जितेन्द्र श्रेष्ठ 'रसिक', सिन्धुपाल्चोक
कमजोर अर्थिक अवस्थासँग पैठेजोरी खेल्दै काठमाडौंको ठेकेदारी कामबाट
सुस्ताउन घर पुगेका सिन्धुपाल्चोक स्याउले-२ खाल्डेका धनबहादुर भारती घर
पुगेको भोलिपल्टै आकास गजधुम्म भयो ।
प्रकृति पनि यति निर्दय बनिदियो कि महिनौंपछि आफ्नी अर्धाङ्गिनी उमा र घर परिवारसँग सुस्ताउन पुगेका भारतीको पारिवारिक जीवनदेखि सायद दैवलाई पनि इष्र्या लाग्यो । क्षणभरमै बादल मडारिएर आकास जलेजस्तै गरी बिजुली चम्कियो र चट्याङ पर् यो । चट्याङले उनकी जीवनसङ्गिनी उमा भारतीलाई आँखै अगाडि चुँडेर लग्यो ।
आफ्नै अगाडि श्रीमतीको मृत्यु सहन नसकी बेहोस बनेका उनले होस खुलेपछि श्रीमतीसँगै सती जाने निर्णय गरे । त्यहाँका छर छिमेक र समाजले उनलाई जोगाए । तर त्यो धेरै दिन टिक्न सकेन अन्ततः उनले श्रीमतीको मृत्यु भएको दिन पारी १३ गते मंगलबार कोही नभएको मौका छोपी आफ्नै घरको भर् याङमा पासो लगाई झुण्डिएर आत्महत्या गरे ।
उमाको मृत्युसँगै उनको आत्महत्याले उनका तीन छोरी र एक छोराको भविष्य अन्योलमा परेको छ ।
ुआमाले बोक्ने मोबाइल बहिनीलाई र मैले बोकेको तिमीलाई भो । सुनका गहना ट्याङ्कामै छन्ु भन्दै ट्याङ्काको साँचो हातमा थमाइदिँदा हामी कम्ती रोएनौं तर बुबा त निर्दयी पो बन्नुभयो । उनका १५ वर्षीय छोरा राजकुमारले रुँदै भने । उनको काँधमा अब क्रमशः १३ ११ र नौ वर्षीया बहिनीको हेरचाह र पढाइको जिम्मेवारी थपिएको छ । भारती दम्पतिको मृत्युपश्चात यी चार बालबालिका माउबिनाका चल्लाजस्तै बन्न पुगेका छन् । बाबुआमाले त घात गरिहाले अब ती बालबालिकाले कसरी जीवीकोपार्जन गर्ने र गराउने भन्ने चिन्ता रहेको उनकी फुपू रमा गिरीले बताइन् ।
आफ्ना जेठू दम्पतीको यो घटनापछि टुहुरा बालबालिकाप्रति कुन्चोक गाविसका राजकुमार गिरी पनि चिन्तित छन् । नेपाल प्रहरीमा कार्यरत उनी भारतीका बालबालिकालाई कम्तीमा शिक्षासम्म प्रदान गर्ने दातृको खॊजीमा छन् । भन्छन् ' चारै जना ती टुहुरा बच्चा स्कुलमा पढ्छन् छोरा स्याउले गाविसकै श्री सेतीदेवी माविमा कक्षा ७ मा र छोरीहरु कातर्चेको मंगलाभैरव प्राविमा क्रमशः ५ २ र १ कक्षामा मा पढ्छन् । ' श्रीमतीकै वियोगमा आफ्नो देह त्याग गरेको जिल्लामै यो पहिलो घटना भएको स्थानीयवासी बताउँछन् ।
श्रीमतीको निधन हुनासाथ अर्को बिहेको बारेमा सोच्ने हाम्रो समाज र पुरुषहरुका लागि त त्यो घटनाले एउटा तरंग पैदा गरेको छ । आजको दुनियाँ अविश्वासको खाडलभित्र जाग्दै गइरहेको यस्तो परिवेशमा पनि श्रीमतीप्रति आफूलाई पूर्ण समर्पित गर्ने पुरुषको अभाव खड्किइरहँदा भारतीले श्रीमतीकै लागि प्राण त्याग गरेर एउटा दाम्पत्य जीवनप्रति समर्पणको उदाहरण त दिए तर उनको अन्त्यले उनको सिङ्गो परिवारलाई घर न घाटको बनाएको छ । गाउँबाट छिमेकी बसाइँ सरेर राजधानी बस्न थालेपछि सो गाउँमा आधा दर्जन घरका बस्ती मात्र बाँकी भएको गाउँकै भुपेन्द्र भारतीले बताए ।
जिल्लामा पछिल्लो समय आत्महत्या गर्ने महिला र पुरुषको सङ्ख्यामा वृद्वि हुँदै गएको छ । ०६७ सालमा मात्रै एक दर्जनभन्दा बढी महिला र पुरुषले आत्महत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा छ । अधिकांशले आत्महत्या गर्नुको कारण घरायसी तनाव र कमजोर आर्थिक अवस्था भएको स्थानीय पत्रपत्रिका र साचारमाध्यमले महत्वका साथ प्रकाशन प्रशारण गर्दै आएका छन् । जिल्लामा आत्महत्याको मूल जड नै गरिबी र घरायसी तनाव हुने गरेको स्थानीय सिन्धु सन्देश साप्ताहिकका सम्पादक सुरेश कसजू बताउँछन् ।