Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

महिला बेच्ने दलालहरु धमाधम पक्राउ पर्दै

2011-03-09 07:41:41 | ध्रुव दंगाल

ध्रुव दङ्गाल, चौतारा, फागुन २५- नेपाली महिला भारतमा लगेर बेचेको आरोपमा नेपाल प्रहरीले सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका शिखरपुर–९ का बजिरसिंह तामाङ उर्फ 'प्रेम' मङ्सिर १४ गते राजधानीमा पक्राउ परे। पीडितको सहायतामा पक्राउ परेका उनीविरुद्ध सिन्धुपाल्चोक प्रहरीमा बेचविखनका चार वटा मुद्दा रहेको अनुसन्धानबाट पत्ता लाग्यो।

त्यतिमात्र होइन, पीडितका जाहेरी पल्टाउँदै जाँदा उनले एकै पटक पाँच दलित किशोरी बेचेको समेत प्रहरीले खुलासा गर्‍यो।

पटक–पटक बेचविखन कार्यमा संलग्न पाइएपछि फौजदारी अभियोग लगाइएका बजिरसिंह यतिबेला जिल्ला कारागारमा पुपर्क्षमा थुनामा छन्। पटके बेचविखनमा संलग्न रहेको भन्दै नैतिक पतन देखाएको आधारमा उनलाई यो अभियोग लगाइएको हो।  जिल्ला सरकारी वकिल (न्यायाधिवक्ता) को कार्यालयका अनुसार मानव बेचविखन तथा अपराध ऐनको दफा २२ मा यस्तो अभियोग लगाउन सकिने व्यवस्था छ।

गत महिना मात्र जिल्लामा बाबुले आफ्नै छोरी बेचेको घटना सार्वजनिक भयो। तीन वर्ष भारतको बेश्यालयमा नारकीय जीवन बिताएर भाग्दै गाउँ फर्कन सफल दुवाचौर–६ की ती युवतीको किटानी जाहेरीका आधारमा उनका ६२ वर्षीय बाबु लोकबहादुर घले पक्राउ परे। ८० हजार रुपियाँमा १५ वर्षीया किशोरी छोरी बेचेको स्वीकारेका उनलाई जिल्ला अदालतले फागुन ९ गते पुर्पक्षमा थुनामा राख्‍ने आदेश दियो।

यी दुई घटना त उदाहरणमात्र हुन्। पछिल्लो समय चेली बेचविखनमा संलग्न दलालहरु धमाधम कानुनी फन्दामा पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालयको रेकर्डअनुसार पछिल्ला तीन वर्षमा १८ जना दलाल कानुनी घेरा परिसकेका छन्। उनीहरु जिल्ला कारागारमा छन्। एकै दलाल चार वटासम्म घटनामा मुछिएकाले बेचविखन अभियोगमा कारागामा रहने व्यक्ति सङ्ख्या भने ११ जना हुन आउँछ।

बेचिएका चेली र उनीहरुका आफन्तको प्रयास, प्रहरी सक्रियता र बेचविखन विरुद्धको क्षेत्रमा क्रियाशील सामाजिक सङ्घ-संस्थाको सहयोगमा 'डन' हरु पक्राउ पर्न थालेका हुन्। थुनामा रहेका बजिरसिंह डनहरुमध्ये प्रहरी 'मोष्टवाण्टेड' सूचीमा रहेका सबैभन्दा चर्चित दलाल हुन्। अनुसन्धान अधिकृत प्रहरी निरीक्षक एकनारायण कोइरालाले नागरिकसँग भने- बेचिएकाबाटै उजुरी पर्न थालेपछि दलालहरु पक्राउ पर्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालयमा ०६५ यता बेचविखनका १० मुद्दा दर्ता भएका छन्। पीडितका उजुरीमा १४ किशोरी पीडित बनाइएको उल्लेख छ।  कोइरालाका अनुसार नौ मुद्दा अदालतमा विचाराधीन छन् भने दलाल पक्राउ नपरेकाले एक मुद्दा प्रहरी अनुसन्धानमै छ। ती मुद्दाका ४८ प्रतिवादीमध्ये १८ पक्राउ परे पनि अझै ३० जना फरार छन्। 'पक्राउपछि कानुनी दायरमा आइसकेका अधिकांश मुख्य अभियुक्त छन्। मतियारमात्र फरार छन्'- उनले दाबी गरे। रोजगारी प्रलोभनमा अधिकांश चेली बेचिएको पाइएको प्रहरीले जनाएको छ।

केही घटनामा परिवारकै संलग्नतासमेत भेटिएको प्रहरी निरीक्षक कोइरालाले बताए। 'पैसा पठाउञ्जेल चूप लागेर बस्ने र कमाइ पाउन छाडेपछि अभिभावक प्रहरीकोमा आउने प्रवृत्ति देखियो'- उनले भने। प्रहरीका अनुसार बजिरसिंह जत्तिकै मोष्टवाण्टेड सूचीका दुई डनको तीव्र खोजी भइरहेको छ। तामाङ थरका यीमध्येका एक बजिरसिंहकै सहयोगी हुन भने अर्का चेली बेच्ने छुट्टै समूहका नाइके हुन्। भारतको सहीद नगर बसेर बेश्यालय सञ्चालक र दलालबीच नेपाली चेली झिकाउने सूत्राधारको काम गर्दै आएका उनकी श्रीमती काइँली पनि फरार छिन्। प्रहरीको भनाइमा बजिर पक्राउ पर्नु सबैभन्दा ठूलो सफलता हो।

अधिकांश समय भारतमै बस्ने बजिर कहिलेकाहीँ नेपाल आउँदा कालो पजरो लिएर गाउँ आइपुग्थे। यसै क्रममा उनी पक्राउ परेका थिए। प्रहरी अनुसन्धानअनुसार उनको आफ्नै सञ्जाल छ। धेरै सहयोगी गाउँकै छन्। प्रहरी रेकर्डअनुसार उनको सञ्जालमा ज्यामिरे–८ का काइँला विक, उनकी श्रीमती काइँली विक, नवलपुरका बच्चु विक, श्रीमती सीता विक, नवलपुरकै दावा तामाङ, श्रीमती माइली तामाङ, सुकुमान दोङ आबद्ध रहेको खुलिसकेको छ। सुकुमान गत वर्ष पक्राउ परिसकेका छन् भने अरु फरार छन्।

दुई–तीन वर्षअघि परेका बेचविखन घटना अहिले सार्वजनिक हुन थालेका हुन्। कोइरालाले थपे- यस क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ-संस्थाको काउन्सिलिङले पनि निकै काम गरेको छ।' सिर्जनशील ग्रामीण महिला परिवार, माइती नेपाल, शक्ति समूह, महिला आत्मनिर्भरता केन्द्र जिल्लामा बेचविखनविरुद्धको अभियानमा क्रियाशील छन्। यी संस्थाले बेचविखन प्रभावित महिलाको कानुनी उपचार खोज्ने र परिवारमा पुनःस्थापित गर्ने कामसमेत गर्दै आएका छन्। बेखविखनविरुद्धको अभियानकी अगुवा तथा महिला अधिकारकर्मी नानीमैंया थापाले भारतको यौन व्यवसायबाट फर्केका नौ महिलालाई चौतारास्थित पुनःस्थापना केन्द्रमा संरक्षण दिएको बताइन्।

भारतको नयाँ दिल्ली, सहीद नगर र आग्रा सहर जिल्लाका चेली बेचिने मुख्य बजार केन्द्र रहेकोसमेत प्रहरीले पत्ता लगाएको छ। यौन व्यापारबाट फर्केने अधिकांश चेलीले यी सहरको नाम लिने गरेका छन्। 'शिक्षाबाट टाढा रहेको समूह बढी बेचविखनमा पर्ने गरेको छ', बेचविखन प्रभावित मेलम्ची क्षेत्रमा काम गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेणी सिलवालले भने- गाउँमा देखासिकीको आधारमा त्यहाँबाट मिल्ने शारीरिक सन्तुष्टि र कमाइले पनि आकर्षित गरेको पाइन्छ।
- Nagariknews.com


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box