शर्मिला ठकुरी/रासस
सिन्धुपाल्चोक।
‘दिनभरि पसिना काढेर मजदुरी गर्दा पनि जम्मा रु ५०
ज्याला पाइन्छ । त्यो पनि सधैंजसो काम पाइदैँन, कामको मौसममा मात्र हो ।
पचास रुपैयाँले अहिलेको महँगीमा के आउँछ र ? आफूमात्र बाँचेर भएन, परिवारको
पेटपनि त पाल्नै पर्यो नि ।’
सिन्धुपाल्चोकको उत्तरी भेगका महिलाका साँझा गुनासा हन् यी । दैनिक ज्याला मजदुरीसँगै यस्ता कैयौं प्रश्न उनीहरुका मनमा जन्मिइरहन्छन् । यी गुनासाले दैनिक छाक टार्नका लागि उनीहरुले गरिरहेका अन्त्यहीन सङ्घर्षका यथार्थ कथालाई उजागर गर्दछन् ।
यस्तै समस्याबाट आजित भएर वा यस्ता समस्यामा गाडिन नपरोस् भनेर कल्कलाउँदो उमेरका महिलाहरु विदेशिन बाध्य भएका छन् ।
यसैकारण सिन्धुपाल्चोक जिल्लाका अधिकाँश महिला गाउँ सुनसान बनाउँदै विदेशिएका छन् । यहाँका महिला विषेश गरी मजदुरीका लागि भारतका अतिरिक्त कुबेत, साउदीअरब र कतारलगायतका खाडी मुलुकमा कामका लागि जाने गरेका छन् ।
यसरी परिवार पाल्नका लागि भारत जानु कतिपय महिलाको बाध्यता हो भने कतिपयको छिटै लखपति बन्ने रहर । जेजस्ता कारणले भए पनि कामका लागि सिन्धुपाल्चोकका महिला देशका अन्य बाँकी ७४ जिल्लाका तुलनामा ठूलो सङ्ख्यामा विदेशिने गरेको पाइन्छ ।
जिल्लाको शेर्माथानकी बासिन्दा आङ्छिरिङ शेर्पा भर्खरै भारतको मुम्बईबाट फर्केकी हुन् । उनका कथा व्यथा सुनिनसक्नुका छन् । निकै भावुक हुँदै उनी यस पङ्तिकारसँग खुसुक्क भन्छिन्- ‘भारतको मुम्बईमा गएर काम गर्दा नर्कको जीवन बिताएको अनुभव गरेँ तर के गर्नु ? यो मेरो रहर थिएन, मलाई मेरै परिवारले विदेश गएर पैसा कमाउन बाध्य बनायो ।’
उनलाई उनका बाबुले नै विदेश पठाएका थिए । त्यसभेगका बाबुहरु छोरीलाई विदेश पठाउने र छोरीले उताबाट पठाएको खर्चले सजिलोसँग परिवार पाल्ने परिपाटी पुस्तौंदेखि चलाउँदै आएका छन् । जसका कारण अधिकाँश अविवाहित महिला विदेशिन बाध्य छन् ।
कतिपयलाई आर्थिक कारणले यस्तो बाध्यता नै भए पनि कति बाबुहरु त छोरीको धेरै कमाइबाट यहाँ सुखसयल गर्ने लालचाले पनि उनीहरुलाई विदेश पठाउने गरेका घटनाहरु पनि भुक्तभोगी महिलाहरु बताउँछन् ।
‘गाउँमा अरुका छोरी विदेश गएर पैसा कमाएको मात्र देख्छन्, पैसा कसरी कमाएकी छ र त्यसका लागि उसले के कस्ता पीडा भोग्नुपर्छ भन्ने कुरा आफ्नै बाबुआमा, दाजुभाइले त बुझ्दैनन्, अरुले के बुझ्लान?’- एक महिला मनको बह यसरी पोख्छिन् ।
‘अरुका छोरी विदेश गएर पैसा कमाएर घरमा पठाउँछन्, हाम्री भने घरमै बसिरहेकी छे, मेरो कर्ममा त छोरीको कमाइ खाने लेखेकै रैनछ’ भनेर बुबाले बारम्बार सुनाउने गरेपछि म पनि छिमेकीकी छोरीसँग मुम्बई गएकी हुँ’- हेलम्बुकी पेमा लामा भन्छिन् ।
लामाका अनुसार भारतको ठूलो सहर मुम्बईमा देहव्यापार गर्ने कोठी हुँदो रहेछ र त्यहीँ रहेर नेपाली चेलीहरू नानाथरीका ग्राहकको मनोरञ्जनको साधन बन्नुपर्ने रहेछ । त्यस नरकमा पुर्याइएका केटीहरुले ग्राहकले चाहे जसरी पूर्णयौन मनोरञ्जन दिन नसकेमा मालिक मालिक्नीको खप्की मात्र होइन कुटाइसमेत खानु सामान्य नै हुँदो रहेछ ।
यस्तै कोठीमा बस्नु नपरेपनि त्यस्तै प्रकृतिका समस्या खाडीमा जाने महिलाले पनि बेर्होनुपर्छ । कुबेतमा करिब चारवर्ष बिताएर नेपाल फर्केकी डोल्मा शेर्पाले कुबेतमा रहँदा मालिकको घरमा काम गर्नुपरेको र ती मालिकले आफूलाई मनलाग्दी व्यवहार गरेको दुःखेसो पोखिन् ।
उनका अनुसार मालिक मात्र होइन, मालिकको घरमा आएका पाहुनालाई समेत उनीहरुको इच्छा अनुसारको खाना बनाएर खुवाइसकेपछि शरिर पनि सुम्पिनु पर्ने बाध्यता उनले भोग्नु पर्यो ।
त्यस वापत पाउने गरेको केही थप रकम नै कमाइको रुपमा घर पठाउने गरेको उनले बताइन् । परम्पराकै कारण पनि त्यो क्षेत्रमा महिला विदेशिनु फेसन जत्तिकै बनेको छ । विदेशिएका महिला र तीनका परिवारको गाउँमा सम्मान र रवाफ बेग्लै हुनेगरेका कारण पनि त्यसकै लागि विदेश पलायन हुनु उनीहरुको अनिवार्यता नै भइसकेको छ ।
जो विदेश गएर पैसा कमाएर आएको छ उसकैमात्र गुणगान बढी हुने गरेको तर गाउँमै बनिबुतो गरेर सादा जीवन बिताउँनेहरुको कुनै इज्जत नहुने गरेका कारण पनि गाउँमा विदेशमोह जाग्ने गरेको बताउँछन् स्थानीय नोर्बू लामा । उनी भन्छन्-’यहाँका बुढापाका विदेश गएर आएको भनेपछि केटा होस् या केटी होस्, निकै मान गर्छन् र सम्बन्ध गाँस्नका लागि आतुर हुन्छन्, विदेश नगएकाहरुको भने कुनै वास्ता हुँदैन ।’
पछिल्ला केही वर्षदेखि सिन्धुपाल्चोकका बासिन्दा मात्र होइन अन्य जिल्लाका महिलामा पनि विदेशमोह निकै बढेको देखिन्छ । विदेशमोह बढनुको कारण गरिबी भएको धारणा व्यक्तगर्नु हुन्छ युनिफेम नेपालकी अध्यक्ष सरु जोशी ।
राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा गरिबी २५ प्रतिशतमा झरेको भनिए पनि अक्सफोर्ड युनिभर्सिटीको हालैको एक अध्ययनबाट नेपालमा गरिवको सङ्ख्या जनसंख्याको करिब ६५ प्रतिशत रहेको छ ।
जोशीका अनुसार घरका सम्पूर्ण काम महिलाले नै गर्नुपर्ने भएकाले उनीहरुलाई गरिबीको मर्का बढी महसुस हुनेगरेका कारण उनीहरु घरखर्च धान्नका लागि भए पनि विदेशिन अग्रसर हुन्छन् ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष सोमलाल बटाजुकाअनुसार आकर्षक सेवा सुविधाको प्रलोभनमा परेर पनि विदेशिनेको सङ्ख्या बढेको छ ।
मूलुकमा आयस्रोतको कुनै उपाय नभएर, श्रमको उचित मूल्य र कदर नपाएर, गरिबीमा बाँच्न नचाहेर पनि विदेश जाने महिलाको सङख्यामा पनि वृद्धि भएको विज्ञ बताउँछन् ।
विदेशमा गएर कस्तो काम गर्नुपर्छ भन्दा पनि विदेश गएर आएकाहरुले देखाएका फोस्रा रवाफले पनि विदेशिएर त्यस्तै नक्कल गर्न आतुर हुने गरेका छन् यहाँका महिलाहरु ।
विभिन्न संस्थाले निकालेको तथ्याङकअनुसार नेपालबाट काम गर्न विदेश जाने महिलाको सङ्ख्या झन्डै एकलाख रहेको छ । त्यसमध्ये अधिकांशले घरायसी काम गर्ने गरेको तथ्याङ्क छ ।
भारतबाहेक अन्य मुलुकमा जाने महिलाको सङ्ख्या ६७ हजार रहेकोमा तीनहजार नेपाली महिला मात्र संस्थागत रुपमा कानुनी प्रक्रिया अन्तर्गत गएका छन्- भने अन्य गैरकानुनी रुपमा गएका छन् ।
यसरी गएका महिलाहरुले विशेषगरी घरायसी काम, होटल रेष्टुरेन्टमालगायतका स्थानमा काम गर्नेगरेको पाइएको बताउनुहुन्छ-अध्यक्ष बटाजु ।
वैदेशिक रोजगारी आफैंमा नराम्रो होइन, न त कुनै अपराध नै हो । तर गैर कानुनी ढङ्गले विदेश गएर बिचल्लीमा पर्नु र कामको प्रकृति नै बिचार नगरी पैसा कमाइन्छ भन्ने भ्रममा परेर नारकीय जीवन बिताउन पुग्नुलाई भने पारिवारिकस्तरदेखि राज्यस्तरसम्मबाट निरुत्साहित गरिनु जरुरी भइसकेको छ । किनकी यो व्यक्तिको अस्तित्व मात्र होइन राष्ट्रको अस्मिता समेत गाँसिएको प्रश्न हो ।