चौतारा, ५ मंसिर
सिन्धुपाल्चोक महोत्सवले आज तेस्रो दिनपनि चौतारा दिनभर तातिरहेको छ। जिल्ला तथा जिल्ला बाहिरबाट आएका अवलोकनकर्ताहरुको बढ्दो भीडले महोत्सव भव्य बनिरहेको छ। तेस्रो दिन सोमबार पर्यटन र साहित्य विशेष कार्यक्रम सम्पन्न भएका छन।
साहसिक खेलको प्रवर्दन गर्न आयोजकले सोमबार दलका नेता, सरकारी कर्मचारी, उद्योगी व्यवसायी लगायतलाई सुनकोसीमा र् याफ्टिङ गराएको छ । यसैगरी सरोकारवालालाई ऐतिहासिक नेपाल-तिब्बत युद्धकिल्ला दुगुनागढीको भ्रमण गराइएको छ ।
यसैबिच सोमबारै साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय तथा जिल्लास्तरका साहित्यकारहरुले कविता वाचन गरेका थिए। आईतबारबाट शुरु भएको लोकदोहोरी प्रतियोगिताले पनि निरन्तरता पायो।
लामोसाँगुको खेल मैदानमा सम्पन्न फुटबलको सेमिफाईनल खेलमा भैरवकुण्ड युवा क्लबले ग्रिनल्याण्ड बोर्डिङलाई ६-० ले पाखा लगायो भने बाह्रविसे क्याम्पसको नेविसंघको टोलीले साँगाचोक युवा क्लबलाई १२-० को विशाल अन्तरले हरायो।
महोत्सवकै आकर्षण हेलिकप्टर सफारीद्धारा सोमबारसम्म ७० भन्दा बढीले सिन्धुपाल्चोक भ्रमण गरेका छन् । एअर डाइनेस्टीको हेलिकप्टरले आइतबार र सोमबार गरी १४ उडानमा उनीहरुलाई घुमाएको हो ।
७० स्टलमा राखिएका उत्पादनको विक्री तथा प्रदर्शनीमा सोमबारपनि अवलोकन गर्नेको भीड उत्तिकै छ। महोत्सवकै अवसर पारेर मोबाइलसेवा प्रदायक कम्पनी स्मार्ट सेलले निशुल्क वितरण गरिरहेको सिमकार्ड लिनको पनि उत्तिकै भीड छ ।
मंसीर ३ देखि शुरु भएको महोत्सव ७ गते बुधबार राजनीतिक सहमतिमा घोषणापत्रको रुपमा सिन्धुपाल्चोक विकासको १० वर्षे कार्ययोजना सार्वजनिक सहित समापन हुने कार्यक्रम छ।