ऋषिराम पौड्याल
सिन्धुपाल्चोक, आश्विन ६
करोडौं रुपैयाँ खर्चेर निर्माण पूरा भएको ५ वर्ष नबित्तै मेलम्ची आयोजनाको मुख्य प्रवेश मार्ग पुरानै स्वरूपमा परिणत भएको छ । गुणस्तरीय ग्राभलिङ गरिएको भनिएको सडक अहिले यातायात सञ्चालन गर्न समेत कठिन हुने अवस्थामा पुगेको छ ।
कम गुणस्तरको निर्माण संरचना, स्थानीय बासिन्दाको लापर्वाही र सुरुङ निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनीको बेवास्ताले मुख्य प्रवेश मार्गको मेलम्ची-तिम्बु खण्डअन्तर्गत १८ किमि सडक यस्तो अवस्थामा पुगेको हो । आयोजनाका उपकार्यकारी निर्देशक पूर्णदास श्रेष्ठका अनुसार उक्त सडक निर्माणका लागि ४० करोडभन्दा बढी रकम खर्च भएको
छ । 'कालोपत्रे मात्र नभएको हो,' श्रेष्ठले दाबी गर्दै भने, '६ इन्चको गुणस्तरीय ग्राभलिङ गरिएको थियो । सडक विग्रनुमा एउटालाई मात्र दोष दिन मिल्दैन ।' उनले स्थानीय बासिन्दाले पनि सडकको हेरचाहमा उचित ध्यान नदिएको बताए । मेलम्ची-तालमाराङ र ग्याल्थुम-तिम्बु खण्ड सडकको अधिकांश माग सिंचाइ कुलोमा परिणत भएको छ । नाली प्रायः भत्केको छ । कतिपय स्थानमा स्थानीयले खनेको सडकको पहिरोले रिटेनिङवाल भत्केको छ भने ठूलाठूला खाल्डा बनेको छ । सडकको माथिल्लो तहमा राखेको ग्राभल बगाएर सडक छियाछिया बनायो ।
मेलम्ची गाविसका पूर्वअध्यक्ष धर्मकृष्ण श्रेष्ठ आयोजनाको बेवास्ताले सडक पुरानै अवस्थामा पुगेको बताउँछन् । 'सडकको काम स्थानीयले गर्न सक्ने होइन,' उनले भने, 'आयोजनाले पन्छाउने काम मात्र गरेको छ । आयोजनाले सुरुङ निर्माणको टेन्डरसँगै सडक मर्मत सम्भारको जिम्मेवारी चिनियाँ ठेकेदारलाई दिएको थियो ।' उपकार्यकारी निर्देशक श्रेष्ठका अनुसार ठेकेदारले सडक मर्मतका लागि बर्सेनि २ करोडभन्दा बढी रुपैयाँ लिने गरेको छ । 'सडक दुरुस्त राखेर यातायात सञ्चालन गर्न सहज बनाउनु ठेकेदारको दायित्व हो, श्रेष्ठले भने । स्थानीय बासिन्दाका अनुसार ठेकेदारले आफ्ना सामान लैजाने समयमा सफा गर्ने बाहेकका कुनै काम गरेको छैन । सुरुङ निर्माणका लागि चिनियाँ ठेकेदारले हेभी इक्विमेन्ट बोकेका सवारी साधन आवतजावत गर्छन् । यात्रु अब आयोजनाका गाडीहरू तथा निजी सवारी साधनको संख्या २ सयभन्दा बढी छन् ।