Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

वैद्यको क्रियाकलापबाट उत्तेजित नहुन प्रचण्डको अपिल (विज्ञप्तिको पुर्ण पाठसहित)

2011-09-02 21:59:37 | मेरो सिन्धु

काठमाडौं, भदौ १६ । सेना समायोजन विशेष समिति मातहत माओबादी शिविरका हतियार भण्डारण गरिएका कन्टेनर ल्याउने भनि गरिएको निर्णयप्रति असन्तुष्ट बनेको उपाध्यक्ष मोहन वैद्य पक्षले निकालेको विज्ञप्तिप्रति माओबादीले स्तब्ध भएको जनाएको छ । सेना र हतियार विशेष समिति मातहात आउने केन्द्रीय समितिको सर्वसम्मत निर्णय भएपनि सो निर्णयको बर्खिलापमा वैद्यले विज्ञप्ति प्रकाशित गरेपछि माओबादी अध्यक्ष प्रचण्डले बिज्ञप्ति प्रकाशित गरि यसको विषयमा थप स्पष्ट पारेका छन् ।

(विज्ञप्तिको पुर्ण पाठ)

प्रेस वक्तव्य

हाम्रो एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) शान्ति, संविधान र देशको अग्रगामी रूपान्तरणप्रति प्रतिबद्ध रहेको कुरा सर्वविदितै छ । बृहत शान्ति सम्झौता, अन्तरिम संविधान र विभिन्न समयमा भएका सहमति–समझदारी र छलफलको आधारमा सम्मानजनक सेना समायोजन र संविधान लेखन प्रक्रियामा हाम्रो पार्टीको सक्रिय पहल रहेका कुरा पनि प्रष्टै छ ।

हाम्रो पार्टीको मिति २०६८ असार १० गतेदेखि श्रावण ९ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले शान्ति प्रक्रिया तथा संविधान निर्माण प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने बारे गरेको सर्वसम्मत निर्णयको परिधिभित्र रही यही भाद्र ८ गतेको स्थायी समितिको बैठकले पाँच बुँदे प्रस्ताव एवम् प्रतिबद्धतासमेत सर्वसम्मत रूपमा सार्वजनिक गरियो । ‘माओवादी सेनाका लडाकुहरूको समायोजन र पुनःस्थापनाबारे’ भन्ने बुँदामा ‘माओवादी नेतृत्वमा सरकार गठन लगत्तै लडाकु हातहतियार र कन्टेरन मूर्त रूपमा विशेष समितिलाई हस्तान्तरण गर्ने भन्ने निर्णय सर्वसम्मत भएको हो ।

क. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भइसकेपछि नेपाली जनतासामु प्रकट गरिएका  प्रतिबद्धताहरूलाई सम्मान गर्नु जिम्मेवार पार्टीको दायित्व भएकाले यही भाद्र १४ गते विशेष समितिको बैठक बसी “माओवादी सेनाका लडाकुहरू, हतियार र कन्टेनरलाई मूर्त रूपमा विशेष समिति मातहत ल्याउन विशेष समिति मातहतका सम्बन्धित शिविरहरूमा रहेका अनुगमन टोलीलाई २०६८ भाद्र १५ गते हस्तान्तरण गर्ने” भनि गरिएको निर्णय पार्टी निर्णय विपरित नभएको तथ्य स्पष्ट नै छ ।

यस सन्दर्भमा हाम्रो पार्टीका उपाध्यक्ष क. किरणले भाद्र १५ गते २०६८ का दिन प्रेस विज्ञप्ति जारी गर्दै विशेष समितिको निर्णय पार्टीको निर्णय विपरित भन्दै सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेको कुराले पार्टी स्तब्ध भएको छ । क. किरणद्वारा प्रकाशित वक्तव्य एवम् पार्टी पद्धति र निर्णय विपरितका क्रियाकलापबाट उत्तेजित नभई धैर्य एवम् दृढतापूर्वक आधिकारिक निर्णयका पक्षमा कायम रहन सम्पूर्ण पार्टी पङ्क्ति, जनमुक्ति सेना र आमजनसमुदायसित हार्दिक अपील गर्दछौं ।

१६ भाद्र, २०६८

प्रचण्ड

अध्यक्ष

एकीकृत नेकपा (माओवादी)


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box