछ र नचाउँछ पनि । यो वाक्यलाई सिन्धुपाल्चोक महोत्सवको तेस्रो दिनको साँगीतिक माहौलले तथ्यमा परिणत गराईदियो ।
जब की दर्शकहरु खुलेर नाचेका थिए । साँच्चै संगीतले पीडाबोध पनि कम गरिदिदों रहेछ । हामी सामान्य रुपले नै सोच्न सक्छौ । के महोत्सवमा मनोराजन लिएर नाँच्ने हाँस्ने कसैको मनमा पीडा थिएन र ।