मङ्सिर २ - जनसेनाको सर्वेक्षण र पुनःवर्गीकरण गर्न खटिएका सेना समायोजन विशेष समितिका प्राविधिक टोलीहरुलाई सबै शिविरहरूमा भब्य स्वागत गरिएको छ । बुधबार रा बिहीबार शिविरमा पुगेका प्राविधिक टोलीहरूलाई जनसेनाहरूले स्वागत गरेका हुन् ।
बुधबार राजधानीबाट शिबिरतर्फ हिडेका टोलीहरू राजधानी नजिकैका चितवन, सिन्धुली र नवलपरासीमा बुधबार राती नै र टाढा रहेका कैलाली, सुर्खेत, रोल्पा तथा इलाममा बिहीबार पुगेका छन् । सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माका अनुसार बिहीबार सबै मुख्य शिविरमा टोलीहरू पुगेर आवश्यक भौतिक पूर्वाधार तथा प्राविधिक व्यवस्थापनको तयारी गरिसकेका छन् ।
चितवन र नवलपरासीमा सबैजसो शिबिरमा प्राविधिक टोलीको बस्ने, खाने तथा कार्यालय सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण बिहीबार नै सम्पन्न गरिएको छ भने सर्वेक्षण र पुनःवर्गीकरणको कार्य आजैबाट सुरु गरिने बताइएको छ । त्यसैगरी कैलाली, सुर्खेत, रोल्पा, सिन्धुली र इलाममा आज आवश्यक भौतिक पूर्वाधार र अन्य व्यवस्थापनका कार्यहरू सम्पन्न गरी भोलिबाट सर्वेक्षण र पुनःवर्गीकरण कार्यको थालनी गरिने जानकारी प्राप्त भएको छ । प्राविधिक टोलीको नेतृत्व सेना समायोजन बिशेस समिति सचिवालयका १२ जना सदस्यले गर्नुभएको छ भने टोलीमा १२० जना कर्मचारी रहेका छन् । चितवनको शिविरमा सचिवालय संयोजक बालानन्द शर्मा, कैलालीमा सचिवालय सदस्य गोपालसिंह बोहरा, सुर्खेतमा डा. दीपकप्रकाश भट्ट, नवलपरासीमा सदानन्द कुर्मी, सिन्धुलीमा माओवादीका नेता चन्द्रप्रकाश खनाल 'बलदेव' र रमानन्द मिश्र, इलाममा शम्भु सिम्खडा र नेपाली सेनाका हरि बस्नेतले नेतृत्व गरिरहनुभएको छ । हरेक टोलीमा १२/१२ जनाका दरले कम्प्युटर अपरेटर खटिएका सचिवालयले जनाएको छ ।
गत कार्तिक १५ गते प्रमुख राजनीतिक दलबीच शान्तिप्रक्रिया र संविधान निर्माण गर्ने सम्बन्धमा सातबुँदे सहमतिका आधारमा सेना समायोजन बिशेस समितिले निर्धारण गरेको जनसेनाको समायोजन, पुनःस्थापना तथा स्वैच्छिक अवकाशको विस्तृत कार्ययोजना अनुसार प्राविधिक टोलीहरू शिविर पुगेका हुन् ।
कैलालीमा तीन हजार ३१०, सुर्खेतमा तीन हजार ८८, रोल्पामा दुई हजार ४२८, नवलपरासीमा तीन हजार ३९, चितवनमा तीन हजार ९१९, सिन्धुलीमा एक हजार ६५८, इलाममा एक हजार ९३० र राजधानीमा विभिन्न स्थानमा सुरक्षार्थ १५३ जना जनसेना रहेका सचिवालयले जानकारी दिएको छ ।