चौतारा/'सिन्धुपाल्चोक समृद्धिको आधार-जलस्रोत, पर्यटन, कृषि र व्यापार' भन्ने नाराका साथ सिन्धुपाल्चोक महोत्सव शनिवारबाट सदरमुकाम चौतारामा सुरु भएको छ । आज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले महोत्सवको उद्घाटन गर्नुभएको हो ।
मंसिर ७ गतेसम्म चल्ने महोत्सवमा स्थानीय कला, घरेलु उत्पादन, कृषि उपजका सामग्री, सूचना प्रविधि, शैक्षकि सामग्रीलगायतका स्टलहरु राखिएको छ ।
हेलिकप्टरमार्फत जिल्लाको पर्यटकीयस्थल तथा हिमशृङखलाहरुको अवलोकन, र्याफ्टिङ्ग, कायाकिङ, ट्राउट र असला माछाको परिकार, साहित्यिक जमघट, होमस्टे आदि महोत्सवको आकर्षण रहनेछन् । महोत्सवको अन्त्यमा सबै सिन्धुपाल्चोकको बिकासका लागि १० बर्षे गुरुयोजनासहितको चौतारा घोषणापत्र तयार गर्ने योजना बनाइएको छ । यसै अवसरमा सुनकोसीमा र्याफ्टिङ ,कायाकिङ र क्यानोनिङजस्ता साहसिक खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव उद्योग वाणिज्य महासंघ, सिन्धुपाल्चोक र नेपाल हिमालय सिमापार बाणिज्य संघको आयोजना तथा नेपाल पर्यटन बोर्ड र जिल्ला विकास समितिको प्रबर्द्धनमा भएको हो ।