Air Ticketing in Nepal Contact to Merosindhu.com

प्रवासी समाचार

अस्ट्रेलियाली उच्च सम्मान नेपालीलाई

2011-02-08 23:49:51 | मेरो सिन्धु

ऋषि आचार्य, सिड्नी, माघ २६
अस्ट्रेलिया सरकारले सुश्री ईन्द्र वनलाई 'अर्डर अफ अस्ट्रेलिया' पदवीले सम्मान गरेको छ। नेपाली समुदायको सेवामा सक्रिय रहेको भन्दै वनलाई पदवि दिने घोषणा अस्ट्रेलिया दिवस जनवरी २६ मा गरिएको हो। ३५ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी वन यो तहको पदवि पाउने पहिलो नेपाली हुन्। गैरसैनिक क्षेत्रका नागरिकलाई प्रदान गरिने पाँचौं सर्वोच्च पदवि अस्ट्रेलियाकी महारानी एलिजावेथ द्वितीयाले ३५ वर्षअघि स्थापना गरेकी हुन्।

पदवि पाउने घोषणापछि वनले यो अस्ट्रेलियामा रहेका सबै नेपालीको सम्मान भएको बताइन्। उनले भनिन्, 'यहाँ नेपालीको उपस्थिति र योगदानलाई सरकारले कदर गरेको छ।' यो सम्मानले नयाँ पिँढीलाई सामाजिक सेवामा प्रोत्साहन गरेको उनले बताइन्।

अस्ट्रेलियामा रहेका राजदूत योगेन्द्र ढकालले  यो सम्मान सबै नेपालीको गौरव भएको बताए। नेपाली समुदाय सानो र नयाँ भए पनि छोटो समयमा उल्लेख्य भूमिका खेलेको सम्मानले पुष्टि गरेको ढकालले बताए। पदवि आउँदो अप्रिल वा मेमा गभर्नर जनरलको क्यानबरास्थित निवासमा हस्तान्तरण गरिँदैछ।

झापामा जन्मिएकी वन सन् १९७६ मा न्यु साउथ वेल्स विश्वविद्यालयमा पढ्दै गर्दा उनी, गोविन्द साह, अमृत तण्डुकार, आनन्द श्रेष्ठ, अक्कलबहादुर सिंहलगायतको टोलीले नेपाली विद्यार्थी एसोसिएसन बनायो। पछि यसैलाई नेपाल अस्ट्रेलिया एसोसिएसन बनाइयो।

यो संस्थाले दूतावास स्थापनाअघिसम्म नेपालीबीच समन्वयकर्ताको भूमिका खेलेको थियो। तिलगंगा अस्पताल स्थापना गर्नसमेत वनले भूमिका खेलेकी थिइन्। आपतविपतमा 'सबैकी प्रिय दिदी' वन सबैथोक छाडेर सहयोगमा लाग्ने यहाँका नेपाली समुदायको अनुभव छ।  

विश्वका ५५ भन्दा बढी देशमा सञ्जाल रहेको एनआरएनको अस्ट्रेलिया शाखा गठन गर्नसमेत वनले भूमिका खेलेकी थिइन्।
स्रोतः नागरिक न्यूज


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box