
२५ भदौ
शुक्रबार
दिउँसोबाट सार्वजनिक सम्पर्कबिहीन हुनुभएका माओवादी अध्यक्ष प्रचण्ड आज
दिउँसो बिराटनगरस्थित विमानस्थलमा सार्वजनिक हुनुभएको छ । तीन दिनसम्म उहाँ
कहाँ हुनुहुन्थ्यो भन्नेचाहिँ अझै खुल्न सकेको छैन । तर, उहाँले आफ्नो
भ्रमण गोप्य नभएको उल्लेख गर्नुभएको छ ।
विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफू पारिवारिक कामले आएको र थाहा पाउनु पर्ने सबैलाई जानकारी भएको बताउनुभयो । उहाँको कांग्रेस महामन्त्री कृष्ण सिटौलालाईसमेत आफ्नो भ्रमणको बारेमा जानकारी रहेको बताउनुभयो । शुक्रबार गोरखामा उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईसंगै पार्टीको कार्यक्रममा सहभागी हुनुभएका प्रसोही दिन काठमाडौं फर्केलगत्तै विराटनगर जानुभएको थियो । तर, स्थानीय नेता कार्यकर्ता तथा सुरक्षा अधिकारीहरुलाईसमेत जानकारी नभएका कारण अनेक अड्कल काटिएको थियो ।
यसैबीच अध्यक्ष प्रचण्डले केही दिनभित्रै शान्ति प्रक्रियामा नयाँ कदम चालिने बताउनुभएको छ । काठमाडौँ फर्कने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू काठमाडौं पुगेपछि नै यसको प्रक्रिया सुरु हुनेसमेत उहाँले बताउनुभयो । उहाँले संविधान निर्माणमा कुनै समस्या नरहेको दावी पनि गर्नुभयो । राज्य पुनर्संरचनाको कुरा अलि जटिल भएको र विज्ञ समूह बनाएपछि त्यो पनि हल हुने उहाँको भनाई थियो ।