Air Ticketing in Nepal Contact to Merosindhu.com

नेपाली भान्छाको प्रिय तरकारी गुन्द्रुक ।

- राजन न्यौपाने गुन्द्रुक नेपाली भान्छाको सर्वप्रिय तरकारी हो । हतारको बेला होस् या तरकारी अभावको बेला जो कोही पनि गुन्द्रुक पकाउनुको विकल्प अरु सितसमिती रोज्दैनन् । गुन्द्रुकको स्वादको बारेमा अनभिज्ञ कोही नहोला चाहे त्यो शहरको बासिन्दा होस् या गाँउको । नेपाली भएर जन्मने बित्तिकै उसँगै आउँछ गुन्द्रुकको स्वाद । कार्तिक देखि पुसको अन्त्यसम्म नेपालमा मौसमी तरकारीको रुपमा हरिया सागपातको उत्पादन धेरै नै हुने गर्दछ । घर वरिपरीको करेसाबारी देखि खेतबारीमा समेत हरिया सागपातको उत्पादन हुन्छ । तेलहनका लागि लगाइने तोरी बाक्लै छर्ने र सागलाई बेडाएर गुन्द्रुक हाल्ने चलन पनि प्रशस्त छ । रायो, मूला, काउली, तोरीजस्ता तरकारी खाने हरियो सागपातबाट गुन्द्रुक बनाइन्छ ।

लोप हुँदै छ पानी घट्ट

कुलोभरी कलकल गर्दै बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्न थाल्छ तब शुरु हुन्छ नेपाली जीवनशैलीमा आदिम कालदेखि स्थान पाएको घट्टको पिसानी कार्य। फनन घुमिरहेको घट्ट माथी ट्वाङ ट्वाङ गर्दै उफ्रिने कलात्मक चराको उफ्राईको बलले बाँसबाट बुनिएको सोलीमा राखिएको अन्न क्रमशः खस्दै जान्छ । बेस्सरी घुमिरहेको घट्टको बीचमा रहेको प्वालबाट पसेको अन्न मिहिन भएर घट्टको वरीपरी घेरो लाग्न थाल्दछ । खोलाको छेउमा हुने घट्ट प्रायजसो बस्तीहरु भन्दा टाढा हुने गर्दछ । पानीको प्रवाहको बलले पिध्नुपर्ने अन्न आधुनिक फ्लोर मिलले झै छिटो पिस्न सक्दैन । त्यसैले घट्टमा पालो पर्खन कठिन हुन्छ । गाँउघरमा हुने कामको चटारोले दिनमा फूर्सद नहुने हुँदा प्रायः मानिसहरु रात बस्ने गरी घट्ट जाने गर्दछन् । घटेरोसँग मिलेर ढिंडो पकायो वा आगोको भुंग्रामा भुङ्ग्रे रोटी हाल्यो खायो । घट्टमा हुने खानपिन प्राय यस्तै हुन्छ । घट्टमा थोरै अन्न पिध्न पनि धेरै समय लाग्ने हुँदा युवाहरु साथीभाई मिलेर रातभरी भए तास नभए बाघचाल जस्ता खेल खेलेर रात काट्ने र बिहान पिठोको भारी बोकेर घर फर्कने गर्छन् ।

घाँसको भारी बोक्दै फोनमा कुरा।

- राजन न्यौपाने घाँसको गहुङ्गो भारी हतार हतार बिसाउर्दै डाँडा घरकी कान्छीले हेलो हेलो भनेको सुन्दा धेरै पछि दशैमा घर गएको मलाई अचम्म लागेर आयो । घाँसको भारी बोक्दै फोनमा कुरा गरेको देख्दा त झन भित्रै देखीबाट खुशी लाग्यो । नेपालको ग्रामिण जीवनमा सूचना प्रविधिको समिश्रण के र, अचम्मै छ । रित्तो बाल्टिन हातमा लिएर कराउदै आएका हर्के काकालाई के भएछ भनेर मलाई पनि चासो बढेर आयो । बुझ्दा त सुरुवालमा लागेको हिलो देखाउदै काकाले भने, भैसी दुधै थिए, मोबाइलमा फोन आयो । फोनको घण्टी बजेर भैसी तर्सियो अनि त बाल्टीनसँगै भकारोमा मेरो यो गति भयो ए बाबु ।

सिन्धुपाल्चोकलाई थप दुई करोड अनुदान

सिन्धुपाल्चोक, ८ भदौ । स्थानीय निकायलाई पारदर्शी र जिम्मेवार बनाउन लागू गरिएको न्यूनतम सर्त तथा कार्यसम्पादन मापन (एमसिपिएम) उत्तीर्ण गरेर सिन्धुपाल्चोक जिविसले थप २५ प्रतिशत विकास अनुदान हात पारेको छ । आर्थिक वर्ष ०६५/६६ मा सरकारले उपलब्ध गराएको बजेट कार्यान्वयन गर्दा एमसिपिएमले तोकेका चार कार्यक्षेत्रअन्तर्गत १५ न्यूनतम सर्त र ५७ कार्यसम्पादन मापनका सूचक पूरा गरी जिविसले थप अनुदान पाएको हो । साविक अनुदानमा २५ प्रतिशत वृद्धि गर्दा एक करोड ९६ लाख रुपैयाँ विकास बजेट थप भएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद अर्यालले बताए । स्थानीय विकास मन्त्रालयले आव ०६४/६५ देखि ७५ जिल्लामा स्थानीय निकायको न्यूनतम सर्त तथा कार्यसम्पादन मापन कार्यविधि (२०६४) लागू गरी दण्ड र पुरस्कारको व्यवस्था गरेको हो । थप अनुदान भेट्टाउने क्रममा सिन्धुपाल्चोक जिविसले ६७ अंक ल्याएको थियो । थप अनुदान वितरणमा कार्यविधिले यो अंकलाई दोस्रो 'र्‍यांक'मा राखेको छ । आव ०६४/६५ मा जिविसले ६० अंक हासिल गरी २० प्रतिशत अर्थात् एक करोड ८१ लाख रुपैयाँ थप विकास बजेट पाएको थियो ।

अप्टिकल फाइबर बिछ्याउने काम धमाधम ।

राजन न्यौपाने सुकुटे । बढ्दो सुचना प्रविधिलाई आत्मसाथ गर्न र नेपाललाई सुचना प्रविधिको विकाससँगै विश्वसामु स्थापित गर्न चिनियाँ सहयोगमा काठमाडौँ तातोपानी खासाखण्डमा टेलिकमको अप्टिकल फाइबर बिछ्याउने काम सुरु भएको छ । एक एक किलोमिटरको फरकमा छुट्टा छुट्टै समुहले पाइपलाईन खन्ने र पाईप पुर्ने काम तीब्र गतिमा भईरहेको छ । सडक छेउमा निला, हरिया पाल टाँगेरै च‍ैत्रको बढ्दो गर्मीमा पसिना बगाउँदै काम गर्ने कामदारलाई यतिबेला चुनाबी चटारोमा दौडिएका नेता कार्यकर्तालाई भन्दा बढी हतार भएको भान हुन्छ ।