दामोदर न्यौपाने
ठोकर्पा (सिन्धुपाल्चोक), अषाढ ४ -
नेपाली सेनाले ६ वर्षपहिले माओवादी कार्यक्रमस्थलमा हवाई आक्रमण
गर्दा क्षतिग्रस्त बाघभैरव उच्चमाविको भवन बनाउन विद्यालयले भारतीय
दूतावासलाई आग्रह गरेको छ । दूतावास सकारात्मक भएकाले भवन बन्नेमा विद्यालय
परिवार आशावादी छ ।
प्राकृतिक दृष्टिले मनोरम ठाउँमा लस्करै छन् विद्यालय भवन । फराकिलो ठाउँमा बनेका भवन आकर्षक देखिन्छन् । छाना टिलिक्क टल्कन्छन् । टल्कने ती छाना भने चाल्ना जस्ता छन् । पानी पर्दा ठाउँ-ठाउँमा चुहिन्छन्, पढाउनै समस्या हुने गरी । पानी पर्दा नचुहिने ठाउँ खोज्दै डेस्क, बेन्च सार्नुपर्छ । 'यो भवनै रिप्लेस गर्नुपर्ने भएको छ,' बमबारीले छियाछिया भएको भवन अगाडि उभिएर बाघभैरव उच्चमाविका प्राचार्य शिवप्रसाद न्यौपानेले कान्तिपुरसँग भने, 'तर अर्को बनाउन आर्थिक स्रोत जुटेको छैन ।'
६ वर्ष भयो विद्यालयमा यस्तो समस्या भएको । २०६२ चैतमा माओवादी कार्यक्रमलाई लक्षित गरेर नेपाली सेना (तत्कालीन शाही सेना) ले हवाई आक्रमण गर्यो । विद्यालयको छात्रावास प्रांगणमा माओवादीले सभा आयोजना गरेको थियो । त्यसमा माओवादी नेता अग्नि सापकोटा (अहिलेका सञ्चारमन्त्री), वर्षमान पुन लगायतका नेता सहभागी हुने कार्यक्रम थियो । कार्यक्रम सुरु नहुँदै सेनाले हवाई १२० एमएम मोर्टारको तोराबोरा बम खसाल्न सुरु गर्यो (जुन परीक्षणका रूपमा पहिलोपल्ट सुरु गरिएको थियो) । माओवादी जनयुद्ध सुरु भएपछिको यो पहिलो हवाई हमला थियो र अन्तिम पनि यही भयो । त्यसको १० दिनपछि जनआन्दोलन सुरु भयो । १९ दिनपछि आन्दोलन सकियो । माओवादी पनि शान्ति प्रक्रियामा आयो ।
एउटा बम विद्यालय भवनमै खस्यो । एउटा भवन ध्वस्तै भयो । त्यसको छर्राले बाँकी ३ वटा भवन छियाछिया भए । आर्थिक अभावले सबै छाना फेर्न सम्भव भएन । स्थानीय गैरसरकारी संस्था टुकी संघ, जिल्ला विकास समिति लगायतले मर्मत गर्न केही सहयोग गरे । विद्यालयले बढी क्षति भएका केही भवनको पूरै पाता फेर्यो । बाँकीमा पुटिन लगाएर टाल्ने काम भयो । 'जति टाल्दा पनि भएन, शिक्षक सूर्यप्रसाद न्यौपानेले भने, 'फेरि पनि चुहिन्छ ।'
आक्रमणमा विद्यालयको कम्प्युटर ल्याब पनि ध्वस्त भयो । त्यसयता विद्यालयले यो कक्षा चलाउन सकेको छैन । विद्यार्थीले बारम्बार कक्षा चलाउन माग गरिरहेका छन् । विद्यालयले ५ वटा कम्प्युटर जम्मा गरिसकेको छ तर ल्याब नहुँदा चलाउन समस्या भएको न्यौपानेले बताए । 'कम्प्युटर शिक्षा दिन सकिएन, न्यौपानेले भने, 'केही समयमै चलाउने कोसिस गरिरहेका छौं ।' विद्यार्थीलाई बाहेक गाउँलेलाई समेत कम्प्युटरको ज्ञान दिन इन्स्िटच्युट चलाउने विद्यालयको योजना पूरा भएको छैन । १ हजार रुपैयाँमै आधारभूत तालिम दिने योजना विद्यालयको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले क्षतिपूर्ति स्वरूप १४ लाख रुपैयाँ दिएको छ । त्यो रकमले पक्की चार कोठा मात्र बनाउन पुग्यो । सरकारले दिएको रकममा विद्यालयको स्रोतबाट थपेर तीन तले भवन निर्माण भइरहेको छ । त्यति बनाउन २५ लाख रुपैयाँ खर्च भइसकेको छ । पूरै सक्न ३० लाख लाग्ने अनुमान छ । उक्त भवनका बनिसकेका कोठा विद्यालय र ठोकर्पा सामुदायिक बहुमुखी क्याम्पसको प्रशासनिक कामका लागि प्रयोग गरिएको छ । भवन सक्न रकम जुटाउन विद्यालयले विभिन्न निकायमा धाइरहे पनि माग पूरा नभएको न्यौपानेले बताए ।
काम नलाग्ने अवस्थामा पुगेको भवन भत्काएर नयाँ बनाउन विद्यालयले भारतीय दूतावासमा सहयोगको आग्रह गरेको छ । दूतावास सहयोग गर्न सकारात्मक देखिएको छ । 'हामी आशावादी छौं,' न्यौपानेले भने ।
विद्यालय जिल्लाकै पुरानो र गुणस्तरीय शिक्षा दिनेमध्येमा पर्छ । अहिले सबै शिक्षक स्थानीय छन् । स्थानीय भएकैले स्तरीय शिक्षा दिन विद्यालय सफल भएको प्राचार्य न्यौपानेले बताए । विद्यालयबाट विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तीर्ण गर्ने विद्यार्थीको संख्या बढ्दै गएको छ । गाउँकै स्कुलमा पढेका कैयौं विद्यार्थी निजी विद्यालयमा पढेकासँग प्रतिस्पर्धा गर्न सक्ने भएका छन् । थुप्रै विद्यार्थी प्रशासक, वकिल, पत्रकार, इन्जिनियर भइसकेका छन् भने केही विद्यार्थी विद्यावारिधिको तयारीसमेत गर्दैछन् । 'पचासको दशकतिर शिक्षक खोज्न बाहिर जानुपथ्र्याे । त्यतिबेला विद्यालयको शैक्षिक स्तर निकै खस्केको थियो । हामी संकटमा थियौं,' न्यौपानेले भने, 'अहिले सबै गाउँकै छन् । उनीहरूको मिहिनेतले विद्यालयको शैक्षिकस्तरमा फड्को मारेको छ ।' २०१७ सालमा खुलेको यो विद्यालयमा उच्चमावि सञ्चालित छ भने विद्यालयकै अग्रसरतामा ठोकर्पा सामुदायिक बहुमुखी क्याम्पससमेत सञ्चालित
छ । मावि, उच्चमावि र क्याम्पसमा समेत गरी करिब ९ सय विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले समेत विद्यालयको भवन प्रयोग गरिरहेको छ ।
यस्तो थियो त्यो दिन
२०६२ चैत १४ गते सोमबार । बाघभैरव उच्चमावि छात्रावास प्रांगणमा माओवादी केन्द्रीय योजना अनुसारको सभा हुँदै थियो । विशेष केन्द्रीय कमान्ड सम्हालिरहेका डेपुटी कमान्डर वर्षमान पुन (अनन्त) पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखिंदै थिए । प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ११ बजेतिर बसबाट ओर्लेर अनन्त र अग्निप्रसाद सापकोटा खाना खान छात्रावासमुनि झरे । ११ बजे कार्यक्रम सुरु हुने भनिए पनि मञ्चसमेत बनिसकेको थिएन । माओवादी कमान्डर गोविन्द बटाला लगायत मञ्च बनाउन व्यस्त थिए । कार्यक्रम स्थलमा सर्वसाधारण जम्मा हुँदै थिए । ठाउँ-ठाउँबाट माओवादी लडाकु पनि आउँदै थिए । त्यही बेला आकाशमा सेनाको जासुसी विमान घुम्न थाल्यो । त्यसको केही बेरमै चारवटा चिता हेलिकोप्टर कार्यक्रम स्थल वरपर घुम्न थालेपछि त्यहाँ भागाभाग सुरु भयो । सबै कतै न कतै लुक्न थाले । कोही घरको गाह्रोमा, कोही झाडीमा त कोही खाल्डोमा पस्न थाले । हेलिकप्टरबाट बम वर्षा हुन थाल्यो । माओवादी सेक्सन कमान्डर उज्ज्वलसहित ४ जना माओवादीको मृत्यु भयो । ठाउँ-ठाउँमा आगो बल्दै थियो । माओवादी लडाकु तथा समर्थकहरूको भागदौड हुन थाल्यो । भाग्दै गएर छात्रावासभन्दा झन्डै डेढ किलोमिटर पर मिर्रेडाँडास्थित बमबहादुर खत्रीको घरमा लडाकु लुक्न खोज्दै थिए । सेनाले त्यहीं बम खसाल्यो । घरछेउमै जोतिरहेका ६३ वर्षीय खत्री त्यहीं ढले । उनका चार बाख्रा पनि निसानामा परे । सेनाले जथाभावी १२० मिमि मोर्टारको तोराबोरा बम वर्षा गरिरह्यो । कार्यक्रम स्थलभन्दा करिब ५ सय मिटर टाढाको विद्यालयमा पनि बम खस्यो । स्कुल बन्द भएकाले मानवीय क्षतिचाहिँ भएन । २९ वटा बम खसेकामा २४ वटा विद्यालय हातामै झरे । त्यसबाट एउटा भवन ध्वस्तै भयो । बाँकी तीनवटामा पनि छर्रा लागेर जतासुकै प्वालै प्वाल परे, जुन जति टाल्दा पनि पुरिएका छैनन् । छँदाखाँदाको भवनमा क्षति पुर्याइदिएपछि पूरै सरकारले बनाइदिनुपर्ने हो तर त्यसो भएको छैन । बमबाट झन्डै २० कोठामा क्षति पुर्याइयो, सहयोग भने चार कोठालाई पनि बल्लतल्त पुगेको छ । ल्याब ध्वस्त हुँदा आधारभूत आवश्यकता जस्तै बन्दै गएको कम्प्युटर शिक्षाबाट विद्यार्थी वञ्चित छन् । विद्यालय परिवारलाई कसरी भवन बनाउने भन्ने चिन्ता छ । सशस्त्र द्वन्द्व सकिए पनि त्यसको घाउ पुरिएको छैन । घाउ निको पार्ने पहिलो दायित्व राज्यकै हो ।
स्रोतः ekatntipur.com